काठमाडौँ : एमाले सांसदले फ्लोर क्रस गरेर जोगाएको कर्णाली प्रदेश सरकार पुनर्गठन भइरहेको छ । फ्लोर क्रस गरेका एमाले तीन जना सांसदलाई मुख्यमन्त्री महेन्द्र शाहीले मन्त्रीमा नियुक्त गरिसकेका छन् ।
नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मरबहादुर थापा मन्त्रीमा नियुक्त भइसकेका छन् । एमाले कोटाबाट लगभग पूरा भइसकेको मन्त्रीमण्डल अब कांग्रेस र माओवादी कोटाबाट भरिन बाँकी छ । एमालेबाट सांसद पद खारेज भएर पनि सरकारका लागि अमूल्य सहयोग गरेका सांसदहरुलाई मुख्यमन्त्री शाहीले पहिलो मन्त्री पद उपहार दिएका छन् ।
यसले थोरै भएपनि अब बन्ने मन्त्रीमण्डलको मोटामोटी खाका बनिसकेको छ । अब कांग्रेसबाट एक जना र माओवादीबाट दुई जना मन्त्री नियुक्त भएपछि ६ महिनाका लागि मुख्यमन्त्रीको नयाँ क्याबिनेटको टुंगो लााग्नेछ ।
माओवादीका दई मन्त्री फिर्ता हुँदै
भाग्यले चमत्कार भएर जोगिएको कर्णाली प्रदेश सरकार विशुद्ध यतिबेला नयाँ हुँदैछ । मुख्यमन्त्री बाहेक ६ जना पुरै मन्त्रीको सेट नै परिवर्तन हुँदैछ । एमालेबाट नन्दबहादुर सिंहले बाजी मारेपनि बाँकी सबै नयाँ मन्त्री कर्णाली क्याबिनेटमा देखिदैछन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी पनि राजीनामा दिएर फर्किदैछन् । यस्तै आर्थिक मामिला मन्त्री विमला केसी पनि सरकारबाट फिर्ता हुँदैछिन् । उनी फिर्ता हुने भएर कृषि, सहकारी मन्त्रालय छाडेर अरु केही मन्त्रालयको कार्यवाहक जिम्मेवारीमा खटाइएकी हुन् ।
उनीहरु मन्त्री भएका बेला राम्रो काम नगरेको आरोप छ । खासगरी आफू निकटका कार्यकर्तालाई खुशी राखेपनि पार्टी नेतृत्व र कर्णालीका जनताका लागि दीर्घकालिन विकासमा ठूलो योगदान दिन नसकेको आरोप छ ।
यतिबेला पनि उनीहरुमाथि ठूलो भरोसा नभएर परिवर्तन गर्न खोजिएको हो । उनीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गरेर कार्यकर्ताको चित्त बुझाउनुका साथै कर्णाली क्याबिनेट समावेशी बनाउने अवसर पनि कर्णाली प्रदेश सरकारसामू छ ।
को बन्दैछन् थप तीन मन्त्री ?
यतिबेला नयाँ मन्त्रीमा माओवादीका दुई जना सांसद बन्ने पक्कापक्की छ । तर नाममा अहिले पनि सहमति भइसकेको छैन् । कांग्रेसबाट एक जना मन्त्री बन्ने निश्चित भएपनि नाममा सहमति जुटिसकेको छैन् ।
माओवादी केन्द्रबाट एक जना दलित सांसद मन्त्री बन्ने पक्का जस्तै छ । कर्णाली प्रदेशमा पछिल्लो समय भएका दलित श्रृङ्खलाबद्ध हत्याका घटनालाई मत्थर गर्न र उनीहरुका माग सम्बोधन गर्न एक जना दलित समूदायबाट मन्त्री बनाउने चर्चा छ ।
तर राजनीतिक रस्साकस्सी बढेका बेला त्यो सुरक्षित कोटा पूर्ण समावेश बन्छ ? भन्नेमा आशंका छ । एमाले र कांग्रेसबाट गैरदलित मन्त्री आएकाले माओवादीबाट दलित सांसद नै मन्त्री बन्ने चर्चा धेरै छ । यसको लागि सबैभन्दा शीर्ष सम्भावनामा माओवादीकी प्रमुख सचेत सीता नेपालीको नाम छ ।
कर्णाली प्रदेश सरकार जोगाउन अह्म भूमिका खेलेकी र मिडियामा समेत राम्रो प्रभाव बनाएकी नेपालीलाई मन्त्री नियुक्त गरेर कर्णाली प्रदेश सरकार ओजिलो बनाउने प्रयास मुख्यमन्त्री शाहीको छ । तर यसका लागि केन्द्रमा नेताहरुबीच सहमति जुट्न बाँकी छ ।
यस्तै मन्त्रीका लागि सुर्खेतका बिन्दमान बिष्टको नाम पनि चर्चामा छ । शक्ति बस्नेत पावर सेन्टरबाट बिष्ट मन्त्री बन्ने लाइनमा अगाडि देखिएका छन् । तर दुवै जना सुर्खेतकै भएकाले दुई जनामध्ये एक जना मन्त्री बन्नेछन् ।
त्यसमध्ये महिला र दलितबाट नेपालीको सम्भावना धेरै छ । अन्य जिल्लाबाट माओवादी एक सांसदलाई मन्त्री बनाउने तयारी छ । तर यो पनि केन्द्रकै नेताहरुबाट अनुमोदन हुन बाँकी छ ।
६ महिनापछि जीवन शाही मुख्यमन्त्री
माओवादी केन्द्रको सरकार जोगाउन मुख्य सहयोगी भूमिका खेलेका कांग्रेस ससदीय दलका नेता जीवन शाही ६ महिनापछि मुख्यमन्त्री बन्ने भएका छन् । आउँदो वर्षको बजेट ल्याएर मुख्यमन्त्री शाहीको सरकार परिवर्तन गरेर कांग्रेस नेतृत्वमा सरकार बनाउने भित्री सहमति छ ।
अति गोप्य भनिएको सहमतिमा ६ महिनापछि हुम्लाका सांसद शाही नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछन् । उनैले चुनावी सरकारको नेतृत्व गर्ने अनुमान छ । चुनाव गराउने नभएपनि चुनावको बेला उनले नै नेतृत्व गने सम्भावना बढेको छ ।
त्यतिबेलासम्म माओवादी, कांग्रेस र एमाले माधव समूहको सहमति कायम रहेमा उनले सरकारको नेतृत्व गर्नेछन् । सम्भावना भएका यामलाल कँडेललाई पन्छाएर शाही नयाँ मुख्यमन्त्री बन्नेछन् । तर यसका लागि कांग्रेस र माओवादी आफ्नो सहमतिमा इमान्दार बन्न आवश्यक छ ।
मुख्यमन्त्री शाहीको सरकार जोगाउन एमालेबाट फ्लोर क्रस गर्ने विद्रोहको नेतृत्व गर्ने प्रकाश ज्वालाको पनि मुख्यमन्त्रीमा दाबी छ । तर उनलाई एमालेले कारबाही गर्ने तयारी गरेका बेला सांसद नै नरहने भएपछि उनको सम्भावना कमजोर बनेको हो ।
तर उनले आफू मन्त्री नबनेपनि फ्लोर क्रस गर्ने तीन जनालाई मन्त्री बनाइसकेका छन् । यसले पनि मुख्यमन्त्री शाही, जीवन शाही र प्रकाश ज्वाला मिलेर कर्णालीमा राज गर्ने तयारीमा लागेका छन् ।