नयाँ बानेश्वर । कोरोना जोखिमलाई न्युनिकरण गर्न सरकारले लकडाउन गरेपछि काठमाडौँ उपत्यका सुनसान बनेको छ । एक हप्ताका लागि सरकारले लकडाउन गर्ने निर्णय गरेलगत्तै धेरैजसोले उपत्यका छाडिसकेका छन भने केही घरभित्रै सुरक्षित बस्न थालेका छन ।
लकडाउन शुरु भएपछि घर बाहिर निस्कन पूर्ण बन्देज लगाइएको छ भने सडकमा ट्राफिक प्रहरी मात्रै छन । प्रहरीले निजी कार तथा मोटरसाइकललाई जाँच गरी सोधपुछ गरिरहेका छन । केही पत्रकार पनि लकडाउनको अवस्था बुझ्न सडकमा निस्किएका छन ।
केही प्रहरी, पत्रकार, दुध तथा पानी बोक्ने गाडीबाहेक सडकमा अरु सुनसानप्राय छ । प्राय दशैँका बेलामा सुनसान बन्ने काठमाडाँै अहिले कोरोनाको संक्रमण देखिन थालेपछि सुनसान छ । दशैँमा बढीमा तीन दिन मात्रै सुनसान बन्ने काठमाडौँ यसपाली एक साता सुनसान बन्ने भएकाले धेरैले सोमबार नै खाद्यान्नको जोहो गर्न थालेका छन ।
काठमाडौँ उपत्यकासँगै मुख्य शहर धरान, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी पनि सुनसान छन । यसबीचमा धेरै गुल्मी, कैलाली र कञ्चनपुरले कर्फ्यु नै घोषणा गरेका छन ।
शहरबजार सुनसान भएपनि गाउँघरमा भने त्रास बढेको छ । गाउँघरमा विदेश र शहरबाट आएका मानिसहरु भएकाले बाहिर भन्न नसकेपछि मनमा त्रास बोकेर बस्न बाध्य भएका प्रतिक्रिया आउन थालेका छन । अब के हुने हो र ? कहिलेसम्म यसरी बस्नुपर्ने हो भन्ने ? चिन्ताले पनि शहरभन्दा बढी गाउँघर चिन्तित देखिन्छ ।