काठमाडौँ : यदि कुनै चमत्कार भएन भने अबको केही दिनमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही पदच्युत हुनेछन् । प्रदेशसभाबाट विश्वासको मत लिन नसके उनी स्वतः पदमुक्त हुनेछन् भने नैतिकताका आधारमा राजीनामा दिनुपर्ने दबाब पनि उनीमाथि बढ्दै छ ।
जे भएपनि माओवादी केन्द्रको नेतृत्वमा बनेको कर्णाली प्रदेश सरकार केही दिनमा ढल्ने पक्का पक्की जस्तै छ । कर्णाली प्रदेशमै रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले पनि मुख्यमन्त्री शाहीलाई पदमा टिकाइराख्ने चमत्कार देखाउन सकेका छैनन् ।
यसकारण पनि शाही नेतृत्वको सरकार ढल्ने दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा नेकपा एमालेका संसदीय दलका नेता तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल नयाँ मुख्यमन्त्री बन्नेछन् ।
यसअघि शाही नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा कँडेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो । तर अब त्यो अविश्वास प्रस्ताव अघि बढ्छ वा बढ्दैन भन्ने एकिन छैन् । मुख्यमन्त्रीले राजीनामा दिएनन् र प्रदेश प्रमुखले पनि अल्पमतमा परेको सरकारलाई अपदस्त गरेनन् भने कँडेलले फेरि त्यही अविश्वास प्रस्ताव ब्युताउँन सक्छन् । यो सबै आगामी घटनाक्रममा निर्भर छ ।
तर अब यामलाल कँडेल मुख्यमन्त्री बन्ने लगभग निश्चित जस्तै छ । कर्णाली प्रदेशसभामा मुख्यमन्त्री बन्न चाहिने २१ सांसदमध्ये उनको पक्षमा १९ जना सांसद छन् । एमालेबाट सभामुख भएका राजबहादुर शाहीले सांसद पदबाट राजीनामा दिएका कारण एमालेसँग अहिले १९ जना सांसद रहेका हुन् ।
अब दुई जना सांसदका लागि एमालेले तेस्रो सानो दल काग्रेस वा एक सिट रहेको राप्रपासँग पनि सहकार्य गर्न सक्छ । तर यो सानो चुनौतिपूर्ण भने छैन । कर्णालीमा एमालेले आफ्नो नेतृत्वमा कसरी सरकार बनाउँछ भन्ने प्रश्न हिजोआज पेचिलो बन्दै गएको छ ।
कर्णालीमा मुख्यमन्त्री बन्न यामलाल कँडेललाई मुख्य दुई वटा विषयमा क्लियर हुनुपर्नेछ । पहिले केन्द्रमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको रामराज्य जसरी कर्णालीमा सरकार चलाउन लगभग असम्भव छ । किनभने एमालेले जसरी चाहेपनि एक्लै सरकार बनाउँन सक्दैन् ।
माओवादी उसको सरकारमा आउँदैन् । ६ सिट जति रहेको कांग्रेस पनि सहजै रुपमा प्रतिगामी कदम चाल्ने ओली गुटको सरकारमा जान सहज नहुन सक्छ । ओलीलाई एक्ल्याएर आगामी चुनावमा बहुमत आफ्नो पक्षमा पार्न पनि कांग्रेसले माओवादी र माधव झलनाथ गुटसँग सहकार्य गर्नसक्छ ।
तर यो सम्भावना पूरा हुनलाई केन्द्रमा कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा माओवादी सामेल हुन सक्छ । त्यसका साथै जनता समाजवादी पार्टी र राप्रपाले पनि सहकार्य गर्न सक्छ । यदि यस्तो भएमा यामलालको मुख्यमन्त्री बन्ने सपनामा फेरि पनि धक्का लाग्न सक्छ ।
किनकी २१ जना सांसद नहुनु र कांग्रेस वा राप्रपासँग सत्ता सहकार्य गर्नुपर्ने बाध्यताका कारण उनीहरुलाई फकाउन नसकेमा परिणाम उल्टो हुन सक्छ ।
माओवादी-कांग्रेस र राप्रपाको समीकरण बन्ला ?
यदि ओलीको प्रतिगमनविरुद्ध सडक संघर्षमा होमिएकाहरुको मन मिल्यो भने कर्णालीमा नयाँ समीकरण बन्ने सम्भावना पनि बलियो छ । केन्द्रमा कांग्रेसले सरकारको नेतृत्व गरेर माओवादी र जनता समाजवादी पार्टीले साथ दिने हो भने कर्णालीमा मुख्यमन्त्री शाही पदमा कायमै रहन सक्छन् ।
यसका लागि केन्द्रमा रस्सकस्सी चलिरहेको छ । कर्णालीमा अहिले माओवादीसँग १३ जना सांसद छन् । उपसभामुखसहित १३ जना सांसद रहेको माओवादीले कांग्रेस र राप्रपालाई आकर्षक मन्त्रालय दिन सकेमा बहुमत पुग्न सक्छ ।
माओवादीको १२, कांग्रेसको ६ र राप्रपाको एक सिटलाई मिलाउँदा सरकार बन्ने सम्भावना यथावत छ । यदि यसरी सरकार बन्दा कांग्रेसबाट पनि मुख्यमन्त्री बन्न सक्छ । वा अहिले नै महेन्द्र शाहीले पनि पदलाई निरन्तरता दिन सक्छ । कर्णालीमा कांग्रेसको नेतृत्व जीवन शाहीले गरेका छन् । उनी प्रमुख प्रतिपक्षी दलका नेता समेत हुन् ।
यद्यपी यसको ९० प्रतिशत भरोसा केन्द्र सरकारमा छ । यो समीकरण बनेमा एमाले ओलीका कारण फेरि प्रतिपक्ष दल बन्नेछ भने यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना सपनामै सिमित हुनेछ । राजनीति हरेक सम्भावनाको खेल भएकाले नसोचिएको यो समीकरण नबन्ला भनेर पनि भन्न सकिन्न ।