काठमाडौँ: कर्णालीमा कोरोना भाइरसले महामारीको रुप लिइसकेको छ । रात दिन दोब्बरले कोरोना भाइरस फैलिदा अस्पतालमा मानिसहरुको अवस्था चिन्ताजनक हुँदै गएको छ । कर्णालीका धेरै बिरामीले अक्सिजन पाउन सकेका छैनन् ।
सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालमा संक्रमितको संख्या बढ्दो छ । यद्यपी नजिकै नेपालगञ्जमा जस्तो भयावह अवस्था भने आइसकेको छैन् । तर भारतबाट आउने संक्रमितको संख्या थपिदै जाँदा भोलिका दिनमा त्यो अवस्था पनि नआउला भनेर भन्न सकिदैन ।
सारमा भन्दा कर्णालीमा नेपालगञ्जले नै सबैभन्दा पहिले खतराको घण्टी बजाएको छ । अवस्था भोलिका दिनमा के हुन्छ ? भनेर अहिल्यै भन्न गाह्रो छ । तर काठमाडौँ र नेपालगञ्जको सुरुवाती परिदृश्य नियाल्दा यति भन्न सकिन्छ, अब जे हुन्छ थप जटिल हुन्छ ।
अवस्था झन् जटिल बन्न सक्छ । कोरोनाको दोस्रो लहर सोचेभन्दा पनि फरक छ । कोरोना लागेका हरेकजसोले फेरि सञ्चो हुन ठूलो संघर्ष गरिरहेका छन् । उनीहरुले जति संघर्ष गरेका छन् । त्यो शब्दमा व्यक्त गर्न सकिरहेका छैनन् ।
पोहोरको जस्तो कोरोनालाई सामान्य सोचे अवस्था झनै जटिल बन्न सक्ने देखिन्छ । तर यसका लागि सम्बन्धित निकायले के के गरिरहेका छन् ? यो सबैभन्दा महत्वपूर्ण कुरा हो । तर अहिलेको अवस्थामा हेर्दा कर्णालीमा तालुकदार मन्त्रालय नै नेतृत्वविहीन छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्ने शिक्षा र स्वास्थ्यका सबैजसो निकायले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको मुख ताकेर बसेका देखिन्छन् । बाँकी केन्द्रकै निर्देशनको भरोसामा छन् । जब सामाजिक विकास मन्त्री नै छैनन् भने यसबाट कस्तो असर पर्छ ? सोझै अनुमान गर्न सकिन्छ ।
कोरोना सम्बन्धि सम्पूर्ण सेवा सुविधा प्रदेशमा सामाजिक विकास मन्त्रालय मातहत हुन्छन् । मन्त्रालले नै यस्तो बेलामा आवश्यक तयारीदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्णयहरु गर्दछ । तर कर्णालीमा भने कोरोना नियन्त्रण गर्ने अधिकार पाएको सामाजिक विकास मन्त्रालय नेतृत्वविहीन छ ।
दलबहादुर रावलले राजीनामा दिएपछि सामाजिक विकास मन्त्रालय नेतृत्वविहीन भएको हो । अहिले कार्यवाहक मन्त्रीका रुपमा विमला केसी छिन् । उनी खास अर्थ मन्त्रालय सम्हालीरहेकी छिन् । कोरोना संकट बढ्दै गएका बेला सामाजिक विकास मन्त्रालयको नेतृत्व कसले सम्हाल्छ ? एकिन छैन् ।
माओवादी र कांग्रेसको हानथाप ?
कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएपछि कांग्रेस सरकारमा जाने चर्चा छ । यो चर्चा चलेको झण्डै एक महिना बित्न लागिसक्यो । तर कांग्रेस भने सरकारमा जाने सुरसार देखाइरहेको छैन् ।
सामाजिक विकास मन्त्रालय ताकेरै सरकारमा जान खोजिरहेको कांग्रेसले पछिल्लो समय अर्थ मन्त्रालयमा पनि दाबी गरिरहेको छ । दुई वटा मन्त्रालय पाए मात्रै सरकारमा जाने कांग्रेसको अडान छ । नभए अहिले जस्तै गरी प्रतिपक्षमा बस्ने उसको चेतावनी छ ।
सरकार जोगाएर सत्तारुढ दल भएर पनि कांग्रेस प्रतिपक्षमा बस्दा मुख्यमन्त्री शाही पनि चिन्तित छन् । तर कांग्रेस कहिले सरकारमा जाने हो ? टुंगो छैन् । उसो त सामाजिक विकास मन्त्रालयका लागि माओवादी नेताहरुको पनि हानथाप छ ।
प्रदेशमा सबैभन्दा आकर्षक मन्त्रालय मानिने र धेरैको काम यो मन्त्रालयमा ठोक्किने भएकाले पनि सामाजिक विकास मन्त्रालय नेताहरुको रोजाईको मन्त्रालय हो । यो मन्त्रालय सम्हालेका मन्त्रीको व्यस्ततादेखि तलब भत्ता पनि आकर्षक हुन्छ ।
सामाजिक रुपमा पनि जस पाउने मन्त्रालय भएकाले यसमा कांग्रेस र माओवादी नेताहरुको हानथाप बढेको हो । तर माओवादीको तुलनामा कांग्रेसको दाबी ठूलो छ । तर कहिले कर्णालीमा सामाजिक विकास मन्त्रालयले मन्त्री पाउने ? कुन नेता मन्त्री बन्ने ? उसले कस्तो भिजन ल्याउने ? अनि कसरी कोरोना नियन्त्रण गर्ने ? सबै अन्यौल छ ।
कोरोनाले यता जनताको ज्वरो बढेका बेला कर्णाली प्रदेश सरकार भने मन्त्रालयको भागबण्डामै जुनी बिताउँला भन्ने पीर सर्वसाधारणमा छ ।