२४ चैत, जाजरकोट । बारेकोट मुल्सामका धनवीर नेपालीकी श्रीमती सुनितालाई सुत्केरी वेथाले च्याप्यो । तर नजिकै स्थास्थ्य संस्था थिएन । पैदल चार घण्टा हिडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा लगियो । अस्पताल पुग्न नपाउँदै उनलाई ब्यथाले मात्रै च्यापेन । सुत्केरी नै गरायो । हिड्दा हिड्दैको बाटोमा उनले छोरीको जन्म दिइन् ।
धनवीरलाई श्रीमती र बच्चाको त्यतिबेलाको पीडा जीवनकै सबैभन्दा कठिन क्षण थियो । “मेरो श्रीमति विच बाटोमा सुत्केरी भईन्, समान्य तरिकाले छोरीलाई जन्म दिइन् । यदि समस्या भएको भए मेरी श्रीमतिको ज्यान जाने थियो’ उनले समस्या सुनाउँदै अगाडि भने, ‘गाउँमा अस्पताल छैन, भएको स्वास्थ्य क्लिनिकमा उपचार हुदैन् । यसैकारण यहाँका धेरै महिलाहरु मृत्युको मुखमा छन् ।’
सोही गाउँकी कविता नेपालीलाई पनि गाउँका दुईचार जना यूवाले स्टेचरमा बोकेर स्वास्थ्य चौकीमा लगे । चार घण्टा हिडेर स्वास्थ्य चौकीमा पुगे । एक रातभरी अस्पतालको बसाईपछि छोराको जन्म दिईन । भोलीपल्ट फेरी स्टेचरमा बोकेर गाउँमा यूवाले पु¥याए । सुनिता र कविता एक उदाहरण पात्र मात्र हुन् । बारेकोट गाउँमा रहेका १ सय १९ घरधुरीका नागरिकहरु स्वास्थ्यको समस्या झेल्दै आएका छन् ।
सुरक्षित सुत्केरी गराउनेदेखि समान्य सिटामोल किन्ने पनि घण्टौँ हिड्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश पहाडीले जानकारी दिए । “गाउँमा अस्पताल छैनन्, एउटा क्लिनिक मात्रै हो, उपचार पाउन गाह्रो हुन्छ । यहाँका नागरिकहरु उपचार नपाई मर्ने अवस्था छ” वडा नं ३ भौगोलिक विकटताका कारण स्वास्थ्य, शिक्षा, यातायात लगायतका क्षेत्रमा पछि नै रहेको वडाध्यक्ष मनबहादुर शाहीले बताए ।
‘अव वडा गाउँपालिकामा यहाँका जनतालाई मध्यनजर गर्दै अस्पताल निर्माणका लागि पहल गरिरहेको छु’ उनले भने । बारेकोट गाउँपालिका भित्रका महिलाहरुमा अहिलेसम्म पनि घरमा सुत्केरी हुने परम्पराको अन्त्य भएको छैन । भौगोलिक विकटता, अशिक्षा, गरीबी र पछ्यौटेपनका कारण यहाँका महिलाहरुको अवस्था निकै नाजुक बनिरहेको छ ।
मुल्साम, पछेउरी, रुमसिल, धुमा,ताँसी लगायतका महिलाहरु भौगोलिक विकटताका कारण अस्पताल सम्म नपुगेर अकालमा ज्यान गुमाउन बाध्य रहेको स्थानीय धनजीत नेपालीले बताए । स्थानीय सरकारले जनताको आवश्यकतालाई बुझि काम गर्ने हो भने यस क्षेत्रको समस्या हल हुन्थ्योकी ? प्रश्न उब्जिरहन्छन ।
बारेकोट गाउँपालिका – ३ मुल्सामका स्थानीय महिला अहिले पनि सुरक्षित सुत्केरीको पहुँच भन्दा बाहिर छन् । भौगोलिक विकटताका कारण त्यस क्षेत्रका स्थानीय महिलाहरु सुरक्षित सुत्केरीको पहुँच भन्दा बाहिर रहेकी छन ।
पहुँच भएका परिवारहरुले सुत्केरी गराउन एक महिना पहिले खलंगा, सुर्खेत र नेपालगञ्ज लिने गरेका छन । तर विपन्न तथा गरिब परिवारहरु भने अहिले पनि गाउँमै सुत्केरी गराउन बाध्य छन ।