१६ बैशाख, काठमाडौं : कर्णालीमा पछिल्लो समय महामारी कोरोनाले तीव्र रुप लिदैँ गएको छ । छिमेकी मुलुकबाट विभिन्न नाकाहरु पार गरी कर्णाली प्रवेश गर्नेको संख्या पनि उत्तिकै छ । कर्णाली सरकारले केही दिन अघि मात्रै दुर्गमका जिल्लाहरुमा हेलिकप्टर व्यवस्थापन गर्ने र सडक सञ्जाल जोडिएको ठाउँहरुमा एम्बुलेस व्यवस्था गर्ने निर्णय गरेको ताजै छ ।
हेलिकप्टर व्यवस्था गर्ने भन्ने कर्णालीका मन्त्रीहरु अहिले एउटा स्वास्थ्य कार्यालयमा सिटामोलको अभाव हुँदा पनि चुपचाप छन् । जनतालाई महामारीबाट बचाउनुपर्ने बेलामा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने मन्त्रीलाई शपथ खुवाउनै व्यस्त छन् ।
एमाले त्यागेर मन्त्री पद उपहार पाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले बुधबार शपथ लिएका हुन । मन्त्रीले शपथ लिएपनि जनताको घरदैलोमा पुग्नुपर्ने सरकार यतिबेला सुर्खेतकै सिंहदरबारमा सिमित छ ।
बुधबार प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना र दैलेखमा एकजना गरी तीनजना संक्रमितको मृत्यु भयो । कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० नजिकै पुगेको छ । यता दिन प्रतिदिन संक्रमण पुष्टि हुदै गएको छ । हेलिकप्टर उडान गर्ने मन्त्रीहरु सिटामोलको अभाव हुँदा मूकदर्शक बनिरहेका छन । शपथ खाइरहेका छन । मन्त्रीको पद उपहार पाइरहेका छन । जनताका यस्ता गुनासोमा लाज मान्नुपर्ने खण्डमा सरकार भने अझै लाजनीतिमा रमाइरहेको छ ।
यस्तै सल्यानमा पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । स्वास्थ्य कार्यालयमा आवश्यक पर्ने जनशक्ति, औषधि लगायत अन्य उपकरणहरु अभाव भएको छ ।
आवश्यक उपकरणहरु पुर्याउने भनी मन्त्रीको घोषणा त आएकै हो । तर, अस्पताल र स्वास्थ्यकर्मीले दैनिक यस्तो समस्या झेल्दै आएका छन् । सामाधानमा भने पहल शुन्य देखिन्छ । बुधबार नै जाजरकोट शिवालयको छेडावजार र जिल्ला अस्पतालमा गरिएको एन्टीजन परिक्षणबाट १० जनालाई संक्रमण पुष्टि भयो । योसँगै जाजरकोटमा पनि संक्रमितको संख्या ६६ पुग्यो ।
यो महिनाको पहिलो सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि दोस्रो लहरको पीसीआर परीक्षण सुरु भयो । बुधबार आएको परिक्षण रिपोर्टमा १३ जनामा संक्रमण पुष्टि भयो ।
कर्णालीका अन्य जिल्लाहरु पनि परिक्षण हुने क्रममा छ । अभावै अभावमा कर्णालीका अस्पतालहरु गुज्रिएका छन । संक्रमितहरुले समयमा आवश्यक उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्थामा छन् ।
तर जनताको सेवा गर्छु, उपचार गर्छु, महामारीबाट जोगाउँछु, एम्बुलेन्स र हेलिकोप्टरबाट उद्धार गर्छु भन्ने कर्णाली प्रदेश सरकार जिम्मेवारीमा खरो उत्रिन नसक्दा कर्णालीका जनता सधैका बिराना भएका छन् । महामारीमा मृत्यु खेपिरहेका छन् । अभाव झेलिरहेका छन् । सधै पछाडि परेको कर्णाली प्रदेश सरकार अझै पछाडि परिरहेको छ ।