१३, बैशाख, सिमकोट : मौसमी फ्लुको कारण हुम्लाका अस्पतालहरुमा विरामीको चाप बढ्दै गएको छ । यता कोरोनाको त्रास बढिरहेको छ । योसँगै हुम्लामा मौसमी फ्लुको बिरामीहरु दिनौ बढ्न थालेका छन । पछिल्लो पाँच दिनयता हुम्लामा हिमपात र बर्षाले चिसो बढेपछि एक्कासी मौसमी फ्लुका विरामी बढेका हुन ।
एक्कासी घाँटी, टाउको, शरिर दुख्ने, छाती, पेट दुख्ने, लगायतका लक्षणहरु देखिरहेका छन । सिमकोट गाउँपालिका–५ का सिवि रोकाया मौसमी फ्लुको विरामीले एकसाता थला परेका छन । उनीसँगै घरका अन्य चार जना सदस्यहरु विरामी परेका छन । पहिला धुँवा धुलो र पछि हिमपात तथा पानी पर्दा चिसो बढेपछि झन विरामी फैलिएको हुम्लाका चिकित्सकले बताएका छन ।
मौसम परिवर्तन, सरसफाईको कमी, धुवाँ धुलो मौसमी फ्लुका विरामी बढेको स्वास्थ्य सेवा कार्यालयमा कार्यरत वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन । उनले भनिन् दैनिक ६० जना अस्पतालमा आउने गरेका छन ।
चेकजाँच गरे औषधी लिएर फिर्ता हुने गरेका छन् । सबै उमेर समुहका बिरामीहरु अस्पताल आउने गरेको भएपनि बढी वृद्धवृद्धा वालबालिका र दमका बिरामी बढी आउने गरेको उनले भनिन् । यो समय नै मौसमी फ्लुको भएको कारण यसका बिरामी हुनु स्वभाविक भएपनि यस वर्ष बढी बिरामी अस्पताल आउने गरेको चिकित्सक टसी आङ्जु लामाले जानकारी दिए । कुनै कुनै बाहेक अन्य सबै बिरामी चेकजाँच पछि घर फर्कने गरेको उनले बताए ।
बढी शंकास्पद विरामीलाई भने कोरोना परिक्षण गर्ने गरेको चिकित्सक लामाले बताए । कोरोना संक्रमण बढ्न थालेको बेला मौसमी फ्लुका बिरामी बढेपछि केही जटिल बिरामीको एण्टिजीन किटबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको डा.लामाले बताए । चिकित्सक लामाले मौसामी फ्लुबाट कोही नआत्तिन र लापरवाही पनि नगर्न सबैलाई आग्रह गरेका छन् । झोलिलो खानेकुरा खान र न्यानो गरि शरिरलाई राख्न सवैले आबश्यक छ ।