सुर्खेत । कर्णाली प्रदेशमा पूर्वाधार विकासले अपेक्षित गति लिन नसकेको पृष्ठभूमिमा मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणलाई तीव्र बनाउन सक्रियता बढाएका छन् ।
बजेट कार्यान्वयन कमजोर रहँदा र योजना अधुरा हुँदा विकासमा अवरोध आएको भन्दै मुख्यमन्त्री कँडेलले सरोकारवाला निकायसँग समन्वय र छलफललाई तीव्र पारेका हुन् ।
मुख्यमन्त्री कँडेलले सोमबार निर्माण व्यवसायीसँग छलफल गर्दै प्रदेशका १० वटै जिल्लामा बर्सौंदेखि अलपत्र रहेका योजना तत्काल अघि बढाउन निर्देशन दिए ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाका अनुसार हाल कर्णाली प्रदेशमा ३५ ठूला योजनाहरू अधुरो अवस्थामा छन् । यिनै योजनाहरूमा उत्पन्न भएको जटिलता समाधानका लागि सम्बन्धित कार्यालय प्रमुख, मन्त्री तथा व्यवसायीलाई एउटै थलोमा राखेर विस्तृत छलफल गरिएको हो।
छलफलका क्रममा मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई काममा तीव्रता दिन आग्रह गर्दै, ‘काम गर्न सक्दिन भने ठाउँ खाली गर,’ उनले भने ।
मुख्यमन्त्रीले प्रदेश सरकार व्यवसायीका समस्याप्रति संवेदनशील रहेको तर गैरजिम्मेवार व्यवहार सह्य नहुने चेतावनी दिए । सरकारले अब अधुरा योजना पूरा गर्न ठोस कदम चालेको छ। सम्झौता भएर समेत लामो समयदेखि काम नगरेका निर्माण कम्पनीको विवरण सङ्कलन गरिँदैछ। यस्ता कम्पनीलाई कालो सूचीमा राख्ने, धरौटी जफत गर्ने तथा कारबाही सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको छ।
मुख्यमन्त्री स्वयम् जिल्ला-जिल्लामा पुगेर स्थलगत अनुगमनमा जुटेका छन् । उनले निर्माणको वास्तविक अवस्था बुझेर नीति निर्माणलाई सुदृढ बनाउने प्रयास गरेका छन् । सरकारको यो सक्रियताले अब कर्णाली प्रदेशमा पूर्वाधार विकासले गति लिने अपेक्षा गरिएको छ।