२९ चैत, काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप छनोटको दोस्रो चरण खेल्न भारतको गोवा प्रस्थान गरेको छ । आर्मी क्लब आज अपरान्ह दिल्ली हुँदै गोवा प्रस्थान गरेको छ । बैशाख १ गते भारतीय आईएसएल च्याम्पियन बैंगलूरु एफसीसँग हुने खेलका लागि आर्मी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिल्ली हुँदै गोवा प्रस्थान गरेको हो ।
यसअघि बिहिवार घरेलु मैदानमा आर्मीले श्रीलंकन लिग च्याम्पियन श्रीलंकन पुलिसलाई ५–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरण पार गरेको थियो ।भरत खवासको कप्तानीमा रहेको आर्मीको जितमा नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, सुदिल राई र टंक बस्नेतले एक एक गोल गरेका थिए । श्रीलंकन पुलिसका लागि इभान्सले गोल गर्दै अग्रता बनाएका थिए ।
भारत प्रस्थान गर्दै गर्दा टोलीमा दुई अनुभवी खेलाडी छैनन् । पहिलो चरणको अन्तिम समयमा गोलरक्षक बिकेश र स्ट्राइकर जर्ज प्रिन्सले प्रतियोगिता खेल्न पाएका थिएनन् ।
दुबै खेलाडीलाई कोरोना भएको आशंका गरिएको छ । हाल दुबै खेलाडी आर्मीको टिम बाहिर रहेका छन् । यता, गोवा पुगेसंगै टोलीको पीसीआर परिक्षण हुनेछ । नतिजा अनुकुल आएको खण्डमा टोलीले आफ्नो तयारी अघि बढाउनेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेलमा स्थान बनाउनेछ ।
प्ले अफको विजेताले समूह चरणको समूह ’डी’ स्थान बनाउने छन् । समूह ’डी’ मा भारतको मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ । आर्मी नेपालको लिग च्याम्पियनको रुपमा प्रतियोगितामा समावेश छ ।
एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो । गत सिजनको ’ए’ डिभिजन लिगको विजेता मछिन्द्र क्लब रहेपनि एएफसी क्लब लाईसेन्स नहुँदा उपविजेता आर्मी प्रतियोगितामा समावेश भएको हो ।