११ बैशाख, काठमाडौँ : नेकपा एमालेको स्थायी कमिटीमा कर्णाली प्रदेशका नेता पर्न असफल भएका छन् । ओलीले शुक्रबार १९ सदस्यीय स्थायी कमिटी गठन गर्दा पूर्व माओवादीका नेताहरुको बर्चश्व छ । तर एमाले पक्षलाइृ आउट गरिएको स्थायी कमिटीमा कर्णाली प्रदेशबाट कुनै नेता पनि पर्न सकेनन् ।
कर्णालीमा एमालेका सबैभन्दा ठूला नेता यामलाल कँडेल र नवराज रावत मानिन्छन् । रावत राज्यमन्त्री हुन् भने कँडेल कर्णाली प्रदेश इन्चार्ज हुन् । तर दुवै जना स्थायी कमिटीमा पर्न असफल रहे । यसले कर्णालीमा ओली समूहबाट शिखर नेता नभएको देखाउँछ ।
अनि अहिले भएका नेताहरुलाई नेतृत्वले पत्याउन नसकेको पनि छर्लंग हुन्छ । स्थायी कमिटी नेतृत्वको रस्साकस्सी सत्ता समीकरणका बेला सबैभन्दा बढी विश्वास गरिने पद हो । त्यससँगै निर्णायक मोडहरुमा नेताहरुले खेलेको भूमिकालाई पनि मध्यनजर गरेर मध्यनजर गरेर दिइने पद मानिन्छ ।
तर ओलीको दया मायामा राज्यमन्त्री बनेका रावत भने स्थायी कमिटीमा पर्न सकेनन् । कर्णालीमा ओली गुटको नेतृत्व गरेका यामलाल कँडेलले पनि स्थायी कमिटीका लागि आफ्नो पावर देखाउन सकेनन् । यसले कर्णाली अहिले पनि राजनीतिक रुपमा केन्द्रीय नेताहरुले नपत्याउने आधार बनेको छ ।
कर्णालीमा अहिले एमाले नेतृत्वमा सरकार बनेको खण्डमा, वा माओवादी केन्द्रको सरकार ढालेमा पनि ओलीले पत्याउन सक्थे । तर आफ्नो बहुमत हुँदा हुँदै पनि सरकार बनाउन नसकेपछि ओलीले कँडेल र रावत दुवैलाई पत्याउन नसकेको देखिन्छ ।
कर्णालीमा कँडेलले आफ्नो प्रभाव जमाउन सकेपनि रावत भने स्वास्थ्य राज्यमन्त्रीको कुर्सीमा सिमित देखिन्छन् । नेतृत्वका लागि लबिङ गर्ने र आफ्नो क्षमता पेस गर्ने काम गर्न नसक्दा पनि ओलीको स्थायी कमिटीमा कर्णाली ‘जिरो’ देखिएको हो ।
विकासका लागि संघर्ष गरिरहेको कर्णालीमा नेतृत्वले केन्द्रबाट भरपुर विश्वास र आफ्नोपन नठान्दा पटक पटक धोका खानुपरेको छ । त्यति मात्रै होइन, कर्णालीमा विकासका लागि भन्दा स्वार्थका लागि राजनीति गर्ने क्रम बढ्दा जनताको जीवनस्तर माथि उठ्न सकेको छैन् ।
तुलनात्मक रुपमा कांग्रेसमा पूर्णबहादुर खड्का र माओवादी केन्द्रमा जनार्दन शर्माले शीर्ष नेतृत्वसँग सोझै पावर शेयरिङ गर्न सक्ने भएपनि एमाले ओली र माधव नेपाल दुवै पक्षमा टावर नेता कम देखिन्छन् ।