काठमाडौं । सरकारले कोरोना रोकथामका लागि उच्च रणनीति तयार पारेर काम शुरु गर्ने तयारी गरेको छ । यसक्रममा पहिला काठमाडौं उपत्यकाका सार्वजनिक स्थललाई क्वारेन्टाइनमा बदल्ने योजना छ । तत्कालका लागि कम्तीमा ५ हजार व्यक्ति अटाउने सार्वजनिक क्वारेन्टाइन स्थल बनाउन काठमाडौं उपत्यकाभित्रका होटल, होस्टल, विद्यालय र रंगशालालाई प्रयोग गरिनेछ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्काल पाँच हजार जना अटाउन सकिने क्वारेन्टाइनस्थल बनाउने निर्णय गरेको हो । शनिबार बसेको समितिको पहिलो बैठकले होटल, स्कुल र रंगशालालाई उपयोग गर्ने निर्णय गरेको समितिका प्रमुख तथा पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
यसक्रममा पर्यटन विभागलाई होटेल व्यवसायीसँग समन्वय गरी कम्तीमा २ हजार जना अट्ने क्वारेन्टाइनस्थल निर्माणका लागि होटलको स्थानसहितको विवरण तयार गर्न भनिएको छ । यी दुई निकायले व्यवसायीसँगको समन्वयमा होटलको पक्कापक्की गर्ने भएका छन । अहिले कोरोना कारण होटल लगभग बन्द छन भने कर्मचारी पनि बिदामा छन ।
त्यस्तै निजी विद्यालयमा पनि २ हजार जना अट्ने क्वारेन्टाइनस्थल बनाउन निजी विद्यालय र कलेजका प्रतिनिधिमूलक संस्थासँग समन्वय गर्नेछ । यसका लागि प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा क्वारेन्टाइनस्थलका लागि विद्यालय र होस्टलको नाम टिपाउनुपर्नेछ ।
सरकारले देशभरका रगशाला तथा खेलकुदसँग सम्बन्धित होस्टलमा पनि क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल, धरान र सुर्खेतमामा रहेका रंगशालामा क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । यसक्रममा सुर्खेतको रंगशाला तथा खुलामञ्चमा नेपाली सेनाले क्वारेन्टाइनस्थल बनाइसकेको छ ।