काठमाडौँ : कोरोना भाइरसको संक्रमण बढ्दै गएका कर्णालीका चार जिल्ला रेडजोनमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, सल्यान र जुम्ला रेडजोनमा परेका हुन् ।
रुकुम पश्चिममा भने संक्रमितको संख्या विस्तारै बढ्दो छ । सुर्खेत, दैलेख लगायतका जिल्लामा भने संक्रमितको संख्या दैनिक बढ्दो छ । पहिलो लहरकै बेला यी जिल्लामा संक्रमितको संख्या पाँच सयदेखि माथि छ ।
त्यही तथ्यांकलाई आधार मानेर निकालिएको वृत्तलाई हेर्दा कर्णाली प्रदेशको राजधानीबाट फैलिएको कोरोना लहर रोक्न हम्मे हम्मे देखिन्छ । कोरोनाको दोस्रो लहरलाई हेर्दा मात्रै पनि सुर्खेत लगायतका जिल्लामा निषेधाज्ञालाई तीव्रता दिइएको पाइन्छ ।
धमाधम निषेधाज्ञा
यो समाचार तयार पार्दासम्म कर्णालीको जुम्ला मात्रै निषेधाज्ञाविहीन छ । सुर्खेत लगायत नौँ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, हुम्ला, मुुगु, डोल्पा, कालिकोट लगायतका जिल्लामा धमाधम निषेधाज्ञा कायम गरिएको छ ।
सुर्खेतबाट सुरु भएको निषेधाज्ञा हुम्लादेखि डोल्पासम्म पुगिसकेको छ । बुधबारदेखि हुम्ला, मुगु र डोल्पा पनि निषेधाज्ञामय छन । कम्तीमा पाँच सय सक्रमित पुगेपछि निषेधाज्ञा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारलाई हुन्छ ।
तर एक जिल्लादेखि अर्को जिल्लाको आवागमन चलिरहेकाले संक्रमण भयावह हुने डरले प्रमुख जिल्ला अधिकारीले धमाधम निषेधाज्ञा लगाइरहेका छन् । संक्रमितको संख्या पाँच सय नपुगेपनि धमाधम निषेधाज्ञा गर्दा कोरोनाको त्रास झन फैलिएको छ ।
कर्णालीका जिल्लामा भौगोलिक दुरीले निषेधाज्ञा नै गर्नुपर्ने अवस्था सबै ठाउँमा नभएपनि मानिसहरुमा त्रासको डरले निषेधाज्ञा नै सर्वोतम उपायका रुपमा अपनाइएको पाइन्छ । सबैभन्दा विकट प्रदेशका रुपमा परिचित कर्णालीमा स्वास्थ्य सेवाको जोखिम भने निकै धेरै छ ।
यस्तो अवस्थामा कर्णाली प्रदेश सरकारले संक्रमितको हेलिकोप्टरबाट उद्धार गर्ने निर्णय गरेपनि कोरोनाको पर्याप्त पूर्वतयारी गर्न सकेको छैन । अनि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता बढाएर हौसला दिन नसकेको गुनासो बढ्दो छ ।