सुर्खेत । साना किसानहरूको आर्थिक समृद्धि र कृषिको रूपान्तरणलाई लक्षित गर्दै साना किसान कृषि सहकारी संस्थाहरूको संस्था सुदृढीकरण तथा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट समिक्षा कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सुर्खेतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा शाखा प्रबन्धक द्रोणराज घिमिरेको अध्यक्षता रहेको थियो । कार्यक्रममा सुर्खेतसहित जाजरकोट र सल्यान जिल्लाका ४० वटा विभिन्न साना किसान कृषि सहकारी संस्थाहरूका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भमा प्रभात चौधरीले स्वागत मन्तव्य राख्दै साना किसानको जीवनस्तर उकास्न सहकारीको भूमिका, कृषिमा नवप्रवर्तनको आवश्यकता र संस्थागत सुदृढीकरणको महत्वमाथि प्रकाश पारे । उनले सहकारीहरू मार्फत सामूहिक प्रयासबाट दिगो कृषि प्रणाली निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कृषिमा विविधता, व्यवसायिक उत्पादन प्रणाली, स्थानीय स्रोत साधनको अधिकतम उपयोग, सहकारीहरू बीचको समन्वय, तथा साना किसानसँगको सहकार्यका विविध आयामहरूबारे गहिरो छलफल भएको थियो ।
कार्यक्रमको सञ्चालन हर्कराजा थापाले गरेका थिए । सहभागीहरूले सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि, पारदर्शिता, सुशासन, र प्रभावकारी बजेट कार्यान्वयनका उपायहरूमा समेत छलफल गरेका थिए ।
आयोजक संस्थाका अनुसार कृषि क्षेत्रमा दिगो विकास र समृद्धि सुनिश्चित गर्न आगामी वर्षहरूमा पनि यस्ता समिक्षा तथा सुदृढीकरण केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।