१२ बैशाख, काठमाडौँ : नेकपा एमालेले कर्णालीमा फ्लोर क्रस गरेका चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । केन्द्रीय समितिको बैठकले एमालेका चार सांसदको पद गएको छ भने त्यसमध्ये मन्त्री बनेका तीन जना ६ महिनासम्म मात्रै मन्त्री हुन पाउनेछन् ।
माधव नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको गुटको टक्करले कर्णालीमा माधव पक्षका चार सांसदले फ्लोर गरेर माओवादी केन्द्रको सरकार जोगाएका थिए । सारमा उनीहरुले ओलीको प्रतिगमनविरुद्ध त्यो विद्रोह र क्रान्तिकारी कदम चालेको टिप्पणी गरेका थिए ।
जसको नेतृत्व प्रकाश ज्वालाले गरे । निवर्तमान अर्थमन्त्री समेत रहेका ज्वाला यतिबेला सांसद विहिन हुन पुगेका छन् । यदपी कर्णाली प्रदेश सभा बैठक बसी नसकेकाले उनीहरु अझै केही दिन सांसद रहनेछन् ।
प्रदेशसभामा सभामुखले दलले पठाएको पत्र पढेर सुनाएपछि उनीहरु सांसदविहीन हुनेछन् । फ्लोर क्रस गरेर सरकार जोगाएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले तीन जनालाई मन्त्रीमा नियुक्त गरिसकेका छन् ।
उनीहरुले शपथ खाएर पदभार पनि ग्रहण गरिसकेका छन् । कालिकोटका कुर्मराज शाही, डोल्पाका नन्दसिंह बुढा र दैलेखका अम्मरबहादुर थापा मन्त्रीमा नियुक्त भएका छन् । यसमध्ये सल्यानका प्रकाश ज्वाला अब के गर्छन् ? हेर्न बाँकी छ ।
तीन जनाको मन्त्री पद ६ महिनासम्मका लागि सुरक्षित बनेको छ । उनीहरुले यसबीचमा आफ्नो कमाई धमार्इृ गर्न सक्छन् । मन्त्री बनेपछि आउने भत्ता, त्यसबाट निर्वाह हुने आफ्नो जीवन र आफ्ना मतदाताका लागि गर्नुपर्ने काम थुप्रै छन् ।
तर त्यसपछि के हुन्छ ? भन्ने पक्का छैन् । कर्णालीको राजनीतिक रस्साकस्सीले केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भयो । कर्णालीमा जस्तो समस्या अरु प्रदेशमा नदेखियोस भनेर गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओली र नेपालबीच भेटवार्ता गराए ।
तर दुई नेताबीच कुरा मिल्न सकेन । कुरा मिल्न नसक्दा नेताहरुबीच फेरि चर्काचर्की भयो । अहिले पनि चर्काचर्की चलिरहेको छ । नेकपा एमाले फुट्ने वा मिल्ने सम्भावना आफ्नै अड्कलबाजीमा छ । तर सांसद पद नै गुमाएर ओलीको प्रतिगमनविरुद्ध विद्रोह गरेका चार माधव पक्षका सांसदले साच्चै अब राजनीतिलाई कसरी अगाडि बढाउँछन् ? त्यो हेर्न बाँकी छ ।