काठमाडौँ : माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कर्णाली प्रदेशमा एमालेका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेकपा एमाले कर्णाली प्रदेशसभा दलले गरेको निर्णय अनुसार आफूले राजीनामा दिएको उनीहरुले बताएका छन् । मन्त्रीहरु दल रावल, नन्दसिंह बुढा र प्रकाश ज्वालाले मंगलबार संयुक्त रुपमा राजीनामा दिएका हुन् ।
‘एकातिर भौतिक प्रशासनिक एवं कानुनी संरचनाहरुको संस्थागत विकास गर्नुपर्ने थियो भने अर्कोतर्फ विकास र आधारभूत सेवा सुविधाको जनतासमक्ष अनुभूती गराउने कुरा हाम्रोसामु चुनौतीका रुपमा रहेका थिए। यसतर्फका सकारात्मक प्रयासहरुलाई सकेसम्म सफलताका साथ अगाडि बढाउने काममा हामी प्रयासरत रह्यौँ’ उनीहरुले दिएको राजीनामा पत्रमा उल्लेख छ ।
केन्द्रमा नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र ब्युतिएपछि त्यसको सोझो असर कर्णालीमा परेको हो । जसकारण तीन जना मन्त्रीले पदबाट राजीनामा दिएर फर्किनुपर्यो । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अस्तित्वमा ल्याएर नेकपा खारेज गरेको थियो ।
त्यसयता उतारचढावमा रहेको कर्णाली प्रदेश सरकार माओवादी केन्द्र र एमालेको माधव पक्षको सहयोगले टिकेको थियो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता यामलाल कडँेलले गएको असोजमा अविश्वास प्रस्ताव दर्ता समेत गराएका थिए ।
तर त्यतिबेला माओवादी केन्द्र र माधव पक्षका सांसदहरुले बीचमा धोका दिएपछि अविश्वास प्रस्ताव तुहिएको थियो । तर अहिले नेकपा र माओवादी केन्द्र ब्युतिएपछि एमालेले निर्णायक रुपमा आफ्नो बहुमतले कर्णाली प्रदेश सरकार ढाल्न अघि सरेको हो ।
एमालेको समर्थन फिर्ता भएपछि मुख्यमन्त्री शाही अब अल्मपतमा परेका छन् । बहुमतका लागि २१ जना सांसद चाहिनेमा उनलाई माओवादी केन्द्रका १३ जना सांसदको मात्रै समर्थन छ । अल्पमतमा परेपछि मुख्यमन्त्री शाहीले अब नैतिक रुपमा राजीनामा दिनुपर्ने दबाब बढेको छ ।