काठमाडौँ : कर्णालीका लागि २०७७ साल केही हर्ष र विस्मातपूर्ण रह्यो । कर्णालीमा घटेका केही घटनाले काठमाडाँै लगायत देश विदेश ततायो । दश वर्षे सशस्त्र युद्धमा छाती फुलाएर लड्ने माआवादी केन्द्रको नेतृत्वमा सरकार भएपनि वर्षौ पूरानो सामन्ती सस्कार कायमै रहेको देखियो ।
माओवादी नेतृत्वको सरकार भएपनि दैनिक दलित समूदायको हत्या भइरहेको छ । तर पनि कर्णाली प्रदेशले यसलाई ढाकछोप गर्ने कुनै उपाय ल्याउन सकेन् । नवराज विक लगायत जाजरकोटका युवा रुकुममा मारिदा सरकार चुपचाप बस्न बाध्य भयो ।
कर्णालीमा २०७७ सालमा के के भयो ? हेरौँ :
१. रुकुम सोती घटना
नेपालमै २०७७ सालको चर्चित घटना हो, सोती रुकुम हत्याकाण्ड । २०७७ साल जेठ १० गते जाजरकोट रानागाउँका ६ जना युवाको रुकुममा कुटी कुटी हत्या भएको थियो । जसमध्ये नवराजको सोही दिन शव भेटिएको थियो भने अरु युवाहरुको शव भेरी नदी किनारमा भेटिएको थियो ।
रुकुम सोतीकी युवती शुष्मा मल्ललाई बिहे गर्न भन्दै जाजरकोटबाट गएका नवराजको साथै ६ जना युवाहरुकै गाउँले मिलेर हत्या भएको थियो । हत्याको विरोधमा देशभर प्रदर्शन भयो । तर पनि पीडितले अझै न्याय पाएका छैनन् । झण्डै महिनौसम्म जाजरकोटमा, काठमाडौँ र सुर्खेतमा घटनाको विरोध भएको थियो ।
तर पनि पीडितले न्याय पाएका छैनन् । युवाहरुको हत्या गर्ने सोती गाउँका मानिसको संंरक्षणमा पूर्वगृहमन्त्री जनार्दन शर्मा लागेका थिए । जसको चर्को आलोचना भयो । यो घटनाले नेपालभर कर्णालीको चर्चा भयो । आलोचना भयो । जातीय विभेद कति जर्जर छ भन्ने कुरा देश दूनियाँले थाहा पायो । यो कर्णाली मात्रै होइन, नेपाल र नेपालीका लागि दुःखद घटना थियो ।
२. नेकपा फुटाउने अविश्वास प्रस्ताव
तत्कालिन एमाले र माओवादी मिलेर नेकपा पार्टी बन्यो । सुरुमा चुनावमा गठबन्धन बनाएका उनीहरुले पछि गएर पार्टी एकता गरे । चुनावमा झण्डै दुई तिहाई शक्ति आर्जन गरे । तर सर्वोच्चको फागुन २३ गतेको फैसलाले नेकपा खारेज भयो । एमाले र माओवादी ब्युतियो ।
यसरी नेकपा फुटाउने खेल कर्णालीबाट सुरु भएको थियो । असोज २५ गते कर्णाली प्रदेश सरकारविरुद्ध एमाले नेता यामलाल कँडेलले १८ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि अरु प्रदेशमा पनि अविश्वास प्रस्ताव दर्ता गर्ने होडबाजी चल्यो । तर कर्णालीमा त्यतिबेला दर्ता भएको अविश्वास प्रस्ताव त्यत्तिकै ढिसमिस भयो ।
त्यतिबेला माओवादी र माधव समूह मिलेर कर्णाली प्रदेश सरकार जोगिएको थियो । कर्णालीबाट सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको अविश्वास अन्ततः विभाजनमा गएर टुंगियो । अहिले एमालेले महेन्द शाही नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । केही दिनमा शाही सरकारले विश्वासको मत लिन नसके कर्णाली प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको छ ।
३. हुम्लामा चिनियाँ सेनाको हस्तक्षेप
नेपाल मात्रै होइन, छिमेकी चीनलाई समेत डिस्टर्ब गर्ने खबर हुम्लाबाट आयो । यो माघ पुस माघको कुरा हो । हुम्लामा चिनियाँ सेनाले नेपाली भूमिमा आफ्नो किल्ला बनाउँदै गरेको समाचार आयो । जसले धेरैको ध्यान खिच्यो । निकै पहिलेदेखि नै चीनले आफ्नै दाबी गरिएको भूमिमा भवन लगायतका सरचना बनाइरहेको थियो ।
जसको सूचना कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जीवन शाहीलाई पुग्यो । लगत्तै उनले प्रदेशसभामा कुरा उठाए । पत्रिकामा समाचार आयो । त्यसले चर्चा पायो । समाचार कर्णालीको थियो । तर नेपाल र चीन सरकारको ध्यानाकर्षण गरायो ।
लगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन भयो । त्यो भूमि चीनकै भएको दाबी गरियो । तर कांग्रेस नेता शाहीले भने चिनको हस्तक्षेप भनिरहे । तर यो मुद्दा धेरै अगाडि बढेन् ।
४. दैलेखमा दलित भेला
कर्णालीमा यस वर्ष भएको अर्को महत्वपूर्ण कार्यक्रम हो, दैलेखमा दलित भेला । दलितको सबैभन्दा धेरै बाहुल्यता रहेको र वर्षेनी कुटी कुटी कर्णालीमा दलितको हत्या भएको विरोधमा दैलेखमा दलित भेला भएको थियो ।
कांग्रेस युवा नेता तथा पत्रकार खगेन्द्र सुनारको नेतृत्वमा दैलेखमा दलित भेला भएको थियो । जसले विभेद अन्त्यका लागि देशभर आन्दोलनको आगो बाल्ने उद्घोष गरेको थियो । अहिले भने चर्चा चलिहेको छ । यो ठूलो र ऐतिहासिक भेला हो ।
कर्णालीमा सेते दमाई, मनवीर सुनार, मना सार्कीदेखि नवराज विकको हत्या हुँदा समेत दलितहरु एक जुट भएर ठूलो आवाज निकाल्न नसकेको भन्दै दैलेखमा आन्दोलनको ज्वारभाटा उठेको थियो ।
५. रुकुममा प्रचण्ड, सुर्खेतमा नेताहरु
लामो समयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुकुम पुगे । यो वर्षको अन्तिमतिर प्रचण्ड जनार्दनको शाख जोगाउन रुकुम पुगे । वर्षको सुरुमा सोती हत्या काण्डले उदांगिएको जनार्दनको छवि त्यसपछि गिर्दै गएको थियो । अन्तिममा जनार्दनले रुकुममा गएर भव्य कार्यक्रम गरे । प्रचण्डलाई साथमै राखेर मञ्चमा कार्यकर्ता उतारे ।
यति मात्रै होइन, सुर्खेतमा विभिन्न समयमा नेताहरु पुगे । प्रचण्ड पनि पुगे । उनीहरुले भाषण गरे । राष्ट्रिय राजनीतिमा उनीहरुको समाचार बनिरह्यो । यसले पनि कर्णाली नेपालभर चर्चा भइरह्यो । आखिर कर्णालीकै कारण नेकपा फुट्यो ।
जहाँबाट नेपाली राजनीतिमा अस्थिरता सुरु भयो । सत्ताको चलखेल भयो । जनतामा निराशा थप्यो । २०५१ सालपछि कम्युनिष्ट सरकारले संसद विघटन गरिदियो । जनता सडकमा आन्दोलन गर्नुपर्यो । जसको केही हिस्सा कर्णालीमा पनि रह्यो ।