काठमाडौँ : राष्ट्रिय राजनीति तरंगित भएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम पुगेका छन् । जनार्दन शर्मा ‘प्रभाकर’को गृहजिल्लामा प्रचण्ड सम्भवतः शान्तिप्रक्रियापछि पहिलोपटक पुगेको हुनुपर्छ । यदि यसबीचमा पुगेका भए संघीयतापछि प्रचण्ड पहिलोपटक रुकुम पुगेको पक्का हो ।
प्रचण्ड रुकुम यस्तो बेला पुगेका छन्, जतिबेला कर्णाली प्रदेश सरकार लगभग ढल्ने अवस्थामा पुगेको छ । नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । तीन जना मन्त्रीले राजीनामा दिएपछि एमाले औपचारिक रुपमै सरकारबाट बाहिरिएको छ ।
यस्तो अवस्थामा पनि प्रचण्ड चुपचाप छन् । उनी जनार्दनको निम्तोमा दलबलसहित रुकुम पुगेका छन् । रुकुममा प्रचण्डले आफ्नो जनयुद्ध सम्झना गरेका छन् । दुई वटा भरुवा बन्दुकबाट रोल्पा आक्रमण गरेर माओवादीले जनयुद्ध सुरु गरेको थियो ।
झण्डै २५ वर्षपछि माओवादी फेरि त्यही आक्रमणको संघारमा पुगेको छ । सत्ताबाट, शक्तिबाट, विश्वास, आशा, योजना र प्रभावबाट कमजोर बन्दै गएको माओवादी प्रचण्डकै शब्दमा फेरि जनताको काखमा पुगेको छ ।
सत्ताको आश, भरोसा, रहर, सपना सबै सकेको माओवादी अब कसरी अगाडि बढ्ने भनेर चिन्तामा पुगेको बेला जनार्दनले प्रचण्डलाई रुकुममा बोलाएर जनयुद्धको नारा घन्काउँदैछन् । यसले पनि देखाउँछ, अब माओवादी फेरि जनयुद्धको तागत फर्काउन सकिन्छ कि भनेर कर्णालीमा बंकर खन्न्न हिडेको छ ।
तर अहिलेलाई आखिर प्रचण्ड किन रुकुम पुगे ? भन्ने विषयमा हामी यो आलेखमा सविस्तार खुलाउँदैछौँ ।
सोती हत्याकाण्ड र जनार्दन
मानिसहरुले प्रचण्डलाई बिर्सन सक्लान । जनार्दनलाई पनि बिर्सिदेलान । तर ६ जना कलिला युवाहरुको कुटी कुटी हत्या गरेको सोती हत्याकाण्डलाई बिर्सन सक्दैनन् । जसले नेपालमा बर्बर रुपमा जातीय विभेदको घटनालाई पहिलोपटक सतहमा ल्याइदियो ।
एउटा सामान्य प्रेमकहानीलाई लिएर जनार्दनका आफन्त पर्ने मल्लहरुले जाजरकोटका युवाहरुको विभत्स हत्या गरेका थिए । नवराज विकहरुको हत्या गर्ने अरु नभई जनार्दनकै आफन्त मानिने वडाध्यक्ष डम्बर मल्ल लगायतको टोली थियो । जसलाई संसदमै जनार्दनले संरक्षण गरेका थिए ।
पछि वडाध्यक्ष मल्ल, नवराज विककी प्रेमिका शुष्मा मल्लका आमाबुवाले हत्या गरेको स्वीकार गरेका थिए । जुन सर्वथा सबैलाई याद छ । यो घटनापछि जनार्दनको वास्तविक हुलिया खुलेको थियो । उनी जति परिवर्तन र क्रान्तिका कुरा गर्छन्, त्यति सामान्ती छन् भन्ने कुरा सोती काण्डले खुलाएको थियो ।
त्यसपछि जनार्दन धेरैका नजरमा खलनायक साबित भए । उनको जति राजनीतिक उचाई भएपनि अपराधलाई ढाकछोप गर्ने प्रवृत्तिले क्रान्तिकारी रुप उदांगो बन्यो । त्यसको वर्षदिनपछि तिनै जनार्दन प्रचण्डसहित दलबल लिएर रुकुम पुगेका हुन् ।
फर्किएला जनार्दनको क्रेज ?
आफू एक्लैले पूरानो क्रेज फर्काउन नसक्ने भएपछि प्रचण्डलाई जनार्दनले रुकुम उतारेका हुन् । प्रचण्डको आगमनले रुकुम फेरि उक्लिएको छ । दलित, जनजाती, बाहुन, क्षेत्री सबैलाई एक ठाउँमा ल्याएर माओवादीको शक्ति देखाएका छन् ।
अब उनी फेरि एकपटक कर्णालीको शक्ति बनेर उदाएका छन् । प्रचण्डको उपस्थितीले पनि जनार्दन फेरि शक्तिको केन्द्र बन्ने सुरमा छन् । अब हेरौँ कर्णालीको राजनीति, शक्ति र जनतालाई जनार्दनले कसरी एकत्रित गर्छन् ?
उनी फेरि दलित मार्ने अपराधीलाई संरक्षण गर्दै हिड्छन वा आफै सफल नेताका रुपमा राष्ट्रिय राजनीतिका रुपमा रहन्छन् ? त्यो हेर्न बाँकी छ ।