२९ चैत, कर्णाली : कर्णाली प्रदेशमा राजनीतिक घटनाक्रम तीव्र रुपमा विकास हुँदै गएको छ । एकपछि अर्को गरी राजनीतिक घटनाक्रम विकास हुँदै गर्दा अब के हुन्छ ? भन्ने अन्यौल पनि कायमै छ ।
माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ । मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने चुनौति छ । उनको पक्षमा अहिलेसम्म माओवादीकै १३ जना सांसद मात्रै रहेका छन् ।
एमालेले हात झिक्दा कांग्रेस प्रतिपक्षमा छ । राप्रपासँग एक सिट मात्रै छ । उसलाई फकाएर शाही सरकार जोगिने सम्भावना छैन । अहिलेसम्मको राजनीतिक दृश्य नियाल्दा कर्णालीमा एमालेको सरकार बन्ने निश्चित जस्तै छ । यसरी हेर्दा हिजो नेकपा सत्तारुढ बन्दा पार्टी फुटेपछि अब एमाले सत्तापक्ष र अहिले सत्तामा रहेको माओवादी प्रतिपक्षमा धकेलिने भएको छ ।
तर यसका लागि मुख्यमन्त्रीबाट महेन्द्र शाहीले राजीनामा दिइसकेका छैनन् । उनले कहिले राजीनामा दिने हुन ? भन्ने एकिन छैन् । अहिले सत्तामा रहेको माओवादी केन्द्र ढिलाचाँडो प्रतिपक्षमा दलमा सिमित हुने निश्चित जस्तै छ ।
अहिले सत्तारुढभित्रै प्रतिपक्षको भूमिका खेलिरहेको एमाले भने चाँडै नै सत्तामा जाने पनि निश्चित भएको छ । ‘अब माओवादीको सरकार ढल्ने पक्का हो । केही दिन लाग्ला । तर कसैसँग तत्काल सहकार्यको सम्भावना छैन’ माओवादी केन्द्रकै एक नेताले कर्णाली खबरसँग भने, ‘एमालेले सरकार बनाएपछि सत्तापक्ष बन्छ । हामी सत्तापक्ष भएर पनि प्रतिपक्ष बन्नुपर्ने अवस्थामा पुगेका छौँ ।
’ एमालेमा मुख्यमन्त्रीका लागि यामलाल कँडेल र प्रकाश ज्वालाको लडाई पेचिलो बनेको छ । माधव नेपाल पक्ष र ओली पक्ष गुटका कारण मुख्यमन्त्रीमा दुई नेताको लडाई चुलिएको हो । यद्यपी यो बाहिर आएको छैन् ।
शाही सरकारबाट राजीनामा दिएका ज्वाला मुख्यमन्त्रीको नेतृत्व गर्न ओली गुटका नेतासँग सहयोग मागिरहेका छन् । मुख्यमन्त्री बन्न उनले संसदीय दलको चुनाव गरेर, चुनाव जितेर बाटो खोल्नुपर्नेछ । जुन पेचिलो विषय हो ।
तर यसले उनलाई मुख्यमन्त्री बन्न सजिलो भने हुदैन् । सरकारमा छँदा नै अर्थ मन्त्रालय राम्रोसँग हाक्न नसकेका उनी शालिन नेता भएर पनि काम देखाउन सकिरहेका छैनन् । यसले पनि उनीप्रति मुख्यमन्त्रीको भरोसा बढ्ने सम्भावना कम छ ।
यद्यपी यो लडाई अहिले विद्यमान रहेकाले थप विकसित राजनीतिक घटनाक्रमले यसको वास्तविकता ढिलोचाँडो बाहिर ल्याउनेछ । तर सत्तापक्ष र प्रतिपक्ष फेरिने कर्णालीको राजनीतिले केन्द्र पनि तरंगित बनेको छ ।