काठमाडौँ : जब जब विराटनगरमा कोही संकटमा पर्छ, त्यतिबेला हात थाम्न आइपुग्छ, हाम्रो अभियान टिम । कोही गरीब भोकै पर्छ । कोही सडक मान्छे सडकमै लड्छ । कोही टुहुरो अभिभावकको खोजीमा हुन्छ ।
उनीहरु सबैका लागि सक्दो सहारा दिने प्रयासमा दिनरात लागिरहेको विराटनगरको सामाजिक संस्था हो, हाम्रो अभियान टिम । जसले अहिलेसम्म सयौँको उद्धार गरिसकेको छ । हजारौलाई आफ्नो समाजसेवाको छाप छाडिसकेको छ ।
अनि लाखौमाझ पुग्ने कोसिसमा रात दिन लागि परिरहेको छ । पछिल्लो समय फेरि विराटनगरमा लकडाउन छ । मानिसहरुको समस्या थपिदो छ । कोही सडकमा पुगेका छन् । कोही पुग्नेवाला छन् । सडकमा पुगेकाहरुको सहारा बन्दै छ, हाम्रो अभियान टिम ।
हालै मात्रै सुर्खेत चौकुनेका शेरबहादुर विश्वकर्मा दम्पति सहाराको खोजीमा विराटनगरमा पाइला टेके । भारतबाट मजदुरी गरेर स्वदेश फर्किदै गर्दा उनीहरु लकडाउनमा परेका थिए । त्यही लकडाउनमा सहाराको त्यान्द्रो बन्यो, हाम्रो अभियान टिम ।
जसले शेरबहादुर दम्पतिलाई आश्रय मात्रै दिएन् । निःशुल्क गाडी चढाएर सुर्खेतसम्म पुर्याईदियो । जवाफमा शेरबहादुर दम्पतिले आँशु मात्रै झारेनन् । मनभरीको धन्यवाद र आशिरवाद हाम्रो अभियान टिमलाइ दिएर बाटो लागे ।
यस्ता दर्जनौँ दिनदुखीको सहारा बनेर हाम्रो अभियान टिमले विराटनगरमा मानवसेवा गरिरहेको छ । जसको नेतृत्व गरिरहेका छन्, ओमिस आमलले । अनि यो अभियानको युवा नेतृत्वपंक्ति सम्हालेका छन्, क्रिश्चल आलेले ।
कलिलै उमेरमा क्रिश्चलको समाजसेवा लोभलाग्दो बनेको छ । उनी फूर्तिला छन् । जहाँ भन्यो त्यति पुग्छन् । उनले दिनदुखी गरीब त झन् भेट्नै हुन्न । उनीहरुलाई चाहिने सम्पूर्ण सेवाका लागि उनी आफ्नो तर्फबाट सबथोक दिन तयार हुन्छन् ।
विभिन्न साथीहरुबाट सहयोग उठाउने, व्यापारी तथा युवाहरुबाट सहयोग जुटाएर दिनदुखीलाई वितरण गर्ने उनको दैनिकी बनेको छ । बिहानै उठेदेखि बेलूकी नसुत्दासम्म उनी गरीब असहायको सेवामा खटिन्छन् ।
कक्षा १२ मा अध्ययन गरिरहेका क्रिश्चल विराटनगर ११ जनपथका स्थायी बासिन्दा युवा हुन् । भविष्यमा उनको न्यायाधीश बन्ने सपना छ । त्यसका लागि औपचारिक पठनपाठन सकाएलगत्तै उनी कानुनी क्षेत्रमा सेवा गर्न चाहन्छन् ।
तर अहिले भने उनको दैनिकी नै समाजसेवामा बितिरहेको छ । हाम्रो अभियान टिमलाई उनले युवा नेतृत्व दिइरहेका छन् । अभियानका दैनिक दर्जनौ युवालाई उनी नेतृत्व गरेर गरीब, असहाय, निमुखालाई रोग, भोकबाट बचाउन लागिपरेका छन् ।
गएको वर्ष लकडाउन हुँदा क्रिश्चल लगायत युवाहरुले सयौँ घरपरिवारलाई सडकमै खाना खुवाएका थिए । यस वर्ष पनि विराटनगरमा लकडाउन छ । अवस्था पोहोरेको भन्दा भयावह हुने सम्भावना छ । यसका लागि क्रिश्चल समाजसेवा गर्न तयार भएर बसेका छन् ।
'यस वर्ष पनि लकडाउन छ । अवस्था पोहोरको भन्दा झन् खराब हुनेवाला छ' उनी भन्छन्, 'तर हामी सकेको गर्छौ । कसैलाई पनि भोक र रोगबाट मर्न दिदैनौँ । सकेसम्म आफूले भ्याएसम्म बचाउने प्रयास गर्छौ ।'
बुवा जीवन र आमा देवी आलेको उनलाई भरपूर साथ सहयोग छ । बिहान उठेदेखि राती नसुत्दासम्म छोरा क्रिश्चलको समाजसेवा गर्ने भावनाले आमाबुवा पनि खुशीले गदगद् छन् । तर पढाई नबिगारोस भनेर उनीहरु पटक पटक सम्झाउने गरेको क्रिश्चल बताउँछन् ।
'हरेक पल आमाबुवाको साथ सहयोग हुन्छ । गलत बाटोमा नलाग भन्नुहुन्छ', उनी भन्छन्, 'दैनिक मानिसहरुलाई सहयोग गरेको, समस्यामा परेकालाई हाम्रो अभियान टिमबाट गएर सहयोग गरेको कुरा आमाबुवाले मन पराउँछन् । सधै सत्यको बाटोमा लागेर अरुलाई सहयोग गर्नु भन्नुहुन्छ । आमाबुवाको साथ सहयोगले खुशी छु ।'
स्थानीय बालकल्याण विद्या मन्दिरमा अध्ययन गरेका क्रिश्चल आफ्ना साथीहरुका लागि पनि रोलमोडल हुन् । हाम्रो अभियान टिमका मुख्य खम्बा बनेर समाजसेवामा होमिएका उनी आगामी दिनमा यसको क्षेत्र बढाएर मानिसहरुलाई सहयोगी बन्न सिकाउँने प्रयासमा छन् ।
जसले समाजमा समस्या घटोस भन्ने उनको चाहना छ भने मानिसहरु आफैँ आफैँ मिलेर समस्याको समाधान गरुन भन्ने उनको ध्येय छ ।