काठमाडौ । नेपाल आजदेखि औपचारिक पूर्णरुपमा बन्द अर्थात 'लकडाउन' भएको छ । सोमबार बेलूकी बसेको कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले एक हप्ताका लागि देश लकडाउन गर्ने निर्णय गरेको हो । मंगलबार बिहान ६ बजेदेखि शुरु भएको लकडाउन आउँदो सोमबारसम्म हुनेछ । यदि यसबीचमा पनि जोखिम न्युन नभएमा सरकारले लकडाउन अवधि बढाउन सक्नेछ ।
लकडाउन भइसकेपछि कोही पनि व्यक्ति घरबाहिर निस्कन पाउने छैनन । यदि घरबाहिर निस्केमा प्रहरी, सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीले समातेर सम्झाई बुझाई गर्नेछन । नमानेको खण्डमा प्रहरीले कारबाही पनि गर्न सक्छ ।
पछिल्लो पटक फ्रान्सबाट आएकी एक युवतीमा कोरोना पुष्टि भएपछि जोखिम न्युनिकरण गर्न सरकारले देश लकडाउन गर्ने निर्णय गरेको हो । चीनको वुहानबाट फैलिएको कोरोना रोकथामको सबैभन्दा उत्कृष्ट विकल्प भनेकै लकडाउन हो । चीनले वुहान राज्यमा कोरोना देखिएपछि लकडाउन गरेरै क्षति घटाएको हो ।
लकडाउनको अवस्था समयमै सिर्जना नगर्दा आज इटाली, स्पेन लगायतका देशले ठूलो क्षति व्यहोरिरहेका छन । त्यो क्षति कम गर्न र बेलैमा संक्रमणबाट जोगाउन नेपाल सरकारले पनि देश लकडाउन गर्नु सुखद पक्ष मानिएको विश्लेषण हुन थालेको छ ।
लकडाउन के हो ?
लक अर्थात बन्द, डाउन भनेको पूर्ण रुपमा बन्देज भन्ने अर्थ लाग्छ । ढोका बन्द मात्रै नभई ताला लगाएर हिड्नु जस्तै देश अब पूर्ण रुपमा बन्द भएको छ । बाहिरबाट आउने जाने काम स्वतः बन्द हुनेछ भने घरबाहिर समेत निस्कन प्रतिबन्ध छ । यो सरकारका लागि नभई स्वंयम नागरिकका लागि हो ।
यस्तो बेलामा शहरमा मात्रै होइन, गाउँमा समेत स्थानीय प्रशासनले जारी गरेको निर्देशन मान्नुपर्छ । शहरमा नेपाल प्रहरी र आवश्यक परेको खण्डमा सेना पनि सडकमा आउनेछ भने गाउँमा प्रहरीले लकडाउन कार्यान्वयन गराउनेछन ।
अहिले शहरजत्तिकै गाउँमा पनि जोखिम बढेको छ । शहरका मान्छे बिना जाँच गाउँ पुगेका छन भने भारत लगायतका देशबाट फर्किएका नेपाली पनि कुनै जाँच र क्वारेन्टाइनमा नबसी गाउँ फर्किएकाले जोखिम बढेको हो ।
त्यसमा पनि कोरोना जाँच्ने किट गाउँका अस्पतालमा नहुँदा यतिबेला गाउँमा बसेका मानिसहरु बढी जोखिममा छन र उनीहरु घरबाहिर निस्कनु झन ठूलो क्षति व्यहोर्नु बराबर हो । त्यसैले शहरसँगै गाउँका मानिसहरुमा पनि सचेतना फैलाउन जरुरी छ ।
कतिसम्म क्षति हुन सक्छ ?
भारतमा समेत कोरोनाका बिरामी देखिएपछि नेपालमा लकडाउन गर्नुपर्ने आवाज उठेको थियो । चीनको वुहानमा ३ हजार २ सय मानिसले ज्यान गुमाउँदा अर्को राज्यमा फैलिन पाएन । यसको एउटै अचुक उपाय लकडाउन थियो ।
अरु देशले जस्तै त्यो समयमा नेपालले पनि वुहानमा रहेका १ सय ७५ जना विद्यार्थीलाई नेपाल एयरलायन्सको जहाज चार्टड गरेर स्वदेश ल्याई भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा राखेको थियो । ती नेपाली कसैलाई पनि कोरोना संक्रमण थिएन ।
त्यसबेला चीनको कदमलाई सामान्य ठान्ने इटाली, अमेरिका, बेलायत र स्पेनले आज ठूलो मूल्य चुकाइरहेका छन । लकडाउन नगरीकनै बिरामीको उपचार थाल्दा आज इटालीमा पाँच हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन । पछिल्लो समय भारतमा पनि यो जोखिम आकलन गरिएको छ । जहाँ भारतीयसँगै लाखौ नेपाली पनि जोखिममा छन ।
यो अवस्था आउन नदिन भारतले पनि लकडाउन शुरु गरेको छ । यही मौकामा नेपालले पनि लकडाउन प्रक्रियालाई पूर्ण रुपमा कार्यान्वयन गरेको हो । अब कसैमा कोरोनाको लक्षण र संकेत देखिएमा तुरुन्तै पूर्ण सुरक्षासहितको डाक्टरको टोली बोलाएर आफूलाई जाँच वा उपचार गराए सुरक्षित रुपमा सन्चो हुन सकिन्छ । र अरुलाई सर्न पाउँदैन ।
आफू कसरी बच्ने ?
अहिले कोरोना विश्वकै महामारीका रुपमा फैलिसकेको छ । यो विवरण तयार पार्दासम्म विश्वमा अहिलेसम्म १६ हजार ४ सय ९७ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ७८ हजार मानिस संक्रमित छन । जसमध्ये इटालीमा सबैभन्दा धेरै ६ हजार मानिसको ज्यान गएको छ भने पछिल्लो समय स्पेनमा मृत्यु हुनेको संख्या २ हजार ३ सय ११ पुगेको छ ।
अमेरिकामा पनि अहिलेसम्म ५ सय ४७ जनाले ज्यान गुमाउँदा जर्मनीमा १ सय २३ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा इटालीमा ६ सय बढीले ज्यान गुमाउँदा स्पेनमा ५ सय बढीले मृत्युवरण गर्नुपरेको छ ।
यस्तो अवस्थामा मलाई कोरोना लागेको छैन, मलाई केही हुदैन, नेपालमा आउदैन जस्ता हलुका बुझाईले यसबाट बच्न मुश्किल छ । यस्तो बेला आफूलाई घरभित्रै राखेर, पूर्ण रुपमा सुरक्षित बनेर, घरबाहिर कही कतै ननिस्केर आफूलाई सुरक्षित राख्नु पहिलो दायित्व हो ।
कोरोना यस्तो भाइरस हो, जुन शरीरमा पसेको देखिदैन । अनि यसले असर गर्न थालेको पनि शुरुवाती रुपमा थाहा हुदैन । जब असर देखिन थाल्छ, मुटु, फोक्सो र श्वासप्रश्वासमा ठूलो क्षति गरेर मान्छेलाई मृत्यु नजिक पुर्याउँछ ।
कतिबेला अस्पताल पुग्ने ?
रुघाखोकी लाग्नु, छाती पोल्नु, चिन्ता थपिनु यसका लक्षण होइनन । जब एकहोरो सुख्खा खोकी लाग्छ । थकाई बढ्दै जान्छ । ज्वरो निकै धेरै अर्थात १ सय ४ डिगी्रभन्दा माथि पुग्छ र अत्याधिक टाउको दुख्न थाल्छ भने कोरोनाको लक्षण हो भनेर चिन्नुस ।
सबैमा यो लक्षण नदेखिन सक्छ । कोरोना भाइरस शरीरमा पसिसक्दा पनि शुरुमा यो लक्षण नदेखिन सक्छ । तर जब देखिन थाल्छ त्यसबेला यसले तिब्र रुपमा मानिसलाई मृत्यु नजिक लैजान्छ । त्यसैले कोरोनाको लक्षण देखिने वित्तिकै अस्पताल पुग्ने वा जाँच गर्नु उत्तम हुन्छ ।
विश्व स्वास्थ्य संगठनले युवाहरुलाई समेत कोरोनाको उच्च जोखिममा राखेको छ । तर यसको सबैभन्दा ठूलो जोखिममा बृद्ध आमाबुवा, हजुरबुवा र हजुरआमा छन । जो पहिलेदेखि बिरामी छन । उनीहरुलाई झन छिटो यसले असर गर्छ । त्यसैले कोरोनाको सामान्य लक्षण देखिनेवित्तिकै नजिकको स्वास्थ्य संस्थामा जचाउँनु लैजानु उत्तम मानिन्छ ।