८ बैशाख, कर्णाली : हप्ता दिनदेखि कर्णालीका पाँच जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । वैशाख २ गते दैलेख र कालीकोट सिमाना महावुलेकमा रहेको नेपाल टेलीकमको रेडियो लिङ्कमा चट्याङले हानेपछि इन्टरनेट अवरुद्ध भएको हो ।
कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा इन्टरनेट सेवा नहुँदा सेवा लिने र दिने कार्यमा समस्यामा परेका छन । रेडियो लिङ्कमार्फत नेपाल टेलिकमले दिँदै आएको फोरजी सेवा र एडिएसएल सेवा अवरुद्ध भएपछि मुख्य गरी बैंक तथा वित्तिय संस्थाको सेवा प्रवाहमा समस्या भएको हो ।
मुगुका पाँच वाणिज्य बैंक र दर्जन बढी अन्य सहकारीले आफ्नो वित्तीय सेवा एडिएसएलमार्फत दिँदै आएका थिए । यो सेवा अवरुद्ध भएपछि अहिले ती सस्थालाई नगद भुक्तानी, जम्मा, ऋण लगानी, किस्ता जम्मालगायत कार्यमा समस्या भएको वाणिज्य बैंक मुगुुका प्रवन्धक हरिन्द्र बोहोराले बताए ।
राष्टिय वाणिज्य बैंक मुगु शाखाले नेपाल टेलिकमको एडिएसएलसहित मर्कनटाइलको कम्पनीको सेटेलाइट इन्टरनेट सेवा पनि राखेकोले बैंकमा आउने सेवाग्रहीले ढिलो भएपनि सेवा पाइरहेका छन् तर एनटिसी कै भरमा चलेका अन्य बैक तथा वित्तीय सस्थाले भने हप्ता दिनयताबाट आफ्ना सेवा दिन सकिरहेका छैनन् ।
टेलिकम मुगुका प्रमुख विशालकुमार देवकोटाले महावुमा बिग्रेको उपकरण मर्मत गर्न प्राविधिक टोली बुधबारै विहान हिडिसकेको बताए । उनले मौैसममा आएको परिवर्तनका कारण टोलीलाई महावुलेक चढन समस्या आएकाले सेवा अवरुद्घ लम्बिएपनि बिहिवारसम्म अवरुद्घ इन्टरनेट सेवा सञ्चालनमा आउनेछ भने । गएको चैत महिनाको १० गतेबाट पनि एक हप्तासम्म सो क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । रासस