काठमाडौँ : चैत महिनामै नेकपा एमाले कर्णाली प्रदेशमा सत्ताका लागि घाइते बाघ जस्तै भएको थियो । माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले घाइते बाघका रुपमा प्रदेशसभामा प्रभुत्व जमाउँदै थियो ।
एमाले एक्लैको बहुमत पुग्ने भएपछि यामलाल कँडेल मुख्यमन्त्री बन्ने सपना पालेर बसिरहेका थिए । बैशाख ३ गतेको परिदृश्य यस्तै सम्भावनाबाट गुज्रिएको थियो । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री महेन्द्र शाहीलाई विश्वासको मत लिन आह्वान गदै थिए ।
अन्तिम समयसम्म पनि लड्ने र चमत्कार हुने आशामा मुख्यमन्त्री शाहीको राजनीति दाउ थियो । तर यो घटनाक्रम भइरहेका बेला एउटा नयाँ कुराको खुलासा भएको छ ।
बैशाख ३ गते विश्वासको मत लिँदा मुख्यमन्त्री शाही पदबाट राजीनामा दिने तयाीमा थिए । माओवादी र कांग्रेस मिल्दा पनि माओवादी शाहीको सरकार जोगिने सम्भावना थिएन् ।
विश्वसको मत लिँदै गर्दा मुख्यमन्त्री शाहीसँग राजीनामाको विकल्प थिएन । संसदमै विश्वासको मत लिन नसक्दा संसदीय इतिहाससमा कमजोर र आलोचित हुने डर मुख्यमन्त्री शाहीमा थियो ।
कांग्रेसले समर्थन दिने र एमाले सांसदले समेत फ्लोर क्रस गर्ने वचन नदिँदासम्म राजीनामा दिएर सजिलै कर्णालीमा आफ्नो बाटो तय गर्ने मुडमा देखिन्थे शाही । अन्तिम समय माओवादी केन्द्रका सांसदलाई पनि यही सम्भावनाबारे सर्कुलर थियो ।
विश्वासको मत लिने क्रममा भाषणकै क्रममा पदबाट राजीनामा दिने घोषणा मात्रै बाँकी थियो । लिखित रुपमा राजीनामा दिने अवस्था नरहेकाले मौखिक रुपमा पनि संसदमै राजीनामा घोषणा गरेर एमालेका अगाडि आफ्नो दललाई प्रतिपक्षमा सिमित गर्ने विकल्प मात्रै बाँकी थियो ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध विद्रोह गर्ने छनक एमाले सांसदले दिए । त्यसको नेतृत्व प्रकाश ज्वालाले नै गरे । मुख्यमन्त्री शाहीको सरकारमा अर्थमन्त्री भएर तीन वर्ष बिताएका उनले आफ्नो इमान्दार भमिका निर्वाह गर्ने संकेत गरे ।
एमाले माधव समूहको विद्रोहका साथै कांग्रेसले पनि मुख्यमन्त्री पाउने शर्तमा साथ दिने घोषणा गरिदियो । यसरी हार निश्चित भएको माओवादीभित्र अचानक जितको चमत्कार भयो । माधव समूहले विद्रोह गरेर फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकारलाई विश्वासको मत दियो ।
काग्रेसले आफ्नो ६ भोट दिएपछि माओवादीको १२ भोट सुरक्षित थियो । १८ सांसदमा चार जना थपिएपछि मुख्यमन्त्री शाहीले २२ सांसदको विश्वासमत पाए । तर २० सांसद भएको एमाले १६ सांसदमा खुम्चियो । जसले गर्दा सत्ता नजिक पुगेर पनि एमाले चिप्लियो । माओवादी र कांग्रेसले बाजी मारे ।