३ बैशाख, काठमाडौँ : नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता तथा प्रदेश सांसद जीवन शाहीले एमाले र माओवादी दुवैलाई कांग्रेसले समर्थन नगर्ने बताएका छन् । शुक्रबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्र शाहीले विश्वासको मत लिँदा आफूले समर्थन गर्न नसक्ने कांग्रेस सांसद शाहीले बताएका हुन् ।
कर्णाली खबरसँग कुरा गर्दै नेता शाहीले आफूलाई आकर्षक प्रस्ताव एमालेले नगरेको र माओवादीलाई साथ दिँदा पनि सरकार जोगिने सम्भावना नरहेकाले तटस्थ बस्नुको विकल्प नभएको उनको भनाई छ ।
‘हामीलाई जनताले तेस्रो पार्टी बनाएर पठाएपछि हामी तेस्रो हुनुको विकल्प छैन’ उनले कर्णाली खबरसँगको टेलिफोन कुराकानीमा भने, ‘कम सिट भएकाले आफूले सरकार बनाउने र अको पार्टीको सरकारमा जाँदा पनि सम्मानजनक अवस्था नहुने भएकाले तेस्रो पार्टी भएर प्रतिपक्षमा बस्छौँ ।’
उनले दुवै पार्टीबाट सहयोगका लागि आग्रह आएको पनि बताए । तर दुवैले कोरा शब्दमा सहयोग मागेपनि के कसरी सरकार चलाउने र भागबण्डा गर्ने भन्ने विषयमा आफूसँग ठोस प्रस्ताव नआएको उनको भनाई छ ।
कर्णाली प्रदेशसभा बैठकमा शुक्रबार मुख्यमन्त्री महेन्द्र शाहीले विश्वासको मत लिँदैछन् । तर अल्पमतमा रहेका उनी अरु पार्टीका सांसदले साथ नदिने भएपछि उनको सरकार ढल्ने निश्चित जस्तै छ । माओवादी केन्द्रसँग १२ जना मात्रै सांसद छन् ।
सरकार टिकाउन कम्तीमा २० जना सांसद आवश्यक पर्छ । प्रतिपक्षमा रहेका कांग्रेस र राप्रपा जो्दा पनि १९ सांसद मात्रै पुग्ने भएपछि माओवादी सरकार ढल्ने निश्चित भएको हो । एमालेसँग भने २० सांसदको बहुमत छ ।
तर उसले माओवादीलाई दिएको समर्थन फिर्ता लिनुका साथै आफ्ना मन्त्रीलाई पदबाट राजीनामा दिन लगाएर आफ्नै नेतृत्वमा सरकार बनाउन लागि परेको छ । यस्तो अवस्थामा उसलाई राप्रपाको एक सिट भए पुग्छ ।
राप्रपालाई एक मन्त्री पद दिएर एमाले सरकार बनाउने तयारीमा छ । मुख्यमन्त्रीका लागि यामलाल कँडेल र प्रकाश ज्वालाको दाबी छ ।
काठमाडौँ बसाई निरर्थक
मुख्यमन्त्री शाहीले कांग्रेससँग सहकार्य गर्ने र सत्ता टिकाउनेबारेमा कांग्रेस सांसद जीवन शाहीसँग छलफल गरेका थिए । केन्द्रमा कांग्रेस र माओवादी मिल्ने प्रयास भइरहेको छ । कांग्रेसकै नेतृत्वमा सरकारमा जाने सहमति पनि छ ।
त्यही अनुसार प्रदेशमा गण्डकी र लूम्बिनीमा एमाले सरकार ढालेर कांग्रेस र माओवादीको सरकार बनाउने सहमतिअनुसार प्रक्रिया अगाडि बढेको छ । तर कर्णालीमा दुई पार्टी मिल्दा पनि बहुमत नपुग्ने भएपछि शाही निराश भएर सुर्खेत फर्केका छन् ।
‘नेताहरुसँग छलफल तथा परामर्श भएको हो’ उनले भने, ‘तर माओवादीसँग मिल्दा बहुमत नपुग्ने भएपछि थप छलफल गर्नुको औचित्य भएन । त्यसैले अरु प्रदेशमा जस्तो समीकरण कर्णालीमा बन्दैन् ।’
उनले एमालेको नेतृत्वमा कर्णालीमा नयाँ सरकार बन्ने सम्भावना प्रवल रहेको पनि बताए ।