भौगोलिक विकटताका कारण कर्णालीमा पत्रकारिता गर्न अझै चुनौति छ । एक ठाउँदेखि अर्को ठाउँ जान धेरै दिन लाग्ने समस्याले गर्दा पनि पत्रकारहरु सजिलोसँग रिर्पोटिङ गर्न सक्दैनन् । तर पहिलेको भन्दा कर्णालीको रिर्पोटिङ सुधारिँदै, निखारिदै गएको छ । यो पत्रकारका लागि खुशी र अवसर दुवै हो । तर संघीयतामा प्रदेश र स्थानीय तह बनेपछि पत्रकारहरुको पनि क्षमता बढाउनुपर्ने चुनौति थपिएको छ ।
यसका लागि ठोस नीति, छलफल तथा कार्यक्रमहरु बनिसकेका छैनन् । हामीले कर्णालीका १० वटा जिल्लाका पत्रकारहरुसँग कुराकानी गर्ने ‘कर्णालीका पत्रकार’ स्तम्भ सुरु गरेका छौँ । जसमा हामी कम्तीमा १० वटै जिल्लाका पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्षसँग कुराकानी गर्नेछौँ । जसको सुरुवात जाजरकोटबाट गरेका छौँ । प्रस्तुत छ, नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष बालकुमार शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :
जाजरकोटमा पत्रकारको अवस्था कस्तो छ ? पत्रकारले कसरी काम गरिरहेका छन् ?
दुर्गम जिल्लामा पत्रकारिता गर्न कठिन छ । त्यसमध्ये जाजरकोट सधै आर्थिक अभावका कारण पत्रकारहरु पेशालाई निरन्तरता दिन सकिरहेका छैनन् । जनताका गुनासोलाई केन्द्र बनाउने तीनै पत्रकारहरुको गुनासो राख्ने ठाउँ एकनासको छैन ।
मोफसलको पत्रकारिता गरेर आफ्नो बिहान बेलुकाको छाक टार्न पनि धौ धौ पर्छ । त्यसमाथि पत्रकारिता पेशाको ग्यारेन्टी छैन । तर पनि जाजरकोटका पत्रकारहरुले विभिन्न माध्यम मार्फत सुचना आदान प्रदान गरी राखेका छन । त्यसैमा चित्त बुझाउने र भोको पत्रकारिता गर्ने अवस्था छ । सबै पत्रकारहरुको राष्ट्रिय मिडियामा पहुँच छैन ।
न्युन पारिश्रमिक भएपनि त्यही मिडियामा काम गर्नुपर्ने बाध्यता छ । दिनभर रिर्पाेटिङमा जाने बेलुका कोठामा पस्दा दाल चामल सकिएको हुन्छ । तर किन्ने पैँसा गोजीमा हुदैन । अझैपनि मोफसलमा पत्रकारिता गरेर साथीहरुले सूचना दिने कामलाई प्राथमिकतामा राखेका छन् ।
पत्रकारहरु व्यवसायिक कत्तिको छन् ? क्षमता अभिवृद्धि गर्ने योजना के के छन् ?
जाजरकोटमा तीन वटा रेडियो सञ्चालनमा छन् । रेडियो जाजरकोट, रेडियो हाम्रो पाइला र सामुदायिक रेडियो खलंगा । यस्तै, दर्जन बढी अनलाइन मिडिया छन् । अन्य स्थानीय तहमा रेडियो खोल्ने काम भइरहेको छ । कुशे, बारेकोट, लगायतका ठाउँहरुमा नयाँ रेडियो पहल भइरहेको छ ।
दुर्गमको पत्रकारिताले पत्रकारितामा आएका नयाँ पत्रकारहरुको क्षमता बढाउन आवश्यक छ । उनीहरुको क्षमताको विकास गर्न महासंघले पनि छुट्टै कार्यक्रम बनाउने प्रयास गरिरहेको छ । अहिलेसम्म जेनतेन गरेर सबै साथीहरुले सूचना प्रवाह गरिराख्नु भएको छ ।
अझै म आफै पनि पत्रकारिताको विद्यार्थी भएको हुँदा मोफसलमा काम गर्ने ती पत्रकारहरुको क्षमता अभिवृद्धि गरेर जाजरकोटमा रहेका पत्रकारितालाई सुदृढ गर्नमा महासंघ प्रतिवद्ध छ ।
धेरै पत्रकारहरु पत्रकारितामा बषौं विताएर अन्त्यमा घर फर्कनु पर्ने बाध्यता छ । त्यो अवस्थालाई अन्त्य गर्ने प्रयत्नमा छु । पेशाको ग्यारेन्टीसहितको सुरक्षाका विषयमा नयाँ कार्यक्रम तथा योजना तयार गरिरहेका छौं ।
तत्काललाई जाजरकोट शाखाले के के कार्यक्रम गर्दैछ ?
जाजरकोटको पत्रकारितालाई बुझेर शाखाले आफ्नै कार्यविधि बनाउने तयारी गरिरहेको छ । अहिले नयाँ कार्यसमितिको बैठकहरु पनि बसिरहेका छौँ । त्यसमा पनि सदस्यता शुद्धिकरणदेखि पत्रकार र पत्रकारिताका हरेक विषयलाई केलाएर छलफल अघि बढाउन आवश्यक छ ।
पत्रकारिता पेशाको सुरक्षा लगायत उनीहरुको आधारभुत आवश्यकता परिपूर्ति गर्ने जाजरकोट शाखाले केही विशेष योजनाहरु बनाउँदै छ । तत्कालै जिल्लाका क्रियाशिल पत्रकारहरुको बिमा गर्ने योजना पनि छ ।
पत्रकारलाई पेशामा टिकाउने योजना के छ ?
नेपाली पत्रकारितामा सबैभन्दा ठूलो समस्या नै यही हो । एक समय राम्रो लेख्ने पत्रकार पछि लेख्न सक्दैनन । क्रियाशील पत्रकार पछि निष्क्रिय बन्दै जाने समस्या पनि छ । हिजोका दिनमा धेरै राम्रा पत्रकार पलायन भएका छन् । राम्रो आर्थिक सम्भावना भएका क्षेत्रमा पत्रकार आफूलाई त्यतातर्फ लैजान्छन् ।
पत्रकारिता पेशामै टिकाउन धेरै समस्या छ । समस्या भएपनि पेशामा टिक्ने वातावरण बन्दै गएको छ । यसका लागि दीर्घकालिन योजना बनाउने तयारीमा छौँ । इतिहास भन्न सकिदैन ।
तर जाजरकोटको पत्रकारिताको विकास र उनीहरुको जीवनस्तर बदलिन सक्ने योजनाहरुसहित अगाडि बढ्ने योजना छ । यसका लागि हप्तामा दुईदेखि तीन पटकसम्म पनि बैठकहरु बसिरहेका छौँ ।
पत्रकारको सुरक्षा लगायतका विषयहरुमा पत्रकार महासंघ, जाजरकोट शाखाले अरु व्यक्तित्वसँग पनि छलफल गरिरहेको छ । जाजरकोट शाखालाई पहिलेको भन्दा राम्रो, व्यवस्थित, पत्रकारको हक हितका लागि बलियो छाता संगठनका रुपमा स्थापित गर्ने पक्षमा छौँ ।
(शर्मा रेडियो हाम्रो पाइलाका सञ्चालक हुन् भने पाइला खबर अनलाइनका पनि प्रधानसम्पादक हुन् ।)