सुर्खेत : राजा वीरेन्द्र घुम्न आउने भएपछि सुर्खेतमा हतार हतार बिजुली पुर्याइएको थियो । बाँके नेपालगञ्जको कोहलपुरबाट सोझै लाइन हालेर जंगलकै जंगलको बाटो रातारात काम गरेर वीरेन्द्रनगरमा बत्ती बालियो ।
रातारात दुःख गरेर भएपनि बत्ती बलेपछि सुर्खेत झिलिमिली देखियो । राजा वीरेन्द्रको सवारी भयो । अभावलाई सुन्दरताको प्रभावले धपक्कै बालेपछि तत्कालिन राजा वीरेन्द्रलाई सुर्खेत मन पर्यो । उनकै नाममा सुर्खेतको शहरलाई वीरेन्द्रनगर घोषणा गरियो ।
त्यसयता सुर्खेत वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बन्यो । सुरुमा मध्यपश्चिामाञ्चल र अहिले कर्णाली प्रदेश । राजधानीमा अनेकको राज छ । राजनीतिदेखि गुण्डागर्दीले पनि डेरा जमाइरहेकै छ । विकास निर्माणका काममा पनि सुर्खेत विस्तारै विकसित हुने क्रम जारी छ ।
जुम्ला जाने मंगलगढीदेखिको सडक पीच भएर लोभलाग्दो बनेको छ । वीरेन्द्रनगर बजार व्यवस्थित हुँदैछ । कर्णाली प्रदेश सरकार अवस्थित मन्त्रालय पनि चिटिक्क पारिएका छन् । तर सुर्खेतमा विजुलीको समस्या ज्युका त्युँ छ ।
अहिले पनि छिन छिनमै बत्ती जान्छ । वीरेन्द्रकालिन बिजुलीका तारमा अहिले पनि सुर्खेतको उज्यालो निर्भर छ । त्यही बिजुली कहिले जान्छ । कहिले आउँछ । तारमा रुख पर्दा चुडिन्छ । पोल ढल्छ । तार चुडिँदा र पोल ढलेको ठाउँ पत्ता लगाउनै घण्टौ लाग्छ ।
कोहलपुरदेखि सुर्खेत चढ्ने प्रत्येक डाँडा डरलाग्दा छन् । तिनै डाँडा र गहिरामा गाडिएका पोलमा चढेर बिजुली मर्मत गर्न कर्मचारीलाई कम्ती सकस छैन् । यता कर्मचारीले सास्ती झेलिरहेका छन् । दैनिक बत्ती जाँदा नेपाल विद्यूत प्राधिकरण सुखेत वितरण केन्द्रको त्यसको जानकारी फेसबुकमा सार्वजनिक गर्छ ।
उस्तै परे विज्ञप्ति निकाल्छ । तर दिगो समाधान हुन सकेको छैन् । झ्याप्प लाइन गएपछि नागरिक फेसबुकमा लेख्छन् । व्यवसायी प्राधिकरणमा फोन गर्छन् । कत्तिको फोन उठ्दैन । कत्ति उठेपनि पोल ढलेको र तार चुडिएकाले मर्मत कार्य भइरहेको जानकारी दिन्छन् ।
त्यतिले पनि नागरिक सन्तुष्ट छैनन् । प्राधिकरणका कर्मचारी झनै सन्तुष्ट छैनन् । पटक पटक लाइन गएकाले कर्मचारी पनि हैरान भइसकेका छन् । शुक्रबार पनि बत्ती गएपछि नेपाल विद्युत प्राधिकरण सुर्खेत नामको फेसबुकमा एक कर्मचारीले जानकारी दिँदै लेखेका छन्,
‘कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइन अन्तर्गत चिसापानीदेखि हर्रे खण्डमा समस्या आई विद्युत सेवा अवरुद्ध हुन पुगेको छ । उक्त खण्ड निकुञ्ज क्षेत्र अन्तर्गत परेको हुँदा रातिको समयमा मर्मत गरि लाईन पुनः सुचारु हुने सम्भावना न्यून रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’
कोहलपुर सुर्खेत प्रसारण लाइनमा बाँके राष्ट्रिय निकुञ्ज पर्छ । जहाँ बाघ, हात्ती र कहिलेकाँही गैँडाले पनि आक्रमण गर्न डर हुन्छ । त्यही डरले गर्दा कर्मचारी रातीमा निकुञ्जमा बिजुली मर्मत गर्न सक्दैनन् । सोही कारण उनीहरुले बिजुलीको लाइन बिग्रेको सूचना प्रकाशित गर्छन् । तर तत्कालै सुचारु गर्न असम्भव रहेको जानकारी पनि दिन्छन् ।
यो घोषित लोडसेडिङ जस्तै हो । वीरेन्द्रकालिन समयमा बनेको बिजुली राम्रोसँग मर्मत नहुँदा प्रजातन्त्र पुनस्थापना, लोकतन्त्र, गणतन्त्र र संघीयता आउँदा पनि कर्णालीमा भरपर्दो सेवा सुविधा छैन् । यसले नागरिक र व्यवसायीलाई ठूलो मार परेको छ ।