जुम्ला । कर्णाली प्रदेशमा पहिलोपटक जुम्लाले लकडाउन शुरु गरेको छ । आइतबार बसेको विपद व्यवस्थापन समितिको बैठकले आज राती १२ बजेदेखि लागु हुने गरी जिल्लालाई पूर्ण बन्द अर्थात लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन हुँदा सीमाबाट वारपार गर्न पाइने छैन भने अत्यावश्यक बाहेक घरबाहिर समेत निस्कन पाइने छैन ।
कोरोनाको बढ्दो जोखिमलाई ध्यान दिएर कर्णाली प्रदेशमै पहिलो पटक जुम्लालाई लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए । लकडाउन गरिएपछि जिल्लामा कोरोना संक्रमित भित्रिने सम्भावना नभएको उनको भनाई छ ।
लकडाउनको अवस्थामा पालिका सरकारसँग समन्वय गरेर खाद्यान्न लगायतका वस्तु व्यवस्था गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
जुम्ला लकडाउन भएपछि अब कर्णाली प्रदेश सरकारलाई दबाब बढेको छ । प्रदेश सरकारले अहिलेसम्म लकडाउन गर्ने निर्णय गरिसकेको छैन । तर सामाजिक सञ्जालमा तत्काल लकडाउन गर्न दबाब बढेको छ । जुम्लाले औपचारिक निर्णय गरेपछि अब प्रदेश सरकारले पनि लकडाउन गर्ने अवस्था सिर्जना भएको छ ।
आइसोलेसन बेड र क्वारेन्टाइनको व्यवस्था
नोवेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा १५ शैय्याको आइसोलेन वार्ड र एक सय क्षमता भएको क्वारेन्टाईनको व्यवस्था गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठानले आइसोलेसनमा लागि अस्पतालको १५ बेड छुटयाएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।
विपद व्यवस्थापनको बैठकमा साझा सहकार्य गरेमा कोरोनालाई जित्ने सामार्थ्य जुम्लासंग भएको पनि उनको दाबी छ । बिशेषज्ञ चिकित्सक सहितको अस्पताल भएकाले सबैको समन्वय प्रभावकारी भए कोरोना संग सजिलै जुध्न सक्ने क्षमता रहेको रावलको भनाई छ ।
त्यस्तै शंकाष्पद व्यक्तिको जाँचका लागि जुम्ला बहुमुखी क्याम्पसमा १०० बेडको क्वारेन्टाईनको व्यवस्था गर्ने निर्णय भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले जानकारी दिए । यसका लागि जुम्ला विमानस्थल र मुगु जुम्लामा सिमाना नाग्मघाटमा हेल्थ डेक्स स्थापना गरि संचालनमा ल्याईएको छ ।
कोरोनाको रोकथामका लागि जुम्लाका पाँच नाकाको आवागमनमा कडाई गर्ने हेतुले जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य, रेडक्रस, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग आवश्यक समन्वय भइरहेको उनले बताए । कालीकोटको नाग्म, मुगु आउनेजाने बुडु र भूलभुले, डोल्पा र जाजरकोट जोड्ने मणिसाँघु, जुम्ला विमानस्थलको आवागमनमा कडाँ जाँच गर्ने र त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशक रावलले बताए ।।