१० बैशाख, काठमाडौँ : कर्णालीमा के भयो सबैलाई थाहा छ । त्यसको झण्डै एक हप्तापछि काठमाडौँमा जे भयो, त्यसले अहिले नेपाली राजनीतिमा तरंग ल्याएको छ । सोमबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भयो ।
यो भेट सायद नेपाली राजनीतिकर्मीले यति सौहार्द रुपमा होला ? त्यो पनि यत्ति चाँडै ? कमैले सोचेका थिए । तर भयो । त्यसैले त राजनीतिक सम्भावनाको खेल हो भनिन्छ । सँगै राजनीतिमा असम्भव केही पनि हुँदैन् । त्यो भन्दा बढी राजनीतिमा स्थायी दुष्मन कहिल्यै हुँदैन् ।
जसले स्थायी दुष्मनी लियो, त्यसको राजनीतिक भविष्य सकियो । अहिले ओली र माधव नेपालबीचको भेटवार्ताले यस्तै मोड लिएको छ । हिजो एक समय एक अर्कालाई कारबाही गर्नमा यी दुई नेताले सबै भन्दा बढी समय खर्चेका थिए । नेकपामा हुँदा माधव नेपालले ओलीलाई कारबाही गरे । नेकपा खारेज गरेपछि पहिले माधव नेपाललाई कारबाही गरेर एमाले अध्यक्ष ओलीले बदला लिए ।
तर अहिले परिस्थिती फरक छ । दुवै जना त्यो तितो मिठो क्षणलाई सम्झिदै बिर्सदै नेकपा एमाले एक बनाउने सुरमा लागेका छन् । हामी त्यही सोमबारको कुरा गर्दैछौँ । जहाँ ओली र माधव नेपाल एक शान्त कोठामा एक अर्कालाई हेर्दै बसेका छन् ।
केही मिल्ने । केही चिल्ने । केही नमिल्ने कुरालाई मिलाउने प्रयास गरिरहेका छन् । यो आफैमा एउटा संयोग हो । त्यो भन्दा बढी यो एउटा अकल्पनीय भेट हो । आफ्नो आसिलान बंगला छाडेर दुवै नेताहरु होटल मेरियटको एउटा कोठामा पुगेका छन् । केही गन्थन मन्थन गर्दैछन् ।
यो भेट जति अकल्पनीय थियो, त्यति नै कारणयुक्त थियो । अझ भनौँ सम्भावित राजनीतिक घटनाक्रम रोक्न जबर्जस्ती थियो । कर्णालीमा एमाले सांसदले पार्टीको ह्वीप तोडेर माओवादी केन्द्रको सरकार जोगाए ।
माधव नेपाललाई कारबाही गरेको जवाफ उनी पक्षका सांसदले कर्णालीबाट ओलीलाई पठाएका थिए । जहाँ एमालेको बहुमत मात्रै धुँजा धुँजा भएन, ओलीको प्रतिगमन र घमण्ड पनि चिरा चिरा भयो । कर्णालीमा आफ्नै पार्टीको मुख्यमन्त्री र सरकार बन्ने बेला ओलीको दम्भले चकनाचुर भयो ।
आफैले प्वाल पार्न खोजेको एमालेभित्रको यो समस्या हल नगरे भविष्यमा पार्टी फुट्ने र झन् ठूलो समस्या आउने भएपछि ओलीले माधव नेपालकै रोजाईमा होटल मेरियटमा भेटवार्ता गरेका हुन् । त्यसपछि ओलीले क्रमशः अरु नेता र सांसदलाई पनि भेटवार्ता गर्दै नयाँ योजनाका साथ काम गर्न खोजिरहेको सन्देश दिएका छन् ।
तर जे होस, कर्णालीको पाठले ओलीलाई राम्ररी निन्द्राबाट ब्युझाएको छ । दम्भबाट केही पर लिएको छ । तर प्रतिगमन सच्याउने अर्को सुन्दर अवसर जुराएको छ । तर कर्णालीको विकासका लागि भन्दा सत्ताको खिचातानीले कहिलेसम्म राजनीतिक तरंग ल्याइरहने नेताहरुका लागि सोचनीय विषय हो ।