२७ चैत, सिमकोट । ठेकेदारले समयमा पुल निर्माण सम्पन्न नगर्दा हुम्लामा चल्ने यातायातका साधन काठेपुलको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल चार वर्ष हुन लाग्दा पनि नबनेपछि यातायातका साधन काठेपुलको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
हुम्ला–हिल्सा–सिमकोटखण्डअन्तर्गत हेप्का खोलामा पुल निर्माणमा ढिलाइ हुँदा हुम्लामा काठेपुलबाटै गाडी गुड्ने गरेका छन् । ६ साउन ०७४ मा सम्झौता भएर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको पुल अहिलेसम्म बनेको छैन । सदरमुकाम सिमकोटदेखि हेप्काखोला हुँदै गुड्ने गाडी काठेपुलबाट वारपार गर्न बाध्य छन् । यो पुल बनाउन पूर्वाधार विकास कार्यालय हुम्लाले आर्थिक सहायता गरेको हो ।
पुल बनाउने सम्झौता सपना धुलिखेल जेभीले गरेको हो । उसले १५ साउन ०७६ भित्र पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । तर, ठेकेदारका प्रतिनिधि तेजबहादुर महतले बेवास्ता गर्दा समयमै पुल निर्माण हुन नसकेको एक स्थानीयले बताए । पुल निर्माण गर्ने कामदार ज्याला नपाएपछि निर्माण कार्य छोडेर फर्किएका छन् । ११ करोड दुई लाख ९० हजार सम्झौता भएको पुल निर्माण सुस्त गति भएको भन्दै स्थानीय आक्रोशित छन् ।
पुल निर्माण नहुँदा काठेपुलबाट गाडी तार्ने बाध्य भएको गाडी व्यवसायीले दुःखेसो गर्दै आएका छन् । हिल्सा सिमकोट सडक योजना कार्यालयले ठेकेदारलाई तोकेता नगर्दा पुल निर्माण कार्य ढिलाइ भएको स्थानीयले बताउने गरेका छन् । हिल्सादेखि सिमकोटसम्म चारवटा पुल निर्माण हुन बाँकी छ ।
सम्झौताअनुसार समयभित्रै पुल निर्माण नभए पनि हिल्सा सिमकोट सडक आयोजना कार्यालय हुम्लाले वेलावेला म्याद थप्दै आएको छ । नाम्खा गाउँपालिकाको याङगार खोला, सल्लीखोला, ताग्रुखोला र सिमकोट र नाम्खा गाउँपालिका सिमाना हेप्काखोला पुल निर्माण कार्य ढिला सुस्ती हँुदै आएको हिल्सा सिमकोट सडक योजना कार्यालयका प्रमुख बिसुदास लामाले बताए ।
‘निर्माण सम्पन्न गर्ने कार्यतालिका पेस गर्न ठेकेदारलाई ताकेता गरिसकेको छु, के कारण काम ढिलाइ भएको हो, कारण पनि मागेको छु,’ कार्यालय प्रमुख लामाले भने । हेप्का खोलाको पुल निर्माणको एक छेउको भाग तयार भएको छ । अन्य काम भइरहेको छ उनले बताए ।
पुल निर्माणमा बजेट अभाव
हिल्सा–सिमकोट सडक योजना कार्यालय हुम्लाका अनुसार पुल निर्माणमा बजेट अभाव भएको जनाएको छ । भौतिक योजना मन्त्रालयमा १० करोड थप बजेट माग भएको हिल्सा सिमकोट कार्यालय हुम्लाले जनाएको छ ।
नाम्खा गाउँपालिकाका याङगार खोलामा चार करोड ७० लाख, ताग्रुखोलामा १० करोड ५७ लाख, सल्लीखोलामा १० करोड ५४ लाख र हेप्का खोलामा ११ करोड २९ लाखमा पुल निर्माण गर्न सम्झौता भएको योजना कार्यालय हुम्लाका प्रमुख बिसुदास लामाले बताए । सल्लीखोलाको पुल निर्माण अन्य पुल निर्माण कामभन्दा राम्रो भौतिक प्रतिवेदन राम्रो रहेको कार्यालय प्रमुख लामाको भनाइ छ । नयाँ पत्रिकाबाट