काठमाडौँ : पछिल्लो समय रेलको बाटो गीत चर्चामा छ । यो हुम्लाको कथा व्यथा समेटिएको गीत हो । जसलाई कर्णालीकै सुरज पण्डितले गाएका छन् । सुर्खेतका चिरञ्जीवी सापकोटाले अभिनय गरेका छन् । यो गीतले पछिल्लो समय कर्णालीको सडकको कथा व्यथा बोल्छ ।
यो गीत हुम्लाको भएपनि डोल्पामा सुटिङ भएको हो । हुम्ला जान नसकेपछि यो टिम डोल्पामा सुटिङ गरेर काठमाडौँ फर्किएको हो । तर पनि निकै चर्चा पायो । यो एउटा म्युजिक भिडियोको मात्रै कुरा हो ।
केही दिनअघि मात्रै चलचित्र प्रकाश शुटिङ भयो । प्रदीप खड्काको मुख्य अभिनय रहेको यो फिल्म दिनेश राउतले निर्माण तथा निर्देशन गरेका छन् । प्रदीपले पहिलोपटक दिनेश राउतको फिल्म खेलेका हुन् । जुम्लाका विभिन्न ठाउँमा शुटिङ भएको फिल्म झण्डै एक महिनामै सुटिङ सकाएर काठमाडौँ फर्किएको हो ।
सम्भवतः नेपाली मूलधारको फिल्म जुम्लामा सुटिङ भएको पहिलोपटक हुन सक्छ । कर्णाली बाहेक काठमाडौँका निर्मार्ता निर्देशक सायदै जुम्ला पुग्थे । तर क्लासिक, नोभेम्बर रेन जस्ता राम्रा फिल्म बनाएका राउतले पहिलोपटक जुम्लामा आफ्नो फिल्म सुटिङ गरेका हुन् ।
यसअघि प्रदीप खड्काकै मुख्य भूमिका रहेको चलचित्र प्रेमगित २ पनि कर्णालीकै मुगुमा सुटिङ भएको थियो । मुगु रारातालको मुर्मामा यो फिल्म सुटिङ भएको थियो । यो फिल्मको धेरै भाग भने बर्मामा सुटिङ भएको हो ।
यस्तै हालै कर्णालीमा सुटिङ भएको अर्को फिल्म हो, ए मेरो हजुर ४ । झरना थापा निदेशित यो फिल्मको गीत र केही भाग डोल्पाको शेफोक्सुन्डो तालमा सुटिङ भएको हो । सुहाना थापा र अनमोल केसी स्टारर यो फिल्म मेरो हजुर सिरिज हो ।
यसअघि ए मेरो हजुर २ र ३ पनि चर्चित भएका थिए । सेफोक्सुन्डो ताल जमेका बेला यो टिम डोल्पा पुगेर यो फिल्मको गीत र केही भाग सुटिङ गरेको हो ।
नायक पुष्प खड्का फाइनल भएको एक फिल्म पनि जुम्लामा सुटिङ हुने पक्का भएको छ । यो फिल्ममा नायिका तय हुन बाँकी छ । रमेश बुढाथोकीले निर्देशन गर्ने भनिएको फिल्ममा वर्षा शिवाकोटी, केकी अधिकारीपछि गरिमा शर्माको कुरा चलेको थियो ।
तर फाइनल हुन बाँकी छ । केही समय अघि मात्रै नायक, निर्माता तथा निर्देशक निश्चल बस्नेत पनि फिल्म सुटिङका लागि लोकेशन हेर्न रारा पुगेका थिए । रारासहित मुगुका केही आकर्षक ठाउँ हेरेर निश्चल बस्नेत, दयाहाङ राईसहितको टोली काठमाडौँ फर्किएको छ ।
यो टिमले चाँडै नयाँ फिल्म निर्माण गर्नेछ । यसअघि कर्णालीमा मात्रै सुटिङ भएको फिल्म हो, कालोपोथी । मीनबहादुर भामले निर्माण गरेको यो फिल्म ओस्कार समेत पुगेको थियो । देश विदेशमा राम्रो समीक्षा पाएको यो फिल्म कर्णालीको अर्गानिक कथा र दृश्य भएको फिल्म हो ।
त्यसअघि धेरै फिल्म कर्णालीमा सुटिङ भएका थिए । केही समय पहिले काठमाडौँ, पोखरा, इलाम, मुस्ताङमा सुटिङ हुने फिल्म पछिल्लो समय कर्णालीमा हुने गरेका छन् ।