९ बैशाख, काठमाडौं : लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान कायम गरेका हुन । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिएका थिए । उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन ।
हाल जारी त्रिदेशीय सिरिजमा उनले चार खेलमा ११ विकेट लिसकेका छन । नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा आजको खेलमा तीन विकेट लिएका हुन । लामिछानेले नेपालका लागि टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाएका छन ।
उनले २५ टी–२० खेलमा ४५ विकेट लिएका छन । यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो । उनले ३२ खेलमा ४१ विकेट लिएका छन । टी–२० मा लामिछानेले ७५ वटा टी–२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलेका छन । टी–२० अन्तरराष्ट्रिय खेलमा उनले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व–११ टोलीबाट खेलेका छन । सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी–२० अन्तरराष्ट्रिय खेलमा उनले डेब्यु गरेका छन । लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी हुनुहुन्छ ।
डेब्यु खेलमै कमलसिंह ऐरीको तीन विकेट
नेपालका कमलसिंह ऐरीले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको मलेसियाविरुद्धको खेलमा डेब्यु गर्दै २० वर्षीय ऐरीले तीन विकेट लिएका हुन ।
त्रिदेशीय सिरिजअन्तर्गत आजको खेलमा उनले तीन दशमलव एक ओभर बलिङ गर्दै १६ रन मात्र खर्चेका थिए । ऐरी अविनाश बोहराको स्थानमा टोलीमा समावेश भएका थिए । उनले आफ्नो दोस्रो ओभरमा मलेसियामा शार्भिन मुनिएन्डीलाई तथा वीरनदीप सिंहलाई पेभेलियन फर्काए भने तेस्रो ओभरको पहिलो बलमा मोहम्मद वाकिफलाई कुशल मल्लद्वारा क्याचआउट गराएका थिए । महेन्द्रनगर घर भएका ऐरीले गत वर्ष नेपालमै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन । उक्त खेलमा उनी विकेटविहीन रहे ।
करण केसी विश्व रेकर्ड बनाउनबाट चुके
यहाँ जारी त्रिदेशीय टी–२० सिरिजमा नेपाली बलर करण केसी विश्व रेकर्ड बनाउनबाट चुकेका छन । मलेसियाविरुद्धको खेलमा उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । आठौँ नम्बरमा ब्याटिङका लागि मैदानमा प्रवेश गरेका केसीले १३ बलमा ४५ रन बनाए । यस क्रममा उनले सात छक्का हानेका थिए । केसीले ११ बलमा ४४ रन बनाएका थिए । उनले १२औँ बलमा छक्का प्रहार गर्न सकेको भए सबैभन्दा छिटो अद्र्धशतकको विश्व रेकर्ड बराबरी हुन्थ्यो । तर केसीले १२औँ बलमा एक रन मात्र बनाउन सकेनन् । अनि विश्व कीर्तिमान बनाउनबाट वञ्चित रहेका हुन । हाल १२ बलमा अद्र्धशतक प्रहार गर्ने विश्व कीर्तिमान भारतीय क्रिकेट खेलाडी युवराज सिंहको नाममा छ ।