२, बैशाख सिमकोट : समाजमा जति पनि हुने मानव अधिकार उलंङ्घनका घटनाहरु बाहिर ल्याउन सरोकारवाला निकायले आग्रह गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश जुम्ला कार्यालयबाट स्थलगत रुपमा हुम्ला आएको टोलीले मानव अधिकारको अबस्थाका बारेमा सुझाव संकलन गर्ने क्रममा हुम्लामा मानव अधिकार उलंङ्घनका घटना बाहिर ल्याउन आग्रह गरेको हो ।
सभ्य समाज निर्माणका लागि चेतनशील वर्गले गाउँ बस्तीमा हुने कुनै पनि प्रकारका मानव अधिकार उलंङ्घनका घटनाहरु बाहिर ल्याउनु पर्ने हुम्लाका जिल्ला न्यायधीश जगत बहादुर पौडेलले बताए । उनले भने, “ मानव अधिकार हनन ठुलाबाट हुने भएको कारण न्यायलयलाई घचघच्याई रहे त्यसको संरक्षणका लागि लाग्ने, घटनाका बारेमा जानकारी नभए पछि पीडितलाई न्याय दिन नसकिने अवस्था सिर्जना हुन्छ ।”
कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले प्रत्येक कुरामा मानव अधिकार जोडिने भएको कारण त्यसको न्यूनीकरण गर्न घट्ने घटना अधिकारकर्मीले बाहिर ल्याउनु पर्ने बताए । बाहिर ल्याउन सके पिडितलाई न्याय दिलाउन सहज हुने र त्यस्ता घटना पून दोहोरिने संभावना कम हुने बताउदै अध्यक्ष रावलले मानिसको लागि प्रत्येक कुरामा मानव अधिकार जोडिने बताए ।
जिल्लामा बढी शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, शुद्ध खानेपानी लगाएका बिषयमा मानव अधिकार जोडिएको र यसमा उलंङ्घन भएका कुरा बाहिर ल्याउन अधिकारकर्र्मीलाई आयोगको जुम्ला कार्यालयका प्रमुख बुद्ध नारायण सहनीले बताए ।
समाजमा मानब अधिकार उलंङ्घनका घटना धेरै हुने गरेका भएपनि ती सबै बाहिर आउन नपाएको र त्यसमा लाग्न संचारकर्मीलाई उनले आग्रह गरे । छाउपढी, जातिय छुवाछुत, जारी, बालबिबाह, बहुबिबाह, नेलु प्रथा, बहुपति प्रथा, बोक्सी लगाएतका प्रथा अहिले पनि कायम रहेको कारण ती घटना बाहिर ल्याउन आबश्यक रहेको सहभागीले सुझाव दिनु भएको थियो ।