काठमाडौं । सरकारले लकडाउन गरेपछि घरमै बसिरहेका धेरैलाई सुरक्षित महसुस भइरहेको छ, तर एकपछि अर्को परीक्षण भइरहेको टेकु अस्पतालमा एक जना नयाँ बिरामीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको छेवैमा रहेको राष्ट्रिय रोग प्रयोगशालामा तेस्रो व्यक्तिमा कोरोना अर्थात कोभिड १९ पोजेटिभ देखिएको छ ।
प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार ती व्यक्ति आफूलाई कोरोना भएको छ की छैन ? भनेर जाँच गराउन अस्पताल पुगेका थिए । अहिलेसम्म त्यस्ता कुनै गम्भिर लक्षण नदेखिएका उनलाई कोरोना संक्रमण पुष्टि हुनेवित्तिकै टेकु अस्पतालकै आइसोलेसन बेडमा भर्ना गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले कोरोना संक्रमति तेस्रो व्यक्तिका बारेमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिने योजना बनाएको छ । यसअघि चीनबाट आएका एक युवक र फ्रान्सबाट आएकी युवतीमा कोरोना संक्रमण देखिएपछि मन्त्रालयले पत्रकार सम्मेलन गरेरै जानकारी गराएको थियो ।
पहिलो व्यक्तिलाई कोरोनाको संक्रमण देखिएको झण्डै तीन हप्तापछि दोस्रो व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो । तर अहिले कोरोना पोजेटिभ देखिएका तेस्रो व्यक्ति दोस्रो व्यक्तिबाटै संक्रमित भए वा अरु कोही नयाँ हुन ? भन्नेबारे खुलेको छैन ।
गएको मंगलबार फ्रान्सबाट कतारको दोहा हुदै आएकी युवतीसँगै आएका १ सय २५ जना हिजो अर्थात मंगलबार मात्रै सम्पर्कमा आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षण थालेर क्वारेन्टाइनमा राखिएको थियो । स्वास्थ्य परीक्षण गरिएकामध्ये ती युवतीको सम्पर्कमा रहेका व्यक्तिलाई नै कोरोना देखियो वा नयाँ भन्ने विषयमा टेकु अस्पतालले केही समयपछि विस्तृत जानकारी दिने जनाएको छ ।
अहिलेसम्म कति जनाको परीक्षण भयो ?
टेकु अस्पतालमा कोरोना परीक्षणका लागि लाइन लागेका ६ सय ८७ जनाको जाँच भइसकेको छ । धेरैजना सामान्य रुघाखोकी लागेर अस्पताल पुगेपनि कोरोना जाँच गराउन हतार गर्ने गरेका टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले जानकारी दिए । तर परीक्षण गरेका धेरैजनाको रिर्पोट नेगेटिभ अर्थात कोरोना संक्रमण नभएको देखिन्छ ।
६ सय ८७ जनाको नमुना परीक्षणमा ६ सय ८४ जनामा संक्रमण पुष्टि भएको छैन । अहिलेसम्म तीन जनामा मात्रै कोरोनाको संक्रमण पुष्टि भएको छ । तीनै जनाको रिर्पोटमा कोरोना प्रारम्भिक कालमै रहेकाले उपचार पछि सञ्चो हुने खालको छ ।
तीन जनामध्ये एक जना सञ्चो भएर घर फर्किसकेका छन भने दुई जना टेकु अस्पतालमा उपचार गराइरहेका छन । दुई जनामध्ये दोस्रोलाई गएको आइतबार मात्रै कोरोना पुष्टि भएको हो भने तेस्रो व्यक्तिलाई बुधबार दिउँसो मात्रै कोरोना पोजेटिभ रिर्पोट आएको हो ।
दोस्रो व्यक्ति अर्थात फ्रान्सबाट आएकी युवतीमा कोरोना पोजेटिभ देखिएको भोलिपल्टै सरकारले देश लकडाउन गर्ने घोषणा गरेको थियो । जसअनुसार हिजो मंगलबारदेखि आउँदो सोमबारसम्म देशभरका मानिसलाई घरभित्रै बस्न भनिएको छ । बजार, यातायात, सरकारी तथा निजी कार्यालय सबै बन्द छन । मानिसहरु घरमै क्वारेन्टाइनमा बसिरहेका छन ।
लकडाउन अवधि बढ्न सक्छ !
अब तेस्रो व्यक्तिमा पनि कोरोना देखिएपछि सरकारले अहिलेको एकहप्ते लकडाउन बढाउन सक्ने देखिन्छ । भारतमा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले लकडाउन अवधि बढाएर तीन हप्ता पुर्याएको छ ।
नेपालमा पनि तेस्रो व्यक्ति हुँदै अरुमा समेत कोरोना देखिएपछि अहिलेको हप्तेदिन लकडाउन बढेर दोस्रो वा तेस्रो हप्तासम्म पुग्ने देखिन्छ । तर ध्यान दिनुपर्ने मुख्य कुरा कोरोना लाग्दैमा ज्यान जाने होइन, समयमै परीक्षण नगरिएमा वा लक्षण देखिएर पनि लापरबाही गरेमा ज्यानै पनि जान सक्छ ।
विश्वमा अहिलेसम्म कोरोनाबाट १८ हजार मानिसको ज्यान गइसकेको छ । जसमध्ये सबैभन्दा धेरै इटालीमा ६ हजार ८ सय बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ७ सय ४३ जनाले ज्यान गुमाएका बिबिसीले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण कसैको ज्यान गएको छैन ।
डेढ महिनाअघि चीनको वुहान राज्यबाट फैलिएको कोरोना अहिलेसम्म १ सय ८६ देशमा फैलिसकेको छ ।