२२, बैशाख, सिमकोट : संघीयता कार्यान्वयन भएको तीन वर्ष भएपनि गाउँपालिकाले सिमान्तकृत वर्गका मागहरु पुरा नगरेको भन्दै नागरिक समाजले माग पत्र पेश गरेको छ । पहुँच र भनसुनका आधारमा माग पुरा हुने र तर गाउँपालिकासम्म पहुँच नपुग्ने सिमान्तकृत वर्गका माग कहिल्यै सुनुवाई नभएको भन्दै नयाँ योजना तर्जुमा हुने समयमा समाजले सो माग अघि सारेको हो ।
स्थानीय योजना तर्जुमामा सिमान्तकृत समुदायको अर्थपूण सहभागिताको सुनिश्चिता, सामाजिक सुरक्षा भत्ता वितरणमा नियमित र समयमा हुनुपर्ने, वास्तविक कृषकको पहिचान, जलवायुमैत्री कृषि प्रणाली विकास, सुचना अधिकारी तोकिनुपर्ने, गाउँपालिकाको सार्वजनिक सुनुवाई हुनुपर्ने, कोरोनाको अवस्थाबाट सर्केगाडबासीलाई सुरक्षित बनाई आधारभुत स्वास्थ्य सेवाको प्रत्याभुति गराइनु पर्ने लगायतका ११ बँुदे माग पेश गरिएको छ ।
सो माग पत्र नागरिक समाज सञ्जाल सर्केगाडका अध्यक्ष श्री बहादुर शाहीले गाउँपालिका अध्यक्ष कृष्ण रोकायालाई बुझाएका छन् । माग पत्र नागरिक समाज सदस्य, महिला, सरोकावाला निकाय, गाउँपालिका कर्मचारी, वडा अध्यक्ष, गाउँपालिका उपाध्यक्ष सहितको उपस्थितिमा अध्यक्षलाई बुझाईएको हो ।
माग पत्र बुझदै अध्यक्ष रोकाया र उपाध्यक्ष जोशी धामीले आगामी दिनमा काम गर्न यसले थप सहयोग पुग्ने र आफु मागप्रति सकरात्मक रहेको बताए । सीमान्तकृत वर्गले उठाएका माग पुरा गर्ने प्रतिवद्धता पनि उनीहरुले जनाएका छन् । उनीहरुले यो माग पत्रले आफुलाई काम गर्न थप मार्गदशन गरेको पनि बताएका छन् ।