११ बैशाख, कर्णाली : प्रकृतिले दिएको अनुपम उपहार हो, राराताल । स्वर्गको टुक्रा भनेर चिनिने रारातालमा अनेकन सुन्दरता छन् । त्यसमध्येको एउटा घोडचढी हो । स्वदेश तथा विदेशबाट आउने सबै पर्यटक एकपटक रारा पुगेपछि अवश्य घोडा चढ्छन् ।
जुम्लाको भुलभुले हुँदै सिरुचौरबाट तालको छेउसम्म पुग्न घोढचढी गरिन्छ । कोही हिडेर पनि रारा ताल पुग्छन् । अनि यो घोडचढीमा लागेका छन्, युवादेखि वृद्धासम्म । कतिपयले वर्षौदेखि घोडापालन गरेर घोडचढी सञ्चालन गरिरहेका छन् ।
त्यसमध्येका एक हुन्, मुगु कर्णाली मावि टोप्लाका विद्यार्थी राजेन्द्र शाही । उनी कक्षा ४ मा पढ्छन् । उनी अरु दिन स्कुल जान्छन् । बिदाको दिन र शनिबार चाँही राराताल परिसरमा देखिन्छन् ।
उमेर सानै भएपनि उनी घोडा चढ्छन् । घोडा कुँदाउँछन् । उनको घोडा ज्ञानी छ । घोडा ज्ञानी मात्रै होइन, राजेन्द्रले अह्राएको काम गर्छ । राजेन्द्र रारातालको छेउछाउँमा पर्यटकहरुलाई आफ्नो घोडामा चढाएर घुमाउँने काम गर्छन् । रारा जाने पर्यटकलाई सल्लेरीबाट घोडामा राखेर तालको छेउँसम्म पुर्याउँछन् अनि फिर्ता ल्याउछन् ।
आफ्नो दैनिक खर्च, विद्यालय जाने कापी कमल किन्ने लगायत अन्य शैक्षिक सामग्री किन्नको लागि उनले बिहान बेलुका घोडा चलाउँछन् । उसो त उनी बिहान बेलुका राराको घोडा व्यवसायी हुन ।
झण्डै चार किलोमिटरको दुरीमा सल्लेरीबाट तालको छेउँसम्म पुर्याउँछन् । अनि तालबाट पर्यटकले भनेजस्तो गर्छन् । घुमाउँ भने घुमाउँछन, नत्र फेरी अरु पर्यटकलाई लिन सल्लेरी पुग्छन् । सल्लेरी रारा पुग्नु अघिको स्टेशन हो । सल्लेरीमा पसल तथा होटेलहरु पनि छन् । सानो बजार भन्दा फरक नपर्ला ।
रारा ताल जान सल्लेरी पुगेका हरेकलाई राजेन्द्र मायालु पारामा आग्र्रह गर्दै भन्छन्, ‘दाई मेरो घोडामा चढ्नु न है..।’ घोडा चढेर रारा जानेहरु उनको आग्रह नकार्न सक्दैनन् । पैसा तलमाथि गर्छन् । तर घोडाजत्तिकै उनी इमान्दार सेवा गर्छन् । घोडामा पर्यटकलाई चढाएर आफू हिड्दै रारा पुग्छन् ।
बिहान, बेलुका र शनिबारको समय मिलाएर आफ्नो घोडा लिएर सल्लेरी आउने अनि पर्यटकलाई ताल सम्म पुर्याउने उनको दैनिकी नै बनेको छ । उनी उमेरले बालक भएपनि आफ्नो भविष्य र पढाईका लागि एक कर्तव्यनिष्ठ बालक हुन् ।
सानो उमेरमा बाध्यताले घोडा व्यवसायी गरेका राजेन्द्र जस्तै उनका साथी – विवेक, लक्ष्मी, विकास विश्वकर्मा र नरेश बम पनि घोडा चलाएर आफ्नो पढाई खर्च निकाल्ने गरेका छन । सल्लेरीबाट घोडामा तालको छेउमा पुग्न आधा घण्टा लान्छ । बाटो करिब चार किलोमिटरको छ । त्यही बाटोमा राजेन्द्र, लक्ष्मी, नरेशहरु आफ्नो घोडा लिएर बाध्यताले दैनिक धाउँछन् ।
पर्यटकलाई तालको छेउसम्ममा पुर्याएवापत उनीहरु पाँचसय रुपैया लिन्छन् । उनीहरु भन्छन्, “तालसम्म पुग्न ४ किलोमिटरको बाटो छ । घोडामा आधा घण्टा लाग्छ । तालसम्म पुर्याउन हामी पाँच सय लिन्छौं, तालबाट होटेल, होमस्टेसम्म पुर्याउन एक हजार लिने गरेका छौं ।’
“रारामा करिब तीन सय भन्दा धेरै घोडाहरु छन । पर्यटकहरु कोही घोडामा चढ्नु हुन्छ त कोही चढ्नु हुन्न । घोडा व्यवसायी धेरै भएको हुँदा दिनमा केही पर्यटकलाई मात्र बोक्ने गरेका छौं । कहिले घर रित्तै फर्कने अवस्था आउछ ।”
आर्थिक अभावका कारण बिहान बेलुका घोडा चलाएर आफ्नो स्कुल खर्च धान्ने गरेको विकास विकले बताए । विकास पनि कर्णाली मावि टोप्लामा कक्षा ७ मा पढ्छन । नरेश र विवेकको पनि विकासको जस्तै समस्या हो ।
आर्थिक अभावले गर्दा आफ्ना दाइभाइहरु कालापार पुगेको उनीहरु गुनासो पोख्छन् । बल्लतल्ल घोडा जोडेर आफ्नो पढाई खर्च चलाउने गरेको विवेकले बताए । उनीहरु मात्र होइन, रारामा थुप्रै बालबालिकाहरु स्कुल भन्दा घोडचढी व्यवसायमा लागिरहेका छन । बिहान बेलुका घोडा चलाउने दिनमा स्कुल जाने गरेका छन । कोही बालबालिकाहरु दिन विराइ स्कुल जाने गर्छन ।
सल्लेरीको छेउमा पर्यटक पुगेपछि उनीहरु भन्छन, “दाई दिदी मेरो घोडा पनि छ । मेरो घोडामा चढ्नु पर्छ है..।’
सधै अभाव र गरिबीको चपेटामा परेका बालबालिकाहरु गुणस्तर शिक्षाको पहुँचमा कहिलेसम्म पुग्छन् भन्ने प्रश्नहरु खड्की रहेका छन् । पर्यटनका रुपमा रारा स्वर्गको टुक्रा भएपनि अभाव र गरिबीले भने नर्क समान मानिन्छ । यद्यपी पहिले र अहिलेको कर्णालीमा आकाश पातालको फरक छ ।
तस्विरः लोकेन्द्र विश्वकर्मा / कर्णालीखबर डटकम