२५ चैत, सुर्खेत । देशभरका अन्य जिल्लासँगै कर्णाली प्रदेशको वीरेन्द्रनगरमा पनि वायु प्रदुषण अत्यधिक मात्राले बढेको छ । सुर्खेत उपत्यकाको आकाश विहानैदेखि धमिलो देखिरहेको छ भने घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ ।
केही दिन यता वीरेन्द्रनगरका केही भूभाग र कर्णालीका अन्य ठाउँहरुमा थुप्रै आगलागीका घटना भइरहेका छन् । सुर्खेतका विभिन्न ठाउँ गरी करिब २५ सय हेक्टरमा आगलागी भएको छ । आगलागीमा परी दुईजनाको मृत्यु भएको र एकजना घाइते भएको प्रदेश वन निर्देशनालयका डिभिजनल वन अधिकृत गोविन्द दाहालले बताए ।
अहिले विभिन्न ठाउँहरूमा आगलागी भएको छ, केही ठाउँको आगो नियन्त्रणमा आए पनि अन्य ठाउँमा दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्,’ उनले भने । ‘जंगलको बाटो हिंड्ने यात्रुले र गाडीमा यात्रा गर्ने यात्रुले चुरोटका ठूटा जंगलमा फाल्नाले र कसैले जानीजानी हर्कत गर्नाले यस्तो समस्या निम्तिएको छ,’ दाहालले भने, ‘आगलागीले मानव जाति र जीवजन्तुलाई नै असर पुग्ने भएकाले यस्तो कार्य नगर्न अनुरोध गर्दछौँ ।’
वनमा लागेको डढेलो नियन्त्रण नभएसम्म तत्काल प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुले उल्लेख गरेका छन् । वायुमण्डलमा प्रदूषण अत्यधिक भई वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा समेत थपिंदै गएको छ । वीरेन्द्रनगरलगायत अन्य जिल्लामा पनि प्रदूषण बढेका कारण सचेत रहन वातावरण विभागले आग्रह गरेको छ ।
वीरेन्द्रनगरलगायत अन्य ठाउँको वायु प्रदूषण खराब अवस्थामा रहेको वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बताए । ‘वीरेन्द्रनगरको प्रदूषण मापन गर्ने यन्त्रमा केही समस्या आएका कारण मापन गर्न सकिएको छैन,’ जोशीले भने, ‘वायु प्रदूषण हिजोभन्दा आज धेरै बढेकाले सचेत रहन आग्रह गर्दछु ।’
सामान्यतया एयर क्वालिटी इन्डेक्स ( एक्युआई ) ५० भन्दा माथि जानु खतराको संकेत हो । नेपालका प्रमुख शहरहरुमा त्यो संख्या अत्यधिक मात्रामा बढ्दै गएको छ । प्रदूषणले मानिसदेखि अन्य प्राणीको शरीरमा गम्भीर असर गरिरहेको छ । प्रदूषणबाट विशेष गरी बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित हुने भन्दै सचेत रहन स्वास्थ्यकर्मीले समेत आग्रह गरेका छन् ।
वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्छ । नेपालमा वर्षेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगबाट ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु वायु प्रदूषणकै कारण हुने गरेको छ ।
जितेन्द्र थापाले तपार पारेको यो सामग्री हामीले इकागजबाट लिएका हौं ।