काठमाडौँ । दैलेखको दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा मंगलबारदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।
नगरप्रमुख रिजालले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघलाई विद्यार्थी भर्नाको वातावरण बनाउन आग्रह गरेका हुन् ।
यद्यपि, सोमबार दुल्लु नगरपालिका शिक्षा शाखाका प्रमुख, वरिष्ठ शिक्षा अधिकृत विकासजंग शाहीले अर्को विज्ञप्ति जारी गर्दै शिक्षकमहासंघको आह्वानमा शिक्षक तथा कर्मचारीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएपछि विद्यालय सञ्चालन प्रभावित भएको र विद्यार्थी भर्ना जस्ता महत्वपूर्ण कार्यसमेत प्रभावित भएको जानकारी दिएकाछन् ।
शिक्षा अधिकृत शाहीका अनुसार बालबालिकाले नियमित सिकाइ क्रियाकलापमा सहभागी हुने अधिकारलाई मध्यनजर गर्दै, सोसेक नेपालअन्तर्गतको हातेमालो परियोजना दैलेखको आर्थिक सहयोग तथा रिभरेन्ट कम्प्युटर इन्स्टिच्युट, दुल्लुको प्राविधिक सहयोगमा तयार गरिएको अनलाइन विद्यार्थी भर्ना प्रणालीमार्फत अभिभावकहरूले घरबाटै भर्ना प्रक्रिया सम्पन्न गर्न सक्ने व्यवस्था गरिएको छ।
उता, नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौँमा जारी आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सरकार शिक्षा ऐन तुरुन्त ल्याएर मात्र विद्यालय शिक्षामा गुणस्तरीय सुधारको मार्ग खोल्न सक्ने हुँदा आन्दोलन अन्तिम र निर्णायक चरणमा पुगेको हो। महासङ्घले विद्यार्थी भर्ना, प्रवेश परीक्षा, नतिजा प्रकाशन लगायत कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुने अडान लिएको छ।