काठमाडौँ : नेकपा माओवादीले पटक पटक भन्ने गरेको जनयुद्ध २०५२ देखि २०६२ सम्मको गोली हानाहानकाण्ड थियो । यही १० वर्षको गोली हानाहानले नेपालमा लोकतन्त्रदेखि गणतन्त्र र संघीयतासम्म ल्यायो ।
माओवादीकै शब्दमा देशमा ठूलो परिवर्तन आयो । सामान्य जनताका लागि पनि यो परिरवर्तन सत्य स्वीकारोक्ति हो । तर व्यवहारमा साच्चै परिवर्तन आयो त ? यसको जवाफ पाउन मुश्किल छ ।
तर यस पछाडिका केही संघर्ष र बलिदानका कथाहरु भने ऐतिहासिक छन् । २०५२ सालमा माओवादीले जनयुद्ध थाल्दा घन्किएको एउटा नारा थियो, जातीय विभेदको जरैदेखि उन्मुलन गर्ने जनयुद्ध । महिला हिंसा जरैदेखि उखेल्ने जनयुद्ध । बाहुन र क्षेत्रीको रजाई तोड्ने जनयुद्ध ।
जातीय विभेदलाई जरैबाट उन्मुलन गर्ने कामको सुरुवात गरियो, नेता र कार्यकर्ताको नाम फेर्नबाट । जसअनुसार पुष्पकमल दाहाल थरले बाहुन भएपनि उनलाई सारा नेपालीले बोलाउने नाम प्रचण्ड राखियो । यो राख्नुका पछाडि जातीय गन्ध नरहोस भन्ने थियो ।
त्यसैगरी रामबहादुर थापाको नाम बादल राखियो । जनार्दन शर्माको नाम प्रभावकर, वर्षमान पुनको नाम अनन्त, नेत्रविक्रम चन्दको नाम विप्लव, खड्गबहादुर विश्वकर्माको नाम प्रकाण्ड, सीता नेपालीको नाम रक्षा, कृष्ण धमालाको नाम गम्भीर राखियो । यी त केही प्रतिनिधि नाम मात्रै हुन् । माओवादी आन्दोलनमा लागेका सबैको नाम परिवर्तन गरियो ।
नाम परिवर्तन गरेका माओवादीले सोच परिवर्तन गर्न बिर्सिए । कतिसम्म भने त्यतिबेला माओवादीको जनयुद्धमा सबैभन्दा अग्रमोर्चामा थिए, दलित, जनजाती र अल्पसंख्यक ।
जो आफ्नो पुुर्खाले खेपेको विभेदको आफूले सदाका लागि अन्त्य गर्ने भन्दै लडाईको मोर्चामा होमिएका थिए । जो लडाई सुरु हुन लाग्दा छाती खोलेर मर्नका लागि तयार भन्दै ‘एसाल्ट ग्रुप’मा जान्थे ।
जनयुद्धमा लडाईको सबैभन्दा अग्रमोर्चामा रहने लडाकुलाई माओवादीले ‘एसाल्ट ग्रुप’को नाम दिएका थिए । अग्रमोर्चामा खटिएका दलित र जनजाती लडेनन् मात्रै । धेरैजनाले वीरगति पनि प्राप्त गरे ।
देश र क्रान्तिका लागि भन्दै उनीहरुले ज्यानको आहुति दिए । यसरी ज्यान गुमाउने १५ हजार बढी नेपाली छन् । आधा माओवादीतर्फका लडाकुको ज्यान गयो । आधा सेना, प्रहरी र सशस्त्रको । यसमा सबै जातीको आ आफ्नो योगदान छ ।
जुन योगदान र बलिदानले नेपालमा गणतन्त्र र संघीयता आयो । नयाँ संविधान लागू भयो । देश नयाँ युगमा प्रवेश गरिसक्यो । तर सबैले परिवर्तनको अनुभूति गरे त ? सबैको योगदान अनुसार मूल्यांकन भयो त ? सबैले आफूले चित्त बुझाउन सक्नेगरी त्यतिबेला गरेको योगदानको सम्मान र अवसर पाएका छन् त ? व्यावहारिक रुपमा छैन ।
नेताहरुको नाम बदलियो, सोच बदलिएन
जनयुद्धमा नाम बदलेका धेरै नेताहरुको नाम बदलिदै गयो । कोही मन्त्री बने । कोही पार्टीको माथिल्लो तहमा पुगे । कोहीले राजनीतिसँगै व्यवसाय सुरु गरे । कोही दलाली बने ।
यसबीचमा धेरै राजनीतिक दलका नेता र कार्यकर्ताको नाम र काम फेरियो । तर उनीहरुले जसको बलमा क्रान्ति लडे । जसको बलमा परिवर्तन ल्याए । जसका लागि भनेर क्रान्ति लडेका थिए । जसका लागि भनेर चर्का नारा लगाएर निर्दोष युवाहरुलाई लडाईको अग्रमोर्चामा लडाएर आफू बचेका थिए ।
आज उनीहरु नेताहरुको सम्झनामा छैनन् । प्राथमिकता त परको कुरा, अवसर आउँदा पनि त्यो भाग खोसेर आफ्नै आफन्त नाता पर्नेलाई पद बाड्न ठीक्क छ ।
यो सम्झेर धेरै नेता कार्यकर्ता सक्रिय राजनीतिबाट पलायन भएका छन् । इमान्दार कार्यकर्ता नेताहरुको उधारो आश्वासनमा रमाउन छाडेका छन् । यसरी हेर्दा नेताहरुको नाम धेरै बदलियो । तर दलित, जनजाती, गरीब र अल्पसंख्यकप्रति हेर्ने दृष्टिकोण र सोच भने बदलिएन् ।
जसकारण अहिले पनि मुख्य नेताहरुले दलित, जनजाती र अल्पसंख्यकलाई सत्ता चढ्ने भ¥याङ मात्रै बनाए । टाढा नजाऔँ, संघीय सरकारमा जसरी प्रचण्ड आफ्नी बुहारीलाई मन्त्री बनाउन तम्सिन्छन् । त्यसरी कर्णालीमा पनि जनार्दन शर्मा र शक्ति बस्नेतहरु आफ्ना निकटका नेता तथा आफन्तलाई मन्त्री बनाउँछन् । बनाइरहेका छन् ।
सोझा नेता कार्यकर्ता आक्रोशित
माओवादीले युद्ध लडेको वर्षौ भयो । शान्ति प्रक्रियामा आएको पनि वर्षौ भयो । सत्ता सम्हालेदेखि पटक पटक मन्त्री प्रधानमन्त्री भएको पनि वर्षौ वर्षौ भयो ।
तर जो साच्चै जनता छन् । साच्चै गरीब छन् । साच्चै अवसरको खोजीमा छन् । तीनीहरुका लागि भने नेताहरु सँधै मूसो बिरालोको खेल मात्रै खेलिरहे । जनतालाई मारिरहे । तड्पाइरहे । भड्काइरहे । अनि सत्ताको भर्याङ बनाइरहे ।
नेताहरुको यही प्रवृत्तिबाट आक्रोशित एक माओवादी नेता भन्छन्, ‘लडाईको मोर्चामा दलित जनजाती र अल्पसंख्यक अग्रमोर्चामा जान्थे । पठाइन्थ्यो । उनीहरु एसाल्ट ग्रुप नै छान्थे । तर आज व्यवस्था बदलियो । अवसर नै अवसर आयो ।
अहिले नेताहरु पार्टी र देशका लागि बलिदान दिनेभन्दा आफ्नो नातेदार, चाकरीबाज, चाटुकारलाई खोजी खोजी पद बाड्छन् । वास्तविकता यही हो ।’