काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न विपक्षी तीन दलको गठबन्धन बनेको छ । काग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार साँझ बसेको बैठकले ओली सरकार ढाल्ने गठबन्धन बनाएको हो ।
यसअघि पटक पटक बैठक बसेपनि माओवादी, काग्रेस र जनता समाजवादी पार्टीबीच तालमेल भएको थिएन । तर शुक्रबार देउवाले बोलाएको तीन दलको बैठकले ओली सरकार ढालेर नयाँ सरकार बनाउने पहल थाल्ने निर्णय गरेको छ ।
जसले तीन वर्ष लामो ओली शासन ढाल्ने औपचारिक निर्णय गर्नेछ । देउवाकै नेतृत्वमा सरकार बनाउन माओवादी सहमत भएपनि जसपाले पार्टीभित्र छलफल गरेर मात्रै निर्णय गर्ने भनेको छ ।
कसरी बन्यो गठबन्धन ?
कांग्रेस सभापति देउवालाई माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पटक पटक भेटेर प्रधानमन्त्री बन्न प्रस्ताव गरे । तर पनि देउवाले अस्वीकार गरिरहे । संसद पुनस्थापना भयो । प्रधानमन्त्री ओलीको दम्भ र प्रतिगमन सच्चियो । तर पनि देउवा प्रधानमन्त्री बन्न तयार भएनन् ।
ओली सरकार ढाल्न कांग्रेसले नेतृत्व लिनुपर्ने दबाब बढेपछि देउवाले तीन दलको बैठक बोलाए । तीन दिनअघि नै तीन दलको बैठक आह्वान देउवाले गरेका थिए । जसको औपचारिक कार्यान्वयन उनले शुक्रबार मात्रै गरे ।
बैठकमा कर्णाली घुमेर काठमाडौँ पुग्नेवित्तिकै प्रचण्ड पनि सहभागि बने । जसपाका नेताहरु बाबुराम भट्टराई, महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेताहरु पनि बैठकमा सहभागी भए । बैठकमा देउवाले आफू प्रधानमन्त्री बन्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने बताए ।
जवाफमा प्रचण्डले कांग्रेस नेतृत्वको सरकारलाई पूरा साथ सहयोग हुने बताए । जसपाका अध्यक्ष महन्थ ठाकुरले भने पार्टीभित्र छलफल गरेपछि मात्रै समर्थन गर्न सकिने बताए । शुक्रबारको गठबन्धनले अब ओली सरकार औपचारिक रुपमै ढल्ने सम्भावना बढेको छ ।
तर यसका लागि अझै एक महिना प्रक्रियागत समय लाग्नेछ । त्यसमा पनि गठबन्धनमा सहभागि नेताहरु अहिलेको रणनीतिमा इमान्दार बनेको खण्डमा ओली सरकार सोचेभन्दा छिटो पनि ढल्न सक्छ ।
बुढानिलकण्ठ गठबन्धनमा प्रचण्ड, देउवा, महन्थ ठाकुर, बाबुराम भट्टराई, विमलेन्द्र निधी, शेखर कोइराला, राजेन्द्र महतो, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागि थिए ।
अब के गर्लान गणतन्त्रका भष्मासुर ?
आफ्नो सरकार ढाल्ने गठबन्धन बनेपछि बालुवाटारमा प्रधानमन्त्री ओली तसित बनेका छन् । खासगरी अहिलेसम्म पनि कांग्रेस सभापति देउवालाई आफ्नो प्रभावमा राख्न सफल भएका ओली अब खेल फुत्किन नदिन झन बढी रणनीति बनाउने कसरतमा हुन सक्छन् ।
संसद विघटन गर्ने, आफुखुशी संवैधानिक नियुक्ती गर्ने, अरुलाई दलीय सम्मान नगर्ने, भ्रष्टाचारलाई संरक्षण गर्ने काममा रमाएका ओलीलाई आफूविरुद्ध बनेको गठबन्धन भत्काउन त्यति सहज छैन् । तर पनि ओली आफूले चलेका चालमा सफल हुँदै गएका नेता हुन् ।
त्यसैले संविधान, गणतन्त्र र संघीयता मास्ने भष्मासुर बनेका ओलीले अब बुढानिलकण्ठ गठबन्धन भत्काउन के गर्लान ? प्रतिक्षाको विषय बनेको छ ।