एजेन्सी । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । आइतबार ११ हजार मानिसले ज्यान गुमाएकामा सोमबारसम्म थप तीन हजारले बढेर १४ हजार ६ सयको मृत्यु भएको बिबिसीले जनाएके छ । अहिलेसम्म १ सय ८६ देशमा फैलिसकेको कोरोनाबाट संसारभर झण्डै साढे तीन लाख मानिस संक्रमित छन ।
कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ । ५९ हजार १ सय ३८ मानिस संक्रमित रहेकोमा ३ हजारको अवस्था नाजुक रहेको बिबिसीले जनाएको छ । चीनमा ३ हजार २ सय ७० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्पेनमा १ हजार ७ सय ७२ मानिसको ज्यान गइसकेको छ ।
मध्यपूर्वको देश इरानमा हालसम्म १ हजार ६ सय कोरोना संक्रमितको ज्यान गइसकेको छ । त्यहाँ अझै २१ हजार ६ सय ३८ मानिस संक्रमित रहेको बताइएको छ । फ्रान्समा पनि कोरोनाको संक्रमण फैलँदो अवस्थामा छ । रोकथामका पर्याप्त उपाय अवलम्बन गरिए पनि त्यहाँ हालसम्म ६ सय ७४ मानिसको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
संक्रमित संख्या भने चीनमा सबैभन्दा बढी छ । त्यहाँका झण्डै ८१ हजार ४ सय २६ मानिस कोरोना भाइरससँग जुधिरहेका छन् । त्यस्तै, इटलीका ५९ हजार १ सय ३८, अमेरिकाका ३३ हजार २ सय ७६, स्पेनका २८ हजार ७ सय ६८ र जर्मनीका २४ हजार ८ सय ७३ मानिसमा कोरोनाको लक्षण भेटिएको छ ।
कोरोनाले महामारीको रूप लिने चेतावनीकै बीच नेपालको छिमेकी देश भारतमा सात जनाको ज्यान गइसकेको छ । ३६० मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोना फैलन थालेपछि भारतले २२ राज्यको ७५ जिल्लामा ३१ मार्चसम्म लकडाउन गरेको छ ।
नेपालमा अहिलेसम्म एक जनामा मात्रै कोरोना पुष्टि भएको छ । तर बढ्दो जोखिमलाई कम गर्न सरकारले सोमबारदेखि देश नै लकडाउन गरिदिएको छ ।