२ बैशाख, खलंगा : जुम्लाको तातोपानी गाउँपालिका – ७ ताम्ती स्थित जनजागृति विद्यालयका छात्र छात्राहरू भाइरल ज्वरोले ग्रस्त भएका छन् । ताम्तीका करिब १ सय ४५ जना विद्यार्थीमा भाइरल ज्वरोको समस्या देखिएको छ ।
यति बेला देशभर बढेको वायु प्रदूषण, धुलो धुवाका कारणले गर्दा जुम्लाका बालबालिका, ज्येष्ठ नागरिकहरूमा ज्वरो आउने, टाउको दुख्ने, आँखा पोल्ने समस्या देखिएको छ । ताम्तीका विद्यार्थीहरू एकाएक बिरामी पर्न थालेपछि जनस्वास्थ्य कार्यालयको टोली चैत ३१ गते ताम्ती पुगेको थियो ।
जनजागृति माविका करिब ४ सय विद्यार्थी मध्ये स्वास्थ्य जाँच गरिएका १ सय ४५ जनामा विद्यार्थीमा रुघाखोकी, र भाइरल ज्वरोको समस्या देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम बहादुर सुमइले बताए । “एकपछि अर्को गर्दै सबैमा ज्वरो फैलिएको देखिएको छ । कोरोना संक्रमण पनि बढेकोले एक साता विद्यालय बन्द गर्न सुझाव दिएका छौ ।” उनले भने ।
अहिले देशभर फैलिएको प्रदूषण, धुवा धुलोका कारण आँखा पोल्ने, भाइरल ज्वरो, रुघाखोकी, पेट दुख्ने समस्या बढी हुने भएकोले सचेत रहन आग्रह गरिएको सूचना अधिकारी तथा स्वास्थ्य निरीक्षक सुमइले जानकारी दिए । चैत अन्तिम साता परीक्षा दिने क्रममा कक्षा ९ का एक जना विद्यार्थी बिरामी भएको जनजागृति माविका प्रधानाध्यापक जनक रावतले बताए ।
विद्यालयका १९ जना छात्रछात्रालाई गम्भीर असर भएको थियो । तर स्वास्थ्यको टोली जाँच गर्दा १ सय ४५ जनामा भाइरल ज्वरोको समस्या देखियो । अहिले परीक्षा पनि सकिएको र विद्यार्थी बिरामी पनि भएकोले विद्यालय एक साता सम्म बन्द गरेका छौ, उनले थपे ।
१९ जना विद्यार्थी क्रमशः बिरामी हुन थालेपछि विद्यालयबाट स्वास्थ्य जाँचका लागि सबै विद्यार्थीलाई स्वास्थ्य चौकी पठाइएको थियो । स्वास्थ्य चौकीमा जिल्लाबाट गएको टोलीले जाँच गर्दा करिब १ सय ४५ विद्यार्थीमा सामान्य भाइरल ज्वरोको समस्या देखिएको छ । चेकजाँच तथा औषधी उपचार पश्चात् अवस्था सामान्य भए पनि ताम्ती गाउँ त्रसित भएको वडाध्यक्ष मक्कर बहादुर रावतले बताए ।
एक सातापछि विद्यालय खुले पनि भाइरल ज्वरोले प्रभावित विद्यार्थीमा पूर्ण सुधार नआए विद्यालय प्रवेशमा रोक लगाइने भएको छ । गाउँ नै त्रसित भएको अवस्थामा लापरबाही भन्दा सजगता अपनाउन आवश्यक रहेको वडाध्यक्ष रावतको भनाई छ । लामो समय खडेरी पर्दा गाउँ गाउँमा स्वास्थ्य समस्या देखिन थालेको तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरु प्रसाल चौलागाईले बताए । ताम्तीको अवस्थामा केही सुधार भए पनि छिमेकी गाउँहरूमा पनि यस्तै समस्या देखा पर्न थालेको जानकारी आएको छ ।
उनले कोरोनाबाट त्रसित स्थानीय वायु प्रदूषणका कारण बढी रहेको भाइरल ज्वरोका कारण ताम्ती गाउँ नै सशङ्कित भएको उल्लेख गरे । पानी नपरेर वातावरण प्रदूषण भएको र धुलो धुवाँले समस्या निम्त्याएकोले गर्दा महिला बालबालिका तथा ज्येष्ठ नागरिकलाई सचेत रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । रेडियो नेपालबाट