नेपालको सबैभन्दा विकट जिल्लामा पर्छ, हुम्ला । जहाँ अहिलेसम्म पनि गाडी पुगेको छैन । नेपालका सबै जिल्ला सडक सञ्जालसँग जोडिदा हुम्ला भने अहिले पनि सडक सञ्जालविहीन छ । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला विकटताले जति रुमल्लिएको छ । सुन्दरताले त्यति नै भरिएको छ । तर हजारौँ पहाडका छिचोलेर सबै हुम्ला पुग्ने साहस गर्न सक्दैनन् । अलिकति साहस भएका, आँट भएका र आर्थिक अवस्था राम्रो भएकाहरु भने हुम्ला हुँदै मानसरोवर पुग्छन् । यसर्थ हुम्ला विकटताभन्दा आन्तरिक तथा बाह्य पर्यटकका लागि रहस्यको सुन्दर गन्तव्य हो । तर यतिबेला अवस्था भने फरक छ । कोरोना भाइरसको महामारीले हुम्लालाई पनि आतंकित तुल्याइसकेको छ । सडक नभएपनि सिमकोट विमानस्थलबाट भने दैनिक यात्रु आवातजावत भइरहेका छन् ।
जसले हुम्लामा कोरोना भाइरसको प्रवेश सहज बनाइरहेको छ । जिल्लाका पत्रकार, सुरक्षाकर्मी, प्रशासन र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट जोगिन आवश्यक उपाय अपनाइरहेका छन् । तर यसका लागि निषेधाज्ञा अर्थात लकडाउन नै गर्ने वा नगर्ने ? भन्ने गम्भीर छलफल तथा परामर्शमा छन् । यो जोखिम पत्रकारलाई धेरै छ । यसबारेमा प्रशासनसँग उनीहरुले निरन्तर छलफल गरिरहेका छन् । हुम्लामा बढ्दो जोखिम, सर्वसाधारणको अवस्था, सम्भावित नाकाहरुमा कडाई लगायतका विषयमा नेपाल पत्रकार महासंघ, हुम्ला शाखाका अध्यक्ष राजन रावतले प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश आचार्यसँग गरेको कुराकानीको सम्पादित अंश :
कोरोनाको दोस्रो लहर बढेका बेला हुम्लाको पछिल्लो अबस्था के छ ?
पछिल्ला केही महिना विश्वमा जसरी कोरोना तीव्र रुपमा फैलिएको छ । त्यो साच्चिकै डरलाग्दो र चिन्ताजनक छ । छिमेकी मुलुक भारत हुँदै नेपालमा पनि कोरोना फैलिदै गएको छ । देशका अन्य ठाउँमा कोरोना संक्रमितको संख्या धेरै बढ्दै गएका बेला अब हुम्ला कसरी सुरक्षित राख्न सकिन्छ भन्ने चिन्ता र चुनौति दुवै छ । यो अवस्थालाई हेर्ने हो भने हुम्ला जिल्ला अहिलेसम्म पुर्ण रुपमा ‘ग्रीन जोन’का रुपमा रहेको छ । यसलाई कायम राख्नका लागि केही चुनौतीहरु पनि छन । अरु जिल्लाको तुलनामा हुम्ला जिल्ला सुरक्षित छ । यही अवस्थालाई कायम राख्नका लागि भरमग्दुर प्रयत्न गर्नु पनि आवश्यक छ । यसका लागि हामी सकेसम्म क्रियाशिल पनि छौ ।
हुम्लालाई अहिलेकै अवस्थामा ‘ग्रीन जोन’का रुपमा राखिरहन थप के कस्ता प्रयासहरु गर्दै हुनुहुन्छ ?
मुख्य रुपमा अहिले हामीले ल्याएको रणनीति भनेको कोरोना भाईरस आफै व्यक्ति खोज्दै हिड्ने होइन । यो व्यक्तिमा उत्पन्न पनि हुँदैन । यो व्यक्तिमार्फत नै एक ठाउँबाट अर्को ठाउँमा व्यक्तिलाई नै सर्ने हो । यसले गर्दा हामी जो हुम्ला जिल्लामा लामो समयदेखि बसोबास गर्दै आइरहेका छौ । ती व्यक्तिबाट डर छैन । हामीले जोगिनु पर्ने जिल्ला बाहिर रहेका नागरिकबाट हो ।
बाहिर बस्दै आएका भएपनि हाल घर आउन खोज्नेबाट मुख्य चुनौती छ । यसमा कर्मचारी पनि पर्छन । यसका लागि जिल्ला प्रवेश गर्ने नाकाहरुलाई कडिकडाउ रुपमा राख्नु हो । जस्तो सिमकोट विमानस्थलमा यसको कार्य थालनी भई सकेको छ । हुम्ला भित्रिनेहरुको हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच देखि व्यक्तिगत विवरण, ट्रेसिङ गर्ने, दश दिनसम्म बन्द राख्ने र स्वास्थ्यकर्मीको सम्पर्कमा राख्ने काम सुरु गरिसकेका छौँ ।
हुम्ला भित्रिने मुख्य गरि तीन वटा नाका र केही सहायक नाकाहरु पनि छन् । जसरी सिमकोट विमानस्थलमा सुरक्षाका उपाय सहितको हेल्थ डेस्क स्थापना गरिएको छ । पैदल मार्गका नाकाहरुबाट भित्रिने मानिसहरुका बारेमा केही सोच्नु भएको छ ?
अवश्य पनि फोकस भएका तीन वटा मुख्य नाका हुन् । त्यसमा हवाई मार्गको सिमकोट विमानस्थल र पैदल मार्गको बाजुरा जिल्लाबाट आउने कवाडी नाका र मुगु जिल्लाबाट आउने चंखेलीको रिमी नाका हुन । र, भोली आवश्यक परे अन्य सहायक नाका पनि फोकस नगर्ने भन्ने होईन । यसमा सिमकोट विमानस्थलमा सबै व्यवस्था सुरु भएको छ । अनि जानकारीमा आएअनुसार चंखेली नाकामा हेल्थ डेस्क राख्ने कुरा भईरहेको छ । अर्को कुरा आज मात्र जानकारी भए अनुसार सर्केगार्ड गाउँपालिकाको बालुकुनामा पनि हेल्थ डेस्क राख्न लागिएको हो छ । यता ताँजाकोटको कवाडी नाकाको बारेमा जानकारी प्राप्त हुन सकेको छैन ।
सञ्चारको समस्याले ती नाकाहरुमा सहज रुपमा सम्पर्क गर्न कठिन भएको छ । यसले गर्दा त्यताको विवरण लिन र सरकारका निर्णयहरुका बारेमा समन्वय गर्न केही कठिन भएको छ । तर गाउँपालिकामा पनि इन्टरनेटको पहुँच भएको कारण उहाँहरु पनि त्यसमा अपडेट हुनु भएको होला भन्ने लाग्छ । अब स्वास्थ्य सेवा कार्यालयले तत्तत् गाउँपालिकाका स्वास्थ्य संयोजकलाई फोकल ब्यक्ति बनाउने र त्यही मार्फत सुचना आदान प्रदान गर्ने रणनीति बनाए अनुसार त्यसको विवरण राख्ने काम हुँदैछ ।
काठमाडौँ, बाँके, सुर्खेत लगायतका जिल्लामा अवस्था भयावह बनिरहेको छ । नाकाहरु खुल्ला नै छन् । यदि त्यो अवस्था हुम्लामा आयो भने कसरी काम गर्ने तयारी छ ?
हुम्ला जिल्लाबाट विभिन्न कारणले जिल्ला बाहिर बस्दै आएका नागरिकहरु जिल्ला भित्रिदा कथमकदाचित संक्रमण भित्रिन पनि सक्छ । जसले गर्दा ठुलै रुप नलेला भन्न पनि सकिदैँन ।
संक्रमण भन्ने कुरा बाजा बजाएर आउने पनि होईन । त्यसैले यो अवस्था आयो भने गत वर्षका केही संरचना अहिले पनि विद्यमान छन् । त्यसको प्रयोग गर्न सकिने छ । अर्को अहिले गरिएको व्यवस्थाले धान्न सकिने अवस्था नभए डिसिसिएमसीको बैठकबाट थप विकल्प पनि तयार गर्ने रणनीतिमा लागिने छ ।
त्यसैगरि अरु गाउँपालिकासँग पनि समन्वय गरेर अगडाी बढ्न सकिने छ । हाल जे जति छन् । ती त छदैछन् । त्यस बाहेकका स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा कार्यालयले प्रदेश सरकारसँग माग गरीसकेको छ । अन्य केहीको व्यवस्थापनतर्फ पनि कार्यालय लागेको छ ।
कोरोना संक्रमणको कुरा गर्दा नेपाल सरकारको स्पष्ट निर्देशन छ कि अब जो कोही संक्रमित भए सम्वन्धित गाउँपालिकाको व्यवस्था गर्ने छ । हुम्लाका गाउँपालिकाले यसतर्फ के के तयारी गरेको रिर्पोटिङ तपाईलाई छ ?
स्वभाविक रुपमा सिमकोट गाउँपालिकालाई केही सुविधा छ । यहाँ सबै भएका संरचना सिमकोटभित्रै पर्छ । अरु छ वटा गाउँपालिकाको हकमा नेपाल सरकारले स्वतन्त्र रुपमा काम गर्नका लागि छोडि दिएको छ ।
यहाँसम्मकी विद्यालयमा पठन पाठन सुचारु राख्ने वा बन्द गर्ने अधिकारी पनि गाँउपालिकालाई नै छोडेको छ । यो सकरात्मक कुरा हो । किनकी तल्लो तहको सबै कुराको जानकारी गाउँपालिकालाई हुने भएको हुँदा त्यहाँ के गर्ने भन्ने कुराको निर्णय गाउँपालिकाले गर्न सक्ने भयो । अर्को गाउँपालिकाहरुले आबश्यक परे आफ्नो साधन श्रोतको परिचालन गर्न सक्ने थप सहयोग आबश्यक परे एउटा अनुसुचि फारम भरेर बजेट माग गर्नेसम्मको व्यवस्था छ ।
बजेट नभएका गाउँपालिकालाई पनि सरकारले शोधभर्नाको कुरा पनि गरेको छ । ती गाउँपालिका व्यवस्थाको बारेमा जानकारी दिने क्रम भई रहेको छ । मुख्यगरी नेटवर्कले समस्या खडा गरेको छ । बारम्बार यस सम्बन्धमा जानकारी लिने र समन्वय कायम गर्ने प्रयास जारी राखिनेछ । केही कुरा त गाउँपालिकाले आफै निर्णय पनि लिन सक्ने हुन्छ ।
सम्पर्कमा आउनु भएका गाउँपालिकालाई स्पष्ट रुपमा बाहिरबाट आउने ब्यक्तिहरुको ट्रेसिङ गर्ने, दश दिनसम्म स्वास्थ्यकर्मीको सम्पर्कमा बस्ने व्यवस्थाका लागि पालिकाको स्वास्थ्य संयोजकले दैनिक रुपमा गाउँपालिका अध्यक्षलाई जानकारी गराउने व्यवस्था मिलाउनका लागि निर्देशन गरिएको छ ।
डिसिसिएमसीले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्दा नागरिकबाट कत्तिको सहयोग पाउनु भएको छ ?
यो महत्वपुर्ण कुरा हो । कर्मचारी, पेशागत संघ संगठन जस्ता पक्षबाट रचनात्मक सहयोग प्राप्त भई रहेको छ । उहाँहरुसंग सल्लाह सुझाव पनि राम्रो हुने गरेको छ । जनस्तरबाट यो कुरा आंशिक देखिएको छ । यसका लागि केही सचेतना अभियान पनि गरिएका थिए । जनस्तरमा पुगेर चेतनामुलक कार्यक्रम पनि गरिएको छ । त्यसपछि जुन अनुगमन तथा ‘फ्लोअप’ गर्दा सर्बसाधारणबाट यो जोगिनु पर्ने संक्रमणको हो भन्ने ज्ञान छ । तर त्यसलाई लापरवाही गरिएको पाईन्छ ।
केही ‘नेग्लीजेन्सी’ पनि छ । म सुरक्षित छु, अरुबाट म टाढा छु किन माक्स लगाउनु पर्यो भन्ने सम्मको मानसिकता देखिन्छ । अथवा घरमा बसेको मानिसले किन हात धुुनुपर्छ ? यो छिमेकी त उबाट संक्रमण सर्दैन भन्ने मानसिकता देखिएको हुँदा यसबाट अरुलाई त्यसको असर परेको देखिन्छ ।
यसबाट नयाँ आगमन हुनेलाई सकारात्मक असर पर्दैन । तर पनि मानिस सचेत छन् । केही शिक्षाको कमी भएका बस्तीमा भने समस्याको रुपमा देख्न पाईएको छ । त्यसकिसीमको सामाग्री जुटाउन पनि कठिन छ, जस्तो लाग्छ । त्यस्ता बस्तीमा अब सम्भव भएसम्म केही सामाग्री सहयोग गर्ने योजनाको तयारी पनि गर्दैछौँ ।
नागरिकको लापरबाही बढ्दै जाँदा हुम्लामा पनि निषेधाज्ञा हुने सम्भावना कत्तिको छ ?
जुन सर्तकता अहिले अपनाईएको छ । त्यसलाई अझै व्यवस्थित र अनुशासन पालन गराउन सक्यौ भने जिल्लामा अहिलेको अवस्थामा निषेधाज्ञा आवश्यक पर्दैन । तथापी यो संक्रमणलाई कसैले प्रक्षेपण गर्न सक्दैन । त्यो परिस्थिती आयो भने भोलीका दिनमा निषेधाज्ञा नहोला भनेर पनि भन्न सकिदैँन ।
दुई वटा ऐन संक्रामक ऐन र स्थानीय प्रशासन ऐन अन्र्तगत निषेषाज्ञा गर्न सकिन्छ । तर निषेधाज्ञा गर्नु भन्दा संस्थागत रुपमा कोरोना संक्रमणविरुद्ध सामाजिक दुरी कायम भएको अभियान, जनचेतना कार्यक्रम, माईकिङ जस्ता कार्यक्रमलाई वर्तमान र भविष्यमा पनि प्राथमिकता दिईनेछ ।
भोली पनि कुनै पनि बेला संक्रमणले जिल्लामा ठुलो रुपमा लिएको बेला त्यस बेलाको तयारी के छ ?
संकटको बेला परिक्षेपण गर्न सकिने कुरा कुनै पनि परिस्थिती आउछ भन्ने हुन्छ । त्यो त्यतिखेर निर्धारण गर्न सकिने पक्ष पनि हो । हरेक शंकटका बेला बुद्धिमता क भनेको नआत्तिने, धैर्यताका साथ सामना गर्ने सुझबुझाका साथ निर्णय गरेर अगाडी बढ्नु मुख्य कुरा हो त्यो गरिन्छ । अरु तयारी हुनु पर्ने पक्ष त अहिले पछि ।
जिल्लाको अबस्थाका बारेमा भन्नु पर्दा सदरमुकाम आसफासलाई आधार मान्दा बीस जनाको समस्या आए त्यो धान्ने अबस्था अहिले छ । त्यसपछि परिस्थिती अनुसार अगाडी बढ्न सकिन्छ । अहिले परिस्थिती अनुकुल नै छ । राज्यको सम्पती खेरजाने गरि अन्य संरचना निर्माण गर्नु आबश्यक देखिदैन । यसमा जहाँ समस्या त्यहाँ समधानको उपाय अवलम्बन गरिने छ ।
अन्तिममा, हुम्लाबासीलाई थप केही भन्न चाहनुहुन्छ ?
अहिलेको संकटको अवस्था रोक्ने, त्यसविरुद्ध लाग्ने सबै हामी हौँ । हामी लाग्यो भने यसवाट सहज रुपमा जित पनि हाँसिल गर्छौ । सुरक्षित रहन सक्छौ । यदि हामीबाट कमीकमजोरी भए भोलि समस्या आउन सक्छ । सर्वसाधारणबाट सकिन्छ भने एक दुई जनालाई जानकारी दिने काम गरौं । सकिन्छ भने कोरोना भाइरसविरुद्धको अभियानमा लागौँ । सकिदैन भने घरमै बसेर सहयोग गरौं ।
कोरोनाबारे नकारात्मक धारणा बनाउने कार्य कसैबाट नगरौँ । सत्य के हो भने कोरोनाबाट आफैँ जोगिन हो । सरकारले सहयोगी भूमिका मात्रै खेल्न सक्छ । कोरोना सुई लगाएर रोक्न सक्दैन् । हामी यस भाइरसबाट जोगिन र जनतालाई जोगाउन हरसम्भव प्रयास गरिरहेका छौँ । संक्रमणका घटना भए जानकारी पाउना साथ सम्बन्धित निकायलाई सुचना दिने काम गरिरहेका छौँ । अरुलाई पनि यो आग्रह गर्दैछौँ । यसैमा सबैको भलाई छ ।