२५ चैत, सल्यान । अति सुन्दर, १०८ वटा झ्याल ढोका रहेको ५५ कोठे सल्यान फालावाङको पुतली दरबार । यो ऐतिहासिक दरबार अहिले तस्वीरमा मात्रै सिमित बन्न पुगेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ४, फालावाङमा रहेको पुतली दरबार अहिले भग्नावशेषमा परिणत भएको हो।
वि.सं.२०५२ सालसम्म दरबार रहेको भएपनि त्यस यताबाट दरबारमा प्रयोग गरिएका सामग्री चोरी हुन थालेपछि भग्नावशेषमा परिणत भएको त्रिवेणी – ४ रावत गाउँका बेद बहादुर रावतले बताए । उनले भने, ‘दरबारका काठ, इटा, जस्तापाता रातारात चोरी भयो, अहिले दरबारको कुनै नमुना समेत देख्न सकिँदैन।’
द्वन्द्वको समयमा दरबारको संरक्षण हुन नसक्दा यस्तो स्थितिमा आइपुगेको हो । दरबारमा कुँदिएका काठका झ्याल, ढोका, दलिन चोरी हुँदा समस्या भएको स्थानीय बेद बहादुरले बताए। दरबार संरक्षण हुन नसक्दा पर्यटनमा ठूलो घाटा भएको नरेन्द्र भण्डारी बताए। उनले भने, ‘यदि दरबार रहिरहेको भए यहाँ सयौँ पर्यटकहरू आउँथे होला। यसबाट हुने आम्दानीबाट फालावाङको विकासमा निकै टेवा पुग्ने थियो ।
फालावाङ दरबारको ६५ रोपनी भन्दा बढी जग्गा रहेको बताइन्छ । यद्यपी पछिल्लो समय दरबारको जग्गा अतिक्रमण चपेटामा परिरहेको छ। दरबार पुन ः निर्माणका लागी स्थानीय तहले पनि जोडदार पहल थालिरहेको जनाएको छ ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले पुतली दरबार फेरि निर्माण गर्ने कुरा आफ्नो वशमा नभएपनि पर्याप्त पहल गरिएको बताए । उनले भने, ‘हामीले कर्णाली प्रदेश सरकार, संघीय सरकार तथा पुरातत्व विभागमा दरबार पुनः निर्माणका लागि आधिकारिक पत्रमार्फत अनुरोध पठाएका छौँ। सल्यानखबरबाट