काठमाडौँ : शुक्रबारदेखि सुरु भएको यस वर्षको आइपीएल क्रिकेटमा नयाँ स्टारको उदय भएको छ । उद्घाटन खेलमा साविक विजेता मुम्बईविरुद्ध बेग्लोरले दुई विकेटको संघर्षपूर्ण जित निकाल्दा पेश बलर हर्षल पटेल हिरो बने ।
बलिङमा ५ विकेट लिएका उनले ब्याटिङमा विजयी ४ रन बनाए । एक समय मुम्बई विशाल लक्ष्यतर्फ लम्केका बेला पटेलले सुर्यकुमार यादव, हार्दिक पाण्डेय, इशान किसान, किरोड पोलार्ड जस्ता ब्याट्सम्यानलाई आउट गरेका थिए ।
बलिङमा ४ ओभरमा २७ रन दिएर ५ विकेट लिएका उनी ब्याटिङमा पनि त्यत्तिकै महत्वपूर्ण साबित भए । यसरी रातारात चम्किएका पटेल आखिर को हुन् ?
को हुन पटेल ?
यदि पटेलले चाहेको भए उनी अमेरिकामा आरामको जीन्दगी बिताउन सक्थे । उनका आमाबुवा अमेरिकामा छन् । तर पटेल क्रिकेट खेल्नकै लागि भारतमा छन् । अमेरिकाको बिलासी जीन्दगी त्यागेका छन् ।
सन् २००८ मा बिनो मान्कन्डे ट्रफी क्रिकेटमा उनले २३ विकेट लिएपछि कोच तारक त्रिवेणीको नजरमा उनी परे । जसकारण उनी अमेरिका पलायन हुनु परेन् । भारतीय क्रिकेटमा खेलिरहन पाए ।
त्यसपछि उनले सन् २०१० मा न्युजिल्याण्डविरुद्ध १९ वर्षमूनिको विश्वकप क्रिकेटमा उनले डेब्यु गरे । त्यतिबेला चम्किएका उनलाई मुम्बई इण्डियन्सले आफ्नो टिममा किन्यो । तर उनले पर्याप्त खेल्न पाएनन् । त्यसपछि उनले सन् २०१२ मा रणजी ट्रफी खेले ।
बेग्लोरबाट खेलेका उनले त्यतिबेला २८ विकेट लिए र प्रतियोगिताभर आफूलाई अब्बल साबित गरे । त्यसको एक वर्षपछि उनी बिकेनन् । दुई वर्षपछि उनले फेरि कमब्याक गरे । रणजी ट्रफीमा २२ र विजय हजारे ट्रफीमा १३ विकेट लिएपछि उनी आइपीएलका क्रिकेटरको नजरमा परे ।
त्यसपछि फेरि बेंग्लोरले उनलाई सन् २०१६ देखि टिममा राख्यो । तर खेल्न पाएनन् । यसबीचमा उनी मुम्बई र दिल्लीमा पनि खेले । तर सफल भएनन् । यसपटक उनी बेंग्लोरले दिएको पहिलो अवसरमा नै आफूलाई अब्बल प्रमाणित गरेका छन् ।