खलंगा : भौगोलिक रुपमा जाजरकोटको बारेकोट गाउँपालिका विकट छ । बारेकोटका बस्तीहरु झनै विकट छन् । तीनै विकट बस्तीहरुमा कतै सडक सञ्जाल जोडिएको छ, कतै जोडिदैछ । ती बस्तीहरु मध्येको एक धुमा बस्ती पनि हो । धुमाका विद्यार्थीहरु करिब दुई घण्टा हिडेर कक्षा ११/१२ पढ्न लिम्सा पुग्ने गरेका छन ।
मिरमिरे बिहानमा घर छोड्ने धुमाका विद्यार्थी करिव १० बजे लिम्सा पुग्ने गरेका छन । आउँदा विचबाटोमै झम्मक साँझ परिदिन्छ । यस्तै बारेकोटको तापु, गोमागाउँ, लुवागका विद्यार्थीहरुले यस्तो समस्या झेल्दै आएका छन् ।
अब त्यो समय छिट्टै हट्ने भएको छ । धुमा, लुवाग, स्याला, लगायतका बस्तीहरुको बीच केन्द्र पर्ने कार्कीज्युलामा कक्षा ११ सञ्चालन हुने भएको छ । आर्थिक वर्ष ०७८ देखि सीता माविमा कक्षा ११ सञ्चालन हुने भएको सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरखबहादुर सिंहले जानकारी गराए ।
सीता माविमा अहिले कक्षा ११ सञ्चालन हुने र लगत्तै अर्कौ आर्थिक वर्षमा कक्षा १२ पनि सञ्चालन हुने भएको हो । घर नजिकै ११ पढ्न पाउने भएपछि धुमा, तापु लुवागका विद्यार्थीहरु निकै खुशी भएका छन । घण्टौ हिडेर ११ कक्षा पढ्न लिम्सा जाने बाध्यता हट्ने भएको छ ।
सीता माविका विद्यार्थी टविन कार्की भन्छन, “हाम्रो दिदीहरु ११ पढ्नलाई दुई घण्टा हिडेर लिम्सा जानु हुन्थ्यो । बेलुकी फर्किदा रात परेको हुन्थ्यो । हाम्रो पालामा त्यो बाध्यता हट्ने भएपछि खुसी भएको गुनासो सुनाउँछन ।”
घर नजिकै माध्यमिक शिक्षाको पहुँच पुग्दा त्यहाँका स्थानीयहरु पनि खुसी भएका छन ।
स्थानीय जयबहादुर महतारा भन्छन, “छोराछोरी घण्टौं हिडेर लिम्सा जान्थे, घर नजिकै कक्षा ११/१२ पढ्न पाउँने भएपछि धेरै खुसी छु ।”
उनीहरु मात्र होइन सीता माविमा कक्षा ११ सञ्चालन हुँदा धुमा, घर्तिगाउँ, ताँसी, लुवाग, स्याला, सुवाकोट लगायतका बस्तीहरुका विद्यालय आउने विद्यार्थीहरुको अभिभावकको मुहार नै फेरिएको छ ।