सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा “विवादको साटो, मेलमिलापको बाटो” भन्ने मूल नारासहित सञ्चालन गरिएको मेलमिलापसम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोगमा संवाद सहजीकरण तथा मेलमिलापका लागि सक्रिय संस्था शेयर सेन्टर, सुर्खेतको संयोजनमा वैशाख ४ गतेदेखि सुरु भएको तालिम बिहीबार औपचारिक रूपमा समापन गरिएको हो।
८ दिनसम्म सञ्चालन भएको उक्त तालिममा गाउँपालिकाका सातवटै वडाबाट सहभागी भएका मेलमिलापकर्ता, न्यायिक समितिका सदस्य तथा न्यायिक शाखामा कार्यरत कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
तालिम समापन समारोहमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले समुदायमा शान्ति, सद्भाव र सहजीकरण प्रवर्द्धन गर्न मेलमिलापकर्ताहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुने धारणा व्यक्त गरे । उनले तालिममार्फत प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सकेमा समुदायमा सशक्त र दीगो असर पार्ने विश्वास समेत व्यक्त गरे ।
तालिममा मेलमिलापको सैद्धान्तिक पक्षसँगै संवाद कला, निष्पक्ष भूमिका निर्वाह गर्ने तरिका, कानुनी प्रक्रिया, र सानातिना विवादहरूको मैत्रीपूर्ण समाधानका व्यवहारिक सीपहरूमा गहिरो प्रशिक्षण प्रदान गरिएको थियो । तालिम प्रशिक्षकका रूपमा अर्जुन प्रसाद घिमिरे र सन्तोष प्रसाद खनालले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । गाउँसभा सदस्य खड्गनाथ योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीतर्फबाट बोल्दै बिरेन्द्र नेपाली र सरिता खड्काले समुदायमा उत्पन्न विवादहरूको सहजीकरण र मेलमिलापमार्फत समाधान गर्न आफूहरू सक्षम र प्रेरित भएको बताएका थिए । साथै, मेलमिलाप केन्द्र स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधार व्यवस्थापनमा गाउँपालिकाको सहयोगको अपेक्षा समेत व्यक्त गरेका थिए।