६ बैशाख, सिमकोेट : हुम्ला जिल्ला भित्रका क्रियाशिल रहेका पत्रकारहरुलाई व्यवसायिक पत्रकारितामा लाग्न सरोकारवाला पक्षले सुझाव दिएका छन् । पत्रकार महासंघ हुम्ला शाखाको आयोजनामा नवनिर्वाचित कार्य समितिलाई शुभकामना दिदैँं सरोकारवालाहरुले उक्त सुझाव दिएका हुन ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले पत्रकारले सत्य तथ्य र निष्पक्ष रुपमा पत्रकारिता गरेमा जिल्लाको बिकासका लागि योगदान पुग्ने बताए । उनले भने, “उनले विकास निर्माण भएका र हुन सक्ने अनियमितता र भ्रष्टाचारका कुराहरु बाहिर ल्याएर समग्र जिल्लाको बिकासमा योगदान पुग्ने छ ।”
निष्पक्ष रुपमा समाजमा हुने गरेका घटनाहरु बाहिर ल्याउन सक्ने गरि संचारकर्मीको कलम चल्नु पर्ने खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए । जिल्लाको पत्रकारिता क्षेत्रलाई व्यवसायिक रुपमा अगाढि बढाउन सके आफ्नो तर्फबाट सधै पत्रकारलाई सहयोग गर्न हाजिर रहेको उनको दाबी छ ।
यस्तै हुम्ला जिल्ला न्यायधीस जगत बहादुर पौडेलले सत्य सुचनालाई सम्प्रेषण गर्न आग्रह गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जनताका पक्षमा कलम चलाउन पत्रकारहरुलाई सुझाव दिएका थिए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजन रावत, राजनीति पार्टीका तर्फबाट जसपाका केन्द्रीय सदस्य विरजंग शाही, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य नवराज महताराले पत्रकारका पक्षमा भनाइ राखेका थिए ।
हुम्ला शाखाबाट महतारा सम्मानित
कर्णालीको दुर्गम जिल्ला हुम्ला । उक्त जिल्लामा पत्रकारिता गर्न निकै कठिन छ । त्यहि जिल्लामा लामो समयदेखि पत्रकारिता गर्दै आएका हाल न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य नबराज महतारालाई पत्रकार महासंघ हुम्ला शाखाले सम्मान गरेको छ । उनको कामको कदर गर्दै हुम्ला शाखाबाट सम्मान गरिएको पत्रकार महासंघका अध्यक्ष राजन रावतले बताए ।
उपचाररत निवर्तमान अध्यक्षलाई २५ हजार सहयोग
हुम्ला शाखाका निवर्तमान अध्यक्ष अर्जुन बोहरा विरामीका कारण उपचाररत छन । उनलाई पत्रकार महासंघ जापान शाखाबाट आर्थिक सहयोग प्राप्त भएको छ । गएको २०७६ सालको विरामी भएका पत्रकार बोहराको उपचारको लागि जापान शाखाबाट २५ हजार रकम आर्थिक सहयोग भएको हो । उक्त रकम न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य महताराले बोहरालाई प्रदान गरेका थिए ।