काठमाडौ । घाटगाउँकै पहिलो सरस्वती माध्यामिक विदालयमा झण्डै तीन दशक अध्यापन गराएका गणित तथा विज्ञान शिक्षक बालकृष्ण यादवको बिदाई गरिएको छ । विद्यालयका पूर्व प्रधनाध्यापक समेत रहेका यादवको गएको शुक्रबार स्कुलमै एक कार्यक्रम आयोजना गरी बिदाई गरिएको हो ।
यादवले निम्न माध्यामिक तहमा गणित तथा विज्ञान विषय अध्यापन गराँउथे । विद्यालयमा लामो समय अध्यापन गराएका उनको बिदाई कार्यक्रममा चौकुने गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष नवराज आचार्य, शिक्षक भरत रावल, अमृता रावल, नवराज भण्डारी, विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष गंगाराम विक र हरि खनालको समेत उपस्थिती थियो ।
बिदाई कार्यक्रममा केही भावुक भएका शिक्षक यादवले आफूले सधै सरस्वती माध्यामिक विद्यालयलाई सम्झिने बताए । आफूले पढाएका विद्यार्थी नेता, पत्रकार, इन्जिनियर, प्रहरी लगायत पेशामा पुगेको भन्दै उनले आगामी दिनमा विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर पठनपाठन गराउनुपर्नेमा जोड दिए ।
आफ्नै जिल्ला सप्तरीमा सरुवा भएर गएका यादव सरस्वती माविमा लामो समय टिकेर प्रभावकारी पठनपाठन गराउने शिक्षकमा चिनिन्छन । उनले एक समय ९ र १० कक्षाका विद्यार्थीलाई समेत पठनपाठन गराएका थिए ।
प्रधानाध्यापक भएका बेला समेत उनले विद्यालयमा विद्यार्थीलाई अनुशासनमा राख्ने, व्यवस्थापनको कामलाई चुस्त राख्ने र सबै शिक्षकलाई मिलाएर पठनपाठनलाई प्रभावकारी बनाउन भूमिका खेलेका थिए ।
तस्बिर : कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीका स्वकीय सचिव गंगाराम विकको फेसबुकबाट