सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुलामा किसानहरूले लगाएको आलुमा पुतली कीराको प्रकोप देखिएको छ।
६८ घरपरिवारले करिब साढे १७ हेक्टर (झण्डै ३४० रोपनी) क्षेत्रफलमा लगाइएको आलु खेतीमा टुवर मोथ नामक पुतली कीराको आक्रमण देखिएपछि किसानहरू समस्यामा परेका छन्।
एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायाका अनुसार भण्डारणका क्रममा देखिने पुतली कीरा अहिले खेतमै देखिन थालेको हो । आलु बीउमा रहेको लार्भा अवस्था वयस्क पुतलीमा परिणत भई आलु बोटको पातमा अण्डा फुलाएर संक्रमण फैलाएको पाइएको छ ।
प्रकोपको मुख्य कारण किसानहरूले प्रयोग गरेको क्षतिग्रस्त बीउ भएको रोकायाले जानकारी दिए । उनका अनुसार वयस्क पुतलीले बालीको पातमा अण्डा राख्ने र त्यसबाट निस्किएको लार्भाले बोटमा गम्भीर क्षति पुर्याउने गरेको छ ।
समस्या गम्भीर देखिएपछि एकीकृत कृषि प्रयोगशालाबाट विज्ञसहितको टोली निगालचुला पुगेर स्थलगत अनुगमन र उपचार सुरु गरेको छ। तत्कालका लागि निम तेल, पि।टी।एम ल्युर, विषादी र स्प्रेयर ट्यांकी निःशुल्क वितरण गरिएको छ ।
ूखेतमै पुतली कीराको प्रकोप देखिनु निकै चिन्ताको विषय हो,' रोकायाले भने, 'यस्तो समस्या दुई–तीन वर्षअघि देखिएको थिएन, अहिलेको जलवायु परिवर्तन यसको प्रमुख कारक बनेको देखिन्छ ।'
पुतली कीरासँगै फेद काट्ने किराको समस्या पनि देखिएको उनले बताए। प्राविधिक टोलीले किसानहरूलाई पुराना र क्षतिग्रस्त बीउ प्रयोग नगर्न, खेतमै संक्रमित बोट हटाउन, उचित जैविक नियन्त्रण उपाय अपनाउन र वैज्ञानिक कृषि पद्धतिमा ध्यान दिन सुझाव दिएको छ ।
निगालचुलाका कृषकहरूले वर्षे आलुलाई प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएका छन् । विशेषज्ञहरूले दीर्घकालीन रूपमा यस्ता समस्या रोक्नका लागि बीउ छनोट, भण्डारण विधिमा सुधार र समुचित कृषि प्रविधिको प्रयोग अनिवार्य भएको बताएका छन् ।