काठमाडौँ : असोज २५ गते पहिलोपटक नेपालमा प्रदेश सरकारमाथि अविश्वास प्रस्ताव दर्ता भयो । जतिबेला केन्द्रमा नेकपा सरकारमा थियो । प्रदेशमा एमाले र माओवादीले भाग बाँडेका थिए । जसअनुसार कर्णालीमा माओवादीको सरकार बन्यो ।
महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । राष्ट्रिय राजनीतिमा खासै चर्चामा नआएका शाही तत्कालिन अख्तियारका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउँदा उनी प्रस्तावक बने । यही प्रस्तावले उनलाई राष्ट्रिय राजनीतिमा चर्चामा ल्यायो । कर्णालीको मुख्यमन्त्री बन्ने बाटो खोल्यो ।
इतिहासमा पहिलोपटक प्रदेश सरकार ढाल्ने कामको नेतृत्व गरे यामलाल कँडेलले । मुख्यमन्त्री बन्न नपाएको झोकमा उनले कर्णाली प्रदेश सरकार ढाल्ने प्रयास निरन्तर गरे । जसमा उनी बल्ल सफलताको नजिक पुग्दैछन् ।
एमाले र माओवादी विभाजित बनेपछि त्यसको पहिलो असर प्रदेशमा सरकारमा परेको छ नै । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार अल्पमतमा छ । प्रदेशसभामा विश्वासको मत लिन नसके उनी केही दिनमा मुख्यमन्त्री पदबाट पदमुक्त हुनेछन् ।
माओवादीको प्रदेश सरकार ढल्दै गर्दा प्रचण्ड कर्णाली पुगेका छन् । माओवादी जनयुद्धका नायक मानिने प्रचण्ड कर्णालीमा पुग्दा चिन्तित छन् । अब कसरी केन्द्रमा सरकार बनाउने र प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्ने भन्नेमा प्रचण्डको दिमाग खेलिरहेको छ ।
तर पनि उनलाई प्रदेश सरकारको चिन्ता बढी देखिन्छ । आफ्नै पार्टीको सरकार ढल्ने भएपछि उनले बचाउको कुनै हारगुहार गर्ने सम्भावना पनि छैन् । तर त्यो भन्दा बढी तीन तीन वर्ष कर्णाली प्रदेश सरकारको नेतृत्व गरेका महेन्द्र शाहीलाई पिरलो छ ।
प्रचण्डका अगाडि रवाफिलो, जाँगरिलो र जुझारु नेता बन्ने बेलामा शाही भने भिजेको मुसो जस्तो बनेका छन् । उनीसँग कुनै जोशँ जागर, सम्भावना र तीन वर्ष शासनमा बसेको जस्तो छाँट देखिदैन् । कार्यकर्ता प्रशिक्षणमा एक कुनामा सिमित भएका उनी प्रचण्डको नजिक पनि पर्न सकेका छैनन् ।
उत्पात काम गरेर पार्टी र जनताको विश्वास जित्नुपर्ने बेला मुख्यमन्त्री शाही यतिबेला युद्ध हारेको सिपाही जस्तो कमजोर हार खाएको नेता जस्तो देखिएका छन् । पार्टीपछि सरकार प्रमुख सँधै पार्टी अध्यक्षको नजिक बस्ने गर्छ । पार्टी अध्यक्षको हेरचाह र व्यवस्थापनमा सबै खर्च गर्छ ।
तर प्रचण्डको सबै व्यवस्थापन जनार्दन शर्माले गरिरहेका छन् । मञ्चमा पनि उनी प्रचण्डको नजिक देखिदैनन् । प्रचण्डभन्दा चार पाँच सिट परको कुर्सीमा सामान्य कार्यकर्ता जसरी उनी बस्न बाध्य छन् । यसले मुख्यमन्त्री शाहीको हविगत देखाउँछ ।
प्रचण्डको प्रिय हुन महेन्द्र शाहीले भने त्यस्तो केही गर्न सकेनन् । कर्णालीमा जनयुद्धका घाइतेलाई समेत उनले फर्केर हेरेनन् । मुख्यमन्त्री कार्यालयबाट खासै बाहिर निस्कन चाहेनन् ।
बेला बेला काठमाडौँ र कालिकोट पुग्ने बाहेक उनले त्यस्ता जनता उचाल्ने कार्यक्रम र भाषण गर्न सकेनन् । आफूमाथि भरोसा गरेर दिइएको जिम्मेवारी समेत पूरा गर्न नसकेपछि उनी प्रचण्डको छेउछाउ पुग्न नसकेका हुन् । जनार्दनलाई विश्वास गरेर महेन्द्र शाहीलाई मुख्यमन्त्री बनाएका प्रचण्डले धेरैपटक उनकै असक्षमताले गर्दा कर्णाली प्रदेश जोगाईदिन माधव नेपालसँग गुहार माग्नु परेको थियो ।
तर यसपटक पनि त्यो सम्भावना रहेन । यसले गर्दा पनि मुख्यमन्त्री महेन्द्र बहादुर शाही निराश, उदास र निरीह बनेर प्रचण्डका अगाडि हाजिर भएका हुन् । जसले स्वयंम प्रचण्डलाई पनि भरोसा दिलाउन सक्दैन् ।
यसकारण पनि मुख्यमन्त्रीको कामबाट प्रचण्ड सन्तुष्ट छैनन् । उनलाई रुचाएका पनि होइनन् । त्यसकारण मुख्यमन्त्री शाही आफ्नै घरआँगनमा अध्यक्ष प्रचण्ड आउँदा पनि टाढा टाढा भाँग्दै बस्नुपरेको हो । तर यो श्रृंखला कहिलेसम्म चल्छ ? हेर्न बाँकी छ ।
सबैभन्दा गरीब, विकट भएपनि माओवादी जनयुद्धको किल्ला बनेको कर्णालीमा तीन तीन वर्ष शासन चलाउने अवसर पाएपनि अन्तिममा हात लागी शुन्य जस्तो काम गरेका मुख्यमन्त्री इतिहासकै कमजोर नेता बनेका छन् ।
घाइते, मृत्तक, कार्यकर्तालाई व्यवस्थापन, युवालाई रोजगारी दिन नसकेका शाही माओवादी आन्दोलनका 'भिजनलेस' नेताका रुपमा पनि चित्रित भएका छन् ।