काठमाडौँ : केन्द्रमा जस्तै कर्णाली प्रदेशमा पनि नेकपा एमालेमा विवाद सिर्जना भएको छ । माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले आफ्ना तीन जना मन्त्रीलाई पनि राजीनामा दिन लगाएर सरकारबाट बाहिरिसकेको छ ।
तर अब बन्ने प्रदेश सरकारको नेतृत्व कसले गर्ने ? भन्ने विषयमा कर्णाली प्रदेशको एमाले पार्टीमा पेचिलो मुद्दा बनेको छ । केन्द्रमा एमाले दुई भागमा विभाजित छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टाछुट्टै गुट चलाएपछि कर्णालीमा पनि त्यसको असर परेको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार ढालेर आफू मुख्यमन्त्री बन्ने दाउमा छन्, यामलाल कँडेल । उनले सुरुवातदेखि नै मुख्यमन्त्री बन्न अनेक प्रयास गरेका थिए । तर पनि सफल भएनन् । नेकपा छँदा केन्द्रमा ओली र प्रचण्डले चार वटा प्रदेशमा एमाले र दुई वटा प्रदेशमा माओवादीले सरकार बनाउने सहमति गरेपछि यामलालको सपना तुहिएको थियो ।
उनको तुहिएको सपना नेकपा विभाजन भएर कर्णाली प्रदेश सरकार ढल्दै गर्दा सफल हुने संकेत देखिएको छ । तर त्यति सहज भने छैन् । कर्णालीमा ओली र माधव नेपाल गुटको बर्चश्व बराबर रहेकाले उनलाई मुख्यमन्त्रीको कुर्सीमा बस्न चुनौति नै छ ।
यही मेसोमा एमालेबाट मुख्यमन्त्री बन्ने होडमा प्रकाश ज्वाला लागेका छन् । तीन वर्ष मुख्यमन्त्री शाहीको सरकारमा अर्थ मन्त्रालय सम्हालेका ज्वाला कर्णालीका शक्तिशाली नेता मानिन्छन् । माधव नेपाल गुटका शक्तिशाली नेता ज्वाला यतिबेला मुख्यमन्त्रीमा दाबी गरेर थप आफ्नो राजनीतिक यात्रा फराकिलो बनाउन चाहन्छन् ।
त्यसमा माओवादी केन्द्रको पनि धेरथोर सहयोग छ भने ओली गुटमा आफूलाई झन बलियो बनाउन पनि ज्वाला निर्णायक मोडमा मुख्यमन्त्रीको अडान रााखिरहेका हुन् । जसले कर्णालीमा माओवादीको सरकार ढलेपनि एमालेको सरकार सहजै बन्छ भन्नेमा अन्यौलता थपेको छ ।
‘यतिबेला एमालेको सरकार बन्छ भन्दा पनि मुख्यमन्त्री को बन्ने भन्नेमा लडाई छ’ कर्णाली माधव गुटका नेता ज्वालाले कर्णालीखबरसँग भने, ‘मुख्यमन्त्रीको टुंगो लागेपछि मात्रै एमालेको प्रदेश सरकार बन्छ । माओवादी प्रतिपक्षमा सिमित हुन्छ ।’
मुख्यमन्त्रीमा आफ्नो दाबी गरेको स्वीकारोक्ति प्रकाश ज्वालाको पनि छ । राजनीतिक घटनाक्रम तीव्र रुपमा अगाडि बढेका बेला अबको राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आफू गम्भीर छलफलमा रहेको बताए ।
‘अहिलेको अवस्थामा सबै सम्भावना बाँकी छन् । खुला छन् । यस्तो अवस्थामा एउटा योजना बनाएर सरकार बनाउनुपर्छ’ उनले कर्णालीखबरसँग भने, ‘त्यसका लागि स्वभाविक रुपमा म पनि जिम्मेवारी सम्हाल्न तयार नै छ । पार्टीभित्र आन्तरिक छलफल पनि भइरहेको छ ।’
सल्यान घर भएका ज्वाला नेकपामा आफूनो प्रभुत्व जमाएर बसेका छन् । यसपटक यामलालसँग कडा खालको माग र सहमति गरेर मात्रै उनी सत्ताको बागडोर सम्हाल्न अगाडि बढ्ने पक्षमा छन् ।